८ वैशाख २०८१ शनिबार
खेल

लकडाउनले मैदान मर्मत खर्चिलो

कोरोना भाइरस मार्चको मध्यसम्ममा विश्वभर महामारीका रूपमा फैलियो। कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने भन्दै विश्वका प्रायः सबै राष्ट्रमा लकडाउन लगाइयो। लकडाउन लागू भएसँगै विश्वभर नै खेलकुद गतिविधिमा समेत पूर्ण रूपमा रोक लागेको थियो।

नेपालमा पनि चैत ११ गतेबाट लागू भएको लकडाउनका कारण सबै खेलकुद गतिविधि पूर्ण रूपमा ठप्प छन्। सरकारले असार पहिलो साताबाट लकडाउन केही खुकुलो पारे पनि खेलकुद गतिविधि कहिले पुनः सुचारु हुन्छ भन्ने अभैm यकिन छैन। नेपाली खेलकुदका निकायले खेलक्षेत्रका लागि कुनै वैकल्पिक योजना पनि ल्याउन सकिरहेको छैन। जर्मन, स्पेन, इटाली र इङ्ल्यान्डमा सामाजिक दूरी र स्वास्थ्य निर्देशिकाको पालना गर्दै बन्द रंगशालामा खेलहरू सञ्चालन भइरहेका छन्।  

यी राष्ट्रले खेल फर्काउने पहिलो माध्यमका रूपमा व्यक्तिगत प्रशिक्षण रोजेका थिए, जुन पछि विभिन्न चरणका योजनासहित विश्व खेलकुदकै ठूलो आयोजना फर्किन सम्भव भयो। नेपालमा त्यस किसिमका योजना आउने नसके पनि निर्माण र मर्मतका कार्य भने अगाडि बढिरहेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत घरेलु मैदानमा हुने खेललाई लक्षित गर्दै साउन पहिलो साताबाट राष्ट्रिय फुटबल टोलीको अभ्यास सुचारु गर्ने बताइसकेको छ।

कोरोना भाइरस महामारीका कारण खेलकुद गतिविधि रोकिए पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालामा मैदान मर्मतको काममा भने कुनै असर देखिएन।  नेपालले चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अस्ट्रेलियाविरुद्ध विश्वकप छनोट चरणको दोस्रो लेग (होम)का खेल खेल्ने तालिका थियो। तर, कोरोना भाइरसका कारण विश्वभर खेलकुद गतिविधि रोकिएसँगै विश्वकप छनोट पनि स्थगित भए।  

‘हामीले विश्वकप छनोट खेलका लागि सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि (फागुन ४) बाट नै मैदान मर्मतको काम सुरु गरेका थियौं। विश्वकप छनोटका लागि मैदान पूर्ण रूपमा तयार थियो,’ फिफा रेफ्रीसमेत रहेका एन्फाका मैदान मर्मत इन्चार्ज दिलीप रजकले भने, ‘तर कोरोना भाइरसका कारण चैत ११ गते सरकारले लकडाउन लागू गरेसँगै हामीले करिब दुई साता पूर्ण रूपमा मैदान मर्मतको काम बन्द ग¥यौं।’ उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारले दिएको सामाजिक दूरीको निर्देशनसहित मैदान तयारीको काम भइरहेको बताए।

‘हामीले चैत ११ गते अघि नै विश्वकप छनोट चरणका खेल स्थगित हुँदै छ भन्ने जानकारी पाइसकेका थियौं,’ रजकले थपे, ‘चैत २६ गतेबाट भने हामीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारले दिएको सामाजिक दूरीको निर्देशनसहित दैनिक ४ जना कामदारलाई मास्क र ग्लोब्ससहित घाँस काट्ने, झारहरू उखेल्ने, मिसिन लगाएर घाँस काट्ने, माटो हाल्ने काम भैरहेको छ। हामी मैदानलाई योभन्दा राम्रो बनाउन लागिपरेका छांै। अब छनोट खेलअघि हामी केही मात्रामा माटो हाल्छौं र खेल हुनु एक साताअघि तीन–चार पटक रोलिङ गर्छौं।’

लकडाउन कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले मैदान व्यवस्थापनको काम पनि लम्बिएको र यसले मैदान मर्मतको खर्च पनि बढ्ने रजकले बताए। उनले मैदान मर्मतमा कर्मचारीहरू बिहान १० देखि बेलुका ५ बजेसम्म खटिने गरेको र उनीहरू सबैलाई एन्फाले पिक एन्ड ड्रपको व्यवस्था गरेको समेत बताए। ‘लकडाउनपछि केही समय काम रोकिँदा मैदानमा झारहरू उम्रिएका थिए। अहिले दैनिक रूपमा ती झार उखेल्ने, दुबो नभएको स्थानमा दुबो रोप्ने काम भइरहेको छ। बर्खा याममा मैदान मर्मत अझ कठिन बन्छ,’ रजकले थपे, ‘तर पनि हामी फिफा र एएफसीले विश्वकप छनोटको खेल मिति तोकेपछि हामी यो मैदानमा खेल खेलाउन पूर्ण रूपमा तयार छांै। खेल हुनु एक साताअघि तीन–चार पटक रोलिङ गर्दा मैदान लेबलमा आउँछ। वर्षाको मौसम भए पनि मैदानमा ड्रेनेजको व्यवस्था छ, त्यसले मैदानमा पानी जम्ने र  हिलाम्मे हुने अवस्था आउँदैन।  

यता एन्फा महासचिव इन्द्रमान तुलाधरले पनि लकडाउन लम्बिएसँगै मैदान मर्मतको काम पनि लम्बिएको र यसले आफूहरूको मैदान मर्मतका लागि अनुमानित खर्च बढ्ने बताए।  

‘चैतमा विश्वकप छनोटका खेल भइदिएको भए मैदान मर्मतको खर्च कटौती हुने थियो,’ तुलाधरले भने, ‘हामीले मैदान मर्मतको कार्यलाई निरन्तरता दिइरहेका छांै। लकडाउनकै समयमा सरकारले दशरथ रंगशालालाई क्वारेन्टिनका रूपमा प्रयोग गर्ने तयारी पनि गरेको थियो। तर हामीले त्यसो गर्दा मैदानमा थप क्षति पुग्ने र मैैदान मर्मत महँगो पर्ने भन्दै सरकारलाई क्वारेन्टिनका लागि अन्य स्थानको आवश्यकता परेको खण्डमा त्यसको व्यवस्थापन गरिदिने बताएका थियाेंै।’

लकडाउन लम्बिएसँगै दशरथ रंगशालाको मैदान मर्मतको काम पनि लम्बिएकाले अनुमानितभन्दा धेरै खर्च बढ्ने भएको छ। लकडाउनकै समयमा सरकारले दशरथ रंगशालालाई क्वारेन्टिनका रूपमा प्रयोग गर्ने तयारी गरेसँगै एन्फाले मैदानमा थप क्षति हुने अनुमानसहित त्यसको विकल्पमा अन्य स्थान उपलब्ध गराउने जनाएको थियो।

प्रकाशित: ८ असार २०७७ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App