coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कहिले खुल्छ जिमहल ?

ज्याेति थापा

कोरोना भाइरस संक्रमण त्रासका कारण विश्वका अन्य राष्ट्रजस्तै नेपालमा पनि लकडाउनका कारण खेलकुद गतिविधि शून्य छ । लकडाउनका कारण तीन महिना ठप्प खेलकुद बिस्तारै तंग्रने क्रममा  छ ।  

यस क्रममा ब्याडमिन्टन संघले मंगलबारबाट अभ्यास सुरु गरिसकेको छ भने राष्ट्रिय फुटबल टोलीको अभ्यास जुलाई पहिलो साताबाट  हुने बताइएको छ ।  तीन महिनाको लकडाउन दौरान खेलाडीहरूले घरमै सामान्य अ्रभ्यास गरे । सरकारले असार पहिलो साताबाट लकडाउन क्रमशः खुकुलो पार्दै लगे पनि खेलकुद गतिविधिमा लगाइएको रोक कायमै छ । लकडाउन खुकुलो भए पनि खेलाडीहरूले जिमहलमा गएर फिटनेस अभ्यास कहिलेबाट सुरु गर्छन् भन्ने पनि अन्योल नै छ । सरकारले जिमहल तथा फिटनेस सेन्टर सञ्चानलका लागि ग्रिन सिग्नल दिएको छैन ।  

पोखरास्थित रानीपौवा स्पोर्ट्स क्लबकी महिला स्क्वाट खेलाडी ज्योति थापाको दैनिकी अहिले फेरिएको छ । सोही क्लबमा जुम्बा इन्सट्रक्टरसमेत रहेकी ज्योति लकडाउनअघि क्लबमा नियमित २ घण्टा अभ्यासमा बिताउँथिन् ।  

‘लकडाउनका कारण पछिल्लो तीन महिनायता घरमै सामान्य अभ्यास गरिरहेकी छु,’ ज्योतिले भनिन्, ‘नियमित अभ्यास गर्न पाइरहेको छैन । सरकारले फिटनेस क्लबलाई पनि सामाजिक दूरी र स्वास्थ्य निर्देशिकासहित सञ्चालनका लागि अनुमति दिनुपर्दछ । ’

देशभर सञ्चालनमा रहेका साना तथा ठूला जिमहल तथा फिटनेस सेन्टर हजारांै मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीको माध्यम बनेका छन् भने यसबाट लाभ लिनेको संख्या पनि उत्तिकै छ । सरकारले जिमहल तथा फिटनेस सेन्टरलाई सञ्चालनका लागि अनुमति नदिँदा त्यसको प्रत्यक्ष मारमा जिमहल सञ्चालक साथ त्यसका सदस्य पनि पर्न थालेका छन् । सञ्चालकहरू जिमहल तथा फिटनेस सेन्टरको भाडाको हकमा घरधनीले कस्तो कदम चाल्छन् भन्ने अन्योलमा छन् भने क्लब सदस्य आफ्नो सदस्यता के हुने हो भन्ने दुबिधामा छन् । 

‘हामीलाई व्यवसाय पुनः सञ्चालनका लागि सरकारले निर्देशिका दियोस्, हामी त्यसको पालना गर्न तयार छाैं ।’ 

‘हामी तीन महिनादेखि घरमै छाैं, व्यवसाय कहिलेबाट सञ्चालन हुन्छ भन्ने यकिन छैन,’ जिम तथा फिटनेस सेन्टर व्यवसायी निरज लामाले भने, ‘सरकारले हाम्रा बारेमा पनि सोच्ने समय आएको छ । अन्य व्यवसायजस्तो हामीलाई पनि निश्चित निर्देशिका दिएर दैनिकीमा फर्काउनुपर्छ । ’

‘हामी जिम तथा फिटनेस व्यवसायीहरूका लागि सबैभन्दा आमदानी हुने समय भनेकै मार्च अप्रिल थियो, तर लकडाउनले हामीले आर्थिक नोक्सानी खेप्न परेको छ,’ लामाले थपे, ‘सरकार र डब्लुएचओले पनि इम्युनिटी पावर बढाउन नियमित व्यायाम गरांै भनिरहेको छ तर पनि सरकारले नै जिम व्यवसायलाई किन छुट्टै नजरले हेरिरहेको छ ?  अब जिम व्यवसायलाई पुन सञ्चालन गर्ने समय आइसकेको छ ।’

लामाका अनुसार यसअघि २०७२ सालको महाभूकम्पका कारण पनि फिटनेस व्यवसायमा गम्भीर धक्का लागेको थियो । सोही वर्ष भारतले लगाएको नाकाबन्दीका कारण त्यसले व्यवसायलाई थप कमजोर बनाएको थियो  । जिम व्यवसायीहरू बिस्तारै तङ्ग्रने क्रममा रहँदा आमदानीको मुख्य सिजनै लकडाउनको चपेटामा परी जिम व्यवासाय थप धराशयी बनेको लामाको बुझाइ छ ।

‘हामीलाई व्यवसाय पुनः सञ्चालनका लागि सरकारले निर्देशिका दियोस्, हामी त्यसको पालना गर्न तयार छांै,’ लामाले थपे, ‘तर सरकारको मौनता भने हाम्रा लागि चिन्ताको विषय बनेको छ ।’  

यता रानीपौवा स्पोर्ट्स क्लब पोखराका सञ्चालक दीपक बास्कोटाले सिन क्लब सञ्चालनका लागि प्रदेश सरकार र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि त्यसको उचित सुनुवाई नभएको बताएका छन् ।  

‘हामीले तीन सिफ्ट बनाएर एक पटकमा  १२ जना मात्र अभ्यास गराउने, एक सिफ्ट सकिएरपछि कम्तीमा जिमहल स्यानिटाइज गर्न ४५ मिनेटको ग्याप राख्नुका साथै प्रदेश सरकार र केन्द्र सरकारले जारी गर्ने जस्तोसुकै निर्देशिका पालना गर्छौ भन्दै ज्ञापन पत्र बुझाए पनि केन्द्रको निर्देशन नआई केही गर्न सकिदैन भन्दै प्रदेश सरकार पन्छिएको छ । सरकारले हामीहरूका बारेमा पनि सोच्नुपर्ने बेला आइसकेको छ ।’  

प्रकाशित: १२ असार २०७७ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App