२२ असार २०७७ सोमबार
खेल

बराबरीले बार्सिलोनालाई कठिन

सेल्टा भिगोविरुद्ध गोल गरेपछि बार्सिलोनाका लुइस स्वारेजलाई बधाई दिँदै सहकर्मी जेरार्ड पिके(दायाँ)। तस्बिर: एपी

सेल्टा भिगोसँग शनिबार २–२ को बराबरीमा रोकिँदा बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहिरहने मौका साँघुरो बनाएको छ।  

तालिकाको १६औं स्थानमा रहेको सेल्टा भिगोसँग उसैको मैदानमा लिएको सुरुआती अग्रतालाई अन्तिम दुई मिनेट कायम राख्न नसक्दा उपाधिहोडमा रहेको अर्को टोली रियाल मड्रिडसँग दूरी बढाउने अवसर गुमाएको हो। उपाधि दौड रिलेजस्तो भइरहेको अवस्थामा बार्सिलोनाले अंक बाँड्दा रियाल मड्रिडलाई फाइदा पुगेको छ। रियालले आगामी खेल जितेमा बार्सिलोनालाई उपाधि यात्रा कठिन हुनेछ।

निकै रोमाञ्चक खेलमा सेल्टाका यागो आसपसले खेल सकिन दुई मिनेट बाँकी रहँदा फ्रिकिकबाट आकर्षक गोल गरेपछि अग्रता लिएको बार्सिलोनाले अंक गुमाउन पुगेको हो। जसका कारण बार्सिलोना एक खेल कम खेलको रियालभन्दा एक अंकले मात्र अगाडि रहन पुग्यो। यसअघि २०औं मिनेटमा लियोनल मेसीले प्रहार गरेको फ्रिकिकमा लुइस स्वारेजले उत्कृष्ट हेड गर्दा भ्रमणकारी टोलीले  अग्रता लिएको थियो। ५०औं मिनेटमा फ्योडर स्मोलोभले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। त्यसपछि दबाबमा रहेको बार्सिलोनाका लागि लुइस स्वारेजले नै ६७औं मिनेटमा टोलीका लागि व्यक्तिगत दोस्रो गोल गरे। आसपासले ८८औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउँदा दोस्रो पटक अग्रता लिएको बार्सिलोना अंक बाँड्न पुगेको हो।  

‘निकै दुख लागेको छ। उपाधिहोड कठिन भइरहेको अवस्थामा महत्वपूर्ण दुई अंक गुमाउनुपरेको छ,’ दायाँ खुट्टाको सफल शल्यक्रियापछि मैदान फर्किएका स्ट्राइकर स्वारेजले भने, ‘अब हामी रियाल मड्रिडले गुमाउने अंकमा भर पर्नुपर्ने हुन्छ।’

स्वारेजको गत जनवरीमा दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो। बार्सिलोनाले यसअघि सेभियासँग पनि बराबरी खेल्दै अंक गुमाउँदा रियाल मड्रिडसँग दूरी गुमाएको थियो। नाटकीय बराबरीमा रोकिएको बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले उपाधिहोड आफ्नो हातबाट बाहिर रहेको प्रतिक्रिया दिए।  

‘महामारीपछि सुचारु भएको लिगका पछिल्ला चार खेलमा हामीले ८ अंक जोड्न सक्यौंं। बार्सिलोनाजस्तो टोलीसँग अंक खोस्दा निकै खुसी छौं।’

‘अंक गुमाएसँगै हाम्रो अन्तर निकै साँघुरिएको छ,’ बार्सिलोनाका प्रशिक्षक सेटियनले भने, ‘आगामी सबै खेल आफ्नो पक्षमा पार्नुपर्छ। दौडमा रहेको टोलीले गरेको गल्तीको फाइदा लिनुपर्छ।’

प्रशिक्षक सेटियनले सेल्टाको खेललाई प्रशंसा गर्दै टोली हारबाट जोगिएको समेत प्रतिक्रिया दिए। ‘तुलनात्मक हिसाबमा सेल्टाले हाम्रोभन्दा राम्रो खेल पस्किएको थियो,’ सेटियनले थपे, ‘हामीले भन्दा उनीहरूले बढी अवसर बनाए। इन्जुरी समय पनि उनीहरूले हामीलाई दबाबमा राखे। तर, हामी हारबाट बच्यौं।’

उपाधिहोडमा रहेको टोली बार्सिलोनासँग अंक खोसेको सेल्टाले रेलिगेसन क्षेत्रको टोलीसँग ८ अंकको दूरी बनायो।  

‘महामारीपछि सुचारु भएको लिगका पछिल्ला चार खेलमा हामीले ८ अंक जोड्न सक्यौंं। बार्सिलोनाजस्तो टोलीसँग अंक खोस्दा निकै खुसी छौं,’ घरेलु मैदानमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएका सेल्टाका आसपसले भने, ‘अघिल्ला खेलका भिडियो हेरेका थियौं। फ्रिकिक प्रहारमा खेलाडी उफ्रिँदा अवसर हुने देखेका थियौं। सोही अवसरलाई सदुपयोग गरेको हुँ।’

करियरको ७ सयौं गोलको संघारमा रहेका मेसीले शनिबार पनि गोल गर्न सकेनन्। यससँगै मेसीले लगातार तीन खेलमा गोल गरेका छैनन्।  

लिगअन्तर्गत शनिबारै भएको अर्को खेलमा ओसासुनाले लेगानेसलाई २–१ ले हरायो। यस्तै अर्को खेलमा पनि एट्लेटिको मड्रिडले डेपोर्टिभो आल्भेसलाई समान २–१ ले स्तब्ध बनायो।  

प्रकाशित: १५ असार २०७७ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App