२३ असार २०७७ मंगलबार
खेल

केनको दुई सय गोल लक्ष्य

ह्यारी केन

मंगलबार वेस्ट ह्यामलाई २–० ले निराश पार्दा टोलीका लागि दोस्रो गोल गरेका टोटेनह्यामका स्ट्राइकर ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा २ सय गोलको कोसेढुङगा पार गर्ने लक्ष्य रहेको बताएका छन्।

इङ्ल्यान्डका कप्तान केनले हालसम्म टोटेनह्यामबाट २ सयौं खेलमा १ सय ३७ गोल गरिसकेका छन्। यसअघि एलान सियरर र वायन रोनीले मात्र इङ्लिस प्रिमियर लिगमा २ सय गोलको कोसेढुङगा पार गरेका छन्।  

‘म भर्खरै २६ वर्षको मात्र भएँ, त्यसैले आशा छ, मैले छिट्टै २ सय गोलको कोसेढुङगा पार गर्नेछु,’ केनले भने, ‘गोल गर्दा सधंै सन्तुष्टि मिल्छ। २ सय खेल पनि कति छिट्टै खेलेजस्तो लाग्छ। समय बित्दै जान्छ र त्यसको सही सदुपयोग गर्न जान्नुपर्दछ।’  

सन् २०२० सुरु भएपछि पनि केनको यो पहिलो गोल हो। यसअघि उनले डिसेम्बरमा गोल गरेपछि खाता खोल्न सकेका थिएनन्। चोटका कारण ५ महिना मैदानबाहिर रहेका केनले यस सिजन मात्र १२ गोल गरेका छन्।  

‘म केनका लागि खुसी छु,। उनले धेरै मिहिनेत गरेका छन्। आशा छ, टोलीको च्याम्पियन्स लिग छनोट लक्ष्यमा केनको स्वाभाविक लयले धेरै अर्थ राख्नेछ,’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने।  

‘म केनका लागि खुसी छु,। उनले धेरै मिहिनेत गरेका छन्। आशा छ, टोलीको च्याम्पियन्स लिग छनोट लक्ष्यमा केनको स्वाभाविक लयले धेरै अर्थ राख्नेछ।’

साथै केनले वेस्ट ह्यामविरुद्धको जितले टोलीको शीर्ष ४ मा बस्दै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य पनि कायम रहेको बताए।  

पहिला हाफको अन्तिम मिनेटमा सन ह्युन मिनले गरेको गोल भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड भएको भन्दै मान्यता नदिएपछि टोटेनह्याम निराश बनेको थियो।  

६४औं मिनेटमा वेस्ट ह्यामका थोमस सौचेकको आत्मघाती गोलमा टोटेनह्यामले अग्रता लिएको थियो। खेल सकिन ८ मिनेट बाँकी हुँदा केनले बललाई जाली चुमाउँदै टोटेनह्यामको अग्रता दोब्बर पारेका थिए।  

कोरोना भाइरसको महामारीले करिब तीन महिनाको विश्रामपछि पुनः सुचारु भएको प्रिमियर लिगको पहिलो खेलमा टोटेनह्याम म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको थियो। साथै माउरिन्होको टोलीले फेब्रुअरीपछि ८ खेलमा हात पारेको यो पहिलो जित हो।  

यस जितपछि ३१ खेलमा ३५ अंक जोडेको टोटेनह्याम साताैं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानमा रहेको चेल्सीभन्दा मात्र ६ अंक कम हो भने पाँचौं स्थानको युनाइटेडभन्दा मात्र १ अंक कम हो।

युइएफएले म्यानचेस्टर सिटीमाथि आर्थिक नियम उल्लंघन गरेको भन्दै युरोपेली प्रतियोगितामा २ वर्षका लागि लगाएको प्रतिबन्धको निर्णय कायम रहेमा प्रिमियर लिगको पाँचौं स्थानको टोलीले समेत अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ।

प्रकाशित: ११ असार २०७७ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App