coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलाडीमा फिटनेस चिन्ता

महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व लक डाउनमा सीमित बन्यो। सबैजसो देशले सार्वजनिक स्थलदेखि भीडभाड हुने मैदान र पर्यटकीय स्थानलाई निषेधित क्षेत्र घोषणा गरे। असर खेलकुदमा पनि देखियो। बाक्लो उपस्थिति रहने खेलमैदानमा आममानिसले उपस्थिति जनाउन पाएनन्। खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखियो। विश्वका खेलकुद गतिविधि ठप्प भए।  खेलाडीको दैनिकीमा पनि परिवर्तन भयो।  

धेरैलाई शारीरिक विषयले पिरोल्न थाल्यो। खेलाडी स्वयम्लाई कसरी फिट रहने भन्ने अन्योल भयो। नेपाली खेलाडीमा यही समस्या उब्जियो। सुरुआती चरणमा खेलाडीले आफूलाई घरकै अभ्यासमा अभ्यस्त गराए। यो मैदानको जति प्रभावकारी नभएको खेलाडी आफैँले बताउँदै आएका छन्। त्यसैले  राष्ट्रिय क्रिकेट टोलीका फिजियो विक्रम न्यौपाने व्यक्तिगत रूपमा सम्पर्क गरेर भए पनि अभ्यासका टिप्स दिँदै आएको बताउँछन्।  

‘घरमा लामो बसाइ भए पनि खेलाडीले आफूअनुकूल अभ्यास गरिरहेका छन्। सम्पर्कमा रहेर खेलाडीले फिटनेसको बारेमा चासो पनि राखिरहेका छन्,’ फिजियो न्यौपानेले भने, ‘ग्राउन्डमा जस्तो प्रभावकारी हुँदैन। यद्यपि खेलाडीले कुन किसिमको अभ्यास र खानपानको विषयलाई ध्यान दिइरहेका छन्, मैले व्यक्तिगत सम्पर्क गरेर चासो दिँदै आएको छु। कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कादेखि युवा खेलाडी सबै सम्पर्कमा  छन्।’

सुरुआती चरणमा भयावह भएका देशमा खेलकुद गतिविधि फर्किएका छन् भने केही फर्किने क्रममा छन्।  चीन, स्पेन, इटाली र ब्रिटेनमा यसको महामारी प्रत्यक्ष रूपमा देखिँदा खेलाडी यसको चपेटामा परे। तर अहिले यी देशमा खेलकुद गतिविधि पनि फर्किएका छन्। युरोपका देशले संकटमा स्वास्थ्य निर्देशिका बनाएर खेल सुचारु गरे। तर नेपालमा कोरोना कहर बढ्दो क्रममा  छ। दिन दुई गुना र रात चौगुणा संक्रमणको संख्या बढिरहेको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्योलमै छ।  

अभ्यास सुचारु गरौं संक्रमण बढ्ला, सुचारु नगरौं अन्तर्राष्ट्रिय प्रतियोगिताका तालिका बिस्तारै सार्वजनिक हुने क्रममा छन्। पहिलो प्राथमिकता स्वास्थ्य भएकाले खेलाडी अभ्यासमा फर्किनुपूर्व पिसिआर परीक्षण गर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताउँछन् राष्ट्रिय खेलकुद परिषद्का चिकित्सक राजु डंगोल। 

‘फुटबल सुरु हुनुपूर्व खेलाडीको फिटनेसलाई लिएर वर्कआउट गर्नुपर्ने हुन्छ। युरोपका लिगमा अहिले खेलाडीमा धेरै जसो घुँडाको इन्जुरी देखिएको छ। हाम्रा खेलाडीमा पनि त्यसो नहोला भन्न सकिन्न।’ 

‘खेलाडी घरमै भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ। संक्रमण फैलिने क्रममा छ। बिस्तारै खेलकुद गतिविधि सुचारु गर्नका लागि परिषद्ले चासो दिइरहेको छ,’ चिकित्सक डंगोलले भने, ‘खेलाडीलाई अभ्यासमा फर्काउने पहिलो प्राथमिकता पिसिआर परीक्षण हो। अहिले ल्याबमा निकै नै चाप भएकाले यो त्यति सहज छैन। परिषद्ले स्वास्थ्य मन्त्रालयसँग समन्वयका लागि छलफल गरिरहेको छ।’

