२३ असार २०७७ मंगलबार
खेल

सकियो बुन्डेसलिगा: सिजनका पाँच महत्वपूर्ण घटना

शनिबार सन् २०१९/२० को बुन्डेसलिगाको सिजन सकिँदा जर्मन फुटबलले ठूलो उपलब्धि नै प्राप्त ग-यो। कोरोना भाइरसको महामारीसँगै लामो समयको लकडाउनबाट उठेको जर्मन फुटबलले यस सिजन बायर्न म्युनिखलाई बुन्डेसलिगा च्याम्पियनका रूपमा पाइसकेको छ। शनिबार जर्मन फुटबलको लिग पूरा हुँदा सिजनमा भएका पाँच महत्व्पूर्ण क्षणलाई समेटिएको छ।

बायर्नको स्तब्धपूर्ण हार
निको कोभाकको प्रशिक्षणमा बायर्नले सिजनको सुरुआती चार खेलमध्ये दुई खेलमा बराबरीको नतिजा बेहोरेपछि निकै आलोचना सामना गर्नुपरेको थियो। बायर्नको खेल शैलीअनुरूप उनीहरूको प्रदर्शन निकै सुस्त देखिएको थियो। त्यसैमा पनि नोभेम्बरमा फ्य्रान्कफर्टसँग ५–१ को लज्जापूर्ण हार बेहोरेपछि बायर्न झस्कियो। बायर्नले दशकपछि नै बुन्डेसलिगामा पाँच गोल बेहोर्नपुगेको थियो र त्यसको भोलिपल्ट नै कोभाक बर्खास्तीमा परे। त्यसलगत्तै बायर्नले हान्सी फ्लिकलाई सुरुआतमा अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पियो र त्यसपछि भने बायर्नले पछाडि फर्केर हेर्नुपरेन।

फ्लिकले नयाँ क्लब रेकर्ड कायम गर्दा आफूले समालेको ३१ खेलमध्ये २८ जित दिलाउन सफल भए। उनको मुख्य चालमध्ये एक थोमस मुलरलाई पुनस्र्थापित गराउन सफल हुन पनि थियो। उनै मुलरले लिग रेकर्ड बनाउँदा यस सिजन २१ एसिस्ट पनि गरे। बायर्नकै रोबोर्ट लेवान्डोवस्की ३४ गोल गरे र पाँचौं पटक बुन्डेसलिगाको शीर्ष गोलकर्ता बन्न सफल भए। लगातार आठौं पटक बुन्डेसलिगा च्याम्पियन बायर्नले जर्मन कप फाइनलमा लेभरकुसेनविरुद्ध प्रतिस्पर्धा गर्दै छ। अगस्टमा च्याम्पियन्स लिग सुरु हुँदा त्यसमा पनि बायर्नलाई अवसर हुनेछ।  

असाधारण हालान्ड
नर्वेली स्टार इर्लिङ ब्राउट हालान्ड रेडबुल साल्सबर्गबाट बोरुसिया डर्टमन्डमा अनुबन्धित भएपछि गोल मेसिनको रूपमा आफूलाई प्रमाणित गरे। उनी विन्टरमा २० मिलियन युरोमा जर्मन क्लबमा अनुबन्धित भए। हालान्डले बुन्डेसलिगाको डेब्यु खेलमै बेन्चबाट आएर ह्याट्रिक गरेपछि उनको कद थप उचो बन्यो। गत जनवरीमा औसबर्गसँग दोस्रो हाफसम्म ३–१ ले पछि परेको डर्टमन्डलाई हालान्डले सनसनीपूर्ण जित दिलाएका थिए।  

१९ वर्षे हालान्डले २३ मिनेटभित्र ह्याट्रिक गर्दा डर्टमन्टले उक्त खेल ५–३ ले जितेको थियो। आफ्नो सुरुआती तीन खेलमै सात गोल गरेका हालान्डले सिजन सकिँदा १५ खेलबाट १३ गोल गरे। सबै प्रतियोगितामा गरेर उनले डर्टमन्डका लागि १८ खेलाट १६ गोल गरेका छन्। उनले साल्सबर्गबाट २८ खेलमै २२ गोल गरेका थिए, जसमा च्याम्पियन्स लिगको १० गोल पनि छ।

कोरोनाको महामारी
कोरोना महामारी फैलिएपछि गत मार्च ११ मा बुन्डेसलिगा पहिलो पटक बन्द रंगशालाबीच बोरुसिया मोन्चेनग्लाडबाचले छिमेकी क्लब कोलोनलाई २–१ हरायो। त्यसको दुई दिनपछि नै जर्मन फुटबल दोस्रो विश्व युद्धपछि पहिलो पटक स्थगित हुन पुग्यो। गत मेमा १६ सिजन सुरु भएपछि बुन्डेसलिगामा पुनरागमन गर्ने युरोपियन लिगमा बन्न पुग्यो। सामाजिक दूरी र स्वास्थ्य विधिका साथ जर्मन लिगले साहसका साथ खेल अगाडि बढाउन सफल भयो। त्यसकै प्रेरणामा युरोपका अन्य लिग पनि सिजन फर्काउने साहस गरे।

किमिच बाधक
सिजन सुरु हुँदा डर्टमन्डले उपाधि होडलाई कायमै राखेको थियो। लुसियन फाब्रेको टोली डर्टमन्डले सिजन फर्किएपछि लगातार जित निकाल्यो र बायर्नविरुद्धको जितबाट डर्टमन्डले एक अंकको अग्रता बनाउने सम्भावना हुन्थ्यो। तर जोसुअ किमिचको निर्णायक गोलबाट बायर्नले १–० को हार चखाउँदै डर्टमन्डको सपना पूरा हुन दिएन। २० यार्ड टाढाबाट किमिचको गोलले नै डर्टमन्डको सपना कमजोर बन्यो। बिनासमर्थक खेलेको डर्टमन्डले खेलमा पुनरागमन गर्न सकेन र सिजन सकिँदा शीर्षको बायर्नसँग १३ अंकले पछि प-यो।

जर्ज फ्लोयडका लागि न्याय
बुन्डेसलिगा खेलाडी मार्कुस थुराम, वेस्टन म्याकेनी, जाडोन सान्चो र अकरफ हाकिमी अमेरिकामा मारिएका जर्ज फ्लोयडको न्यायका लागि समर्थन गर्ने पहिलो खेलाडी थिए।  

मे ३० मा साल्केका कप्तान म्याकेनीले भने ‘जस्टिस फर जर्ज’ लेखिएको आर्मब्यान्ड नै लगाएका थिए भने मोन्चेनग्लाडबाचका थुरामले गोल गरेपछि घुँडा टेकेर न्यायको याचना गरे। सान्चो र हाकिमीले पनि गोल गर्न साथ ‘जस्टिस फर जर्ज फ्लोयड’ सन्देश प्रवाह गर्न जर्सी खोले। ब्रोडकास्टरहरूले पनि भेदभावविरुद्ध खेलाडीको उक्त प्रोटेस्टमा खुब साथ दिएका थिए।

प्रकाशित: १५ असार २०७७ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App