८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप २०११ मा खेलमिलेमतो

श्रीलंकाका पूर्वखेलकुदमन्त्रीको खुलासा

श्रीलंकाका पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथागामगेले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल खेलमा श्रीलंकाले खेलमिलेमतोमा उपाधि भारतलाई सुम्पिएको खुलासा गरेका छन् ।

श्रीलंकाले सन् २०११ को एकदिवसीय क्रिकेट विश्वकपमा भारतलाई ६ विकेटको नतिजा सुम्पिएको थियो । यसअघि श्रीलंकालाई सन् १९९६ मा विश्वकपको उपाधि दिलाउने कप्तान अर्जुन रणतुंगाले पनि श्रीलंकाले खेलमिलेमतो गरेको भन्दै अनुसन्धानको माग गरेका थिए ।  

‘म तपाईंहरूलाई आज यो भन्दै छु, हामीले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल बेच्यांै,’ अलुथागामगेले भने, ‘म खेलकुदमन्त्री हुँदा पनि यो घटना भयो ।’

सन् २०१० देखि २०१५ सम्म खेलकुदमन्त्री रहेका अलुथागामगे आफूले यो कुरा खुलासा गर्न नचाहे पनि समयको मागसँगै खेलमिलेमतोबारे बोलेको बताएका छन् । ‘सन् २०११ मा हामी जितको संघारमा थियांै, तर अन्तत हामीले फाइनल खेल नै बेच्यौं । मलाई लाग्छ अहिले यसको बारेमा खुलासा गर्ने समय हो । म खेलाडीहरूलाई यो घटनामा जोड्न चाहन्नँ तर केही पक्ष भने खेलमिलेमतोमा प्रत्यक्ष संलग्न थिए,’ उनले भने ।

‘म तपाईंहरूलाई आज यो भन्दै छु, हामीले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल बेच्याैँ । म खेलकुदमन्त्री हुँदा पनि यो घटना भयो ।’

मुम्बईस्थित वांखडे मैदानमा भएको खेलमा भारतले ६ विकेटले खेल जितेको थियो । भारतीय खेलाडीले भने पटकपटक खेलमिलेमतोको घटना नकार्दै आएका छन् ।

सो फाइनल खेलदौरान मैदानमै कमेन्ट्री गरिरहेका रणतुंगाले पनि श्रीलंकाले खेल गुमाउनु शंकास्पद रहेको भन्दै छानबिनको माग गरेका थिए ।

‘जब हामीले नतिजा सुम्पियौं, म निराश थिएँ र मलाई शंका पनि थियो,’ रणतुंगाले सन् २०१७ को जुलाईमा भनेका थिए, ‘हामीले सन् २०११ को क्रिकेट विश्वकपमा श्रीलंकन टोलीमाथि के भएको थियो भनेर छानबिन गर्न आवश्यक छ । म अहिले नै सबै कुरा भन्न चाहन्नँ । खेलाडीले कुरा लुकाउन सक्छन्, त्यसैले यसमा छानबिन समिति गठन हुन आवश्यक छ ।’  

सुरुआती ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७० रनको योगफल तयार पारेको थियो । सचिन तेन्दुलकरलाई १८ रनमा पवेलियनको बाटो देखाएपछि श्रीलंका खेलमा हाबी भए पनि खराब फिल्डङ र बलिङका कारण खेल नाटकीय रूपमा भारतको पोल्टामा गएको थियो । सो विश्वकपमा श्रीलंकाको कप्तानी कुमार सांगाकाराले गरेका थिए ।

श्रीलंकन टोली बारम्बार खेलमिलेमतोको विवादमा मुछिँदै आएको छ । यसै महिनाको सुरुआतमा पनि श्रीलंका क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आफ्ना तीन खेलाडीमाथि खेलमिलेमतोको आरोपमा छानबिन भइरहेको बताएको थियो । यद्यपि बोर्डले खेलाडीको नाम भने खुलाएको थिएन ।

प्रकाशित: ५ असार २०७७ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App