२३ असार २०७७ मंगलबार
खेल

क्रिकेट रोक्ने प्रधानमन्त्रीको आलोचना

इङ्ल्यान्डका पूर्वकप्तान माइकल भानले कोरोना भाइरसको त्रास देखाउँदै क्रिकेट गतिविधिमा जारी रोकलाई निरन्तरता दिने प्रधानमन्त्री बोरिस जोन्सनको कदमको आलोचना गरेका छन्।

इङ्ल्यान्ड सरकारले टेनिस र गल्फका लागि अनुमति दिए पनि सबै क्षेत्रमा क्रिकेटलाई भने पुनः सुचारुका लागि अनुमति दिएको थिएन।  

‘हामीले सुरक्षित तरिकाले क्रिकेट खेललाई पुनः सुचारु गर्ने तयारी गरे पनि अहिले भने त्यो सम्भव देखिएन,’ जोन्सनले भने, ‘क्रिकेट सामाजिक दूरी कायम गरेर खेलिने खेल भए पनि त्यहाँ प्रयोग गरिने बल नै संक्रमणको कारक बन्न सक्छ। विज्ञहरूको सुझावका आधारमा नै क्रिकेटमाथिको रोकलाई निरन्तरता दिइएको हो।’

तर भानले भने क्रिकेट बोर्डले घरेलु प्रतियोगिता सुचारु गर्नुपर्ने बताएका हुन््।  

‘सबै खेलाडीको गोजीमा स्यानिटाइजर अनिवार्य हुनुपर्छ। जब कुनै खेलाडीले बल छुन्छ, तुरन्तै स्यानिटाइजरको प्रयोग हुनुपर्छ। जुलाई ४ बाट इनडोर क्रिकेट सेन्टरहरूलाई सञ्चालनको अनुमति दिनुपर्ने हो, तर सरकार यसमा मौन छ,’ भानले ट्विट गरेका छन्।  

इङ्ल्यान्डले जुलाई ८ मा वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला आयोजना गर्दै छ। यसका लागि वेस्ट इन्डिज टोली इङ्ल्यान्डमा आइसकेको छ। शृंखलाका सबै खेल बन्द मैदानमा हुनेछन्।

प्रकाशित: ११ असार २०७७ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App