नेपालमा विदेशमा जस्तो खेलाडीलाई छिट्टै लयमा ल्याउने किसिमको पूर्वाधार नभएकाले चिकित्सक राजु डंगोल खेलाडीलाई लयमा ल्याउन फिजियोको प्रत्यक्ष निरीक्षण र प्रशिक्षण आवश्यक ठान्छन्।  

मंगलबारसम्मको अवस्थामा नेपाल ब्याडमिन्टन संघले खेलाडीलाई अभ्यासको वातावरण मिलाएको छ भने अन्य खेलकुद गतिविधि ठप्प छन्। अक्टोबर महिनाका लागि नेपाली फुटबल टोलीको कतार विश्वकप छनोट तालिका सार्वजनिक भएको छ। तर अहिलेसम्म नेपाली फुटबल खेलाडी अभ्यासमा देखिएका छैनन्। चार अवे खेल खेलिसकेको नेपाली टोलीले एक होम म्याच पनि खेलेको छ। तर नतिजा नेपालका लागि त्यति सुखद छैन। एक खेलमा सफलता हात पार्नुबाहेक अन्य खेलमा सुखद नतिजा छैन। त्यसैले आगामी खेलमा नेपाललाई सुखद नतिजा अति नै आवश्यक छ। तर अक्टोबरका लागि तय भएको खेलका लागि फुटबलको निकाय अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलाडीलाई अभ्यासमा बोलाएको छैन। जुलाई पहिलो साताबाट क्याम्प राख्ने तयारी गरिरहेको छ।  

नेपाली फुटबल टोलीका सदस्य रविशंकर पासवान लकडाउनमा रहेको  तीन महिना भयो। पासवान बिहानै उठेर आफूलाई फिट राख्न दौडने र शारीरिक व्यायाम गरिरहेकै छन्। क्षमता बढाउन मैदान आवश्यक ठान्छन्। राष्ट्रिय टोलीलाई जुलाई महिनाको पहिलो साताबाट बन्द प्रशिक्षणमा राख्ने तयारीका साथ आफूलाई खबर आएकाले उनी उत्साहित छन्।  

‘अक्टोबर ८ र १३ मा चाइनिज ताइपेई र अस्ट्रेलियासँगको होम म्याच तय भएको छ। त्यसका लागि एन्फाले हामीलाई जुलाई पहिलो साताबाट अभ्यासमा रहन सूचना दिएको छ,’ बारा जिल्लाका फुटबलर  पासवानले भने, ‘लकडाउनको समयमा घरमै अभ्यास गरिरहेको छु। बिहानको समयलाई भरपूर सदुपयोग गर्ने प्रयास गरेको छु। त्यसका लागि परिवारले पनि  साथ दिएको छ। फिटनेसमा रहनका लागि राष्ट्रिय टोलीका फिजियोसँग नियमित सम्पर्कमा नै छु।’

प्राय राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी अहिले घरमै छन्। घरेलु अभ्यासमा सीमित बनेका उनीहरूलाई  मैदानबाहिरको अभ्यास उति प्रभावकारी नहुने बताउँछन् फुटबल टोलीका फिजियो आविष्कार पुडासैनी।  

‘खेलाडी अहिलेको अवस्थामा घरमै सीमित छन्। केही अभ्यासमा रहिरहेका छन्। त्यसैलाई एन्फा मेडिकल टोलीले मनिटरिङ गरिरहेको छ। मनिटरिङले पुग्छ भन्ने होइन,’ फुटबल फिजियो पुडासैनीले भने, ‘फुटबल सुरु हुनुपूर्व खेलाडीको फिटनेसलाई लिएर वर्कआउट गर्नुपर्ने हुन्छ। युरोपका लिगमा अहिले खेलाडीमा धेरै जसो घुँडाको इन्जुरी देखिएको छ। हाम्रा खेलाडीमा पनि त्यसो नहोला भन्न सकिन्न।’

फिजियो पुडासैनीले मेडिकल टिमको परिकल्पना गरिरहेको र फिफा र एएफसीको गाइडलाइन्सअनुसार छिट्टै खेलाडीलाई अभ्यासमा उतार्ने सोचमा भएको थपे।  

चर्चित युरोपका लागि सुचारु भएसँगै अहिले धेरै खेलाडीमा घुँडाको समस्या देखिएको छ। कारण फिटनेसमा देखिएको छ। प्रतिकूल अवस्थामा भएकाले  खेल विशेषज्ञले खेलाडीलाई सम्भावित चोटबाट बच्नका लागि विज्ञसँग नियमित सम्पर्क रहन आग्रह गरेका छन्। 

प्रकाशित: १२ असार २०७७ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App