८ वैशाख २०८१ शनिबार
खेल

उत्कृष्टता पुनःप्रमाणित गर्‍यौं: लेवान्डोवस्की

फाइल तस्बिर।

लगातार आठाैँ पटक बुन्डेसलिगाको उपाधि जितेसँगै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले आफूहरूले आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेको बताएका छन् । बुन्डेसलिगाअन्तर्गत मंगलबार भएको खेलमा वेर्डेर बे्रमेनलाई १–० ले निराश पार्दै बायर्नले उपाधि पक्का गरेको हो । यस क्रममा लेवान्डोवस्कीले गरेको भली गोल नै निर्णायक बनेको थियो । समग्रमा भने बायर्नको यो ३०औं बुन्डेसलिगा उपाधि हो । ‘हामीले आफुलाई जर्मनीकै उत्कृष्ट टोली हौ भन्दै प्रमाणित गरेका छौं,’ लेवान्डोवस्कीले भने । ४३औं मिनेटमा लेवान्डोवस्कीले बललाई जाली चुमाएका थिए । तर रक्षक एल्फोन्सो डाभिस दोहोरो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बायर्नले अन्तिम ११ मिनेट भने दबाबमा खेलेको थियो ।

लेवान्डोवस्कीको यो जारी सिजन ३१औं लिग गोल हो र उनी पाँचौं पटक लिगको सर्वाधिक गोलकर्ता बन्ने सम्भावनासमेत प्रबल बनेको छ । यता प्रशिक्षक हान्स फ्लिकले क्लब प्रशिक्षण सम्हालेको पहिलो वर्ष नै उपाधि पक्का गरेको हुन् । गत नोभेम्बरमा तत्कालीन प्रशिक्षक निको कोभाक बर्खास्तीमा परेपछि उनले बायर्नको प्रशिक्षण सम्हालेका थिए ।  

कोरोना भाइरस महामारीका कारण करिब ३ महिनापछि मात्र फुटबल गतिविधि फर्किए पनि बायर्नले भने आफ्नो स्वाभाविक लय कायम नै राखेको थियो । यस क्रममा बायर्नले सबैखाले प्रतियोगिता गरी लगातार ८ खेलमा सुखद नतिजा ल्याइसकेको छ । फ्लिकको सन् २०१४ मा जर्मनीले अर्जेन्टिनालाई निराश पार्दै विश्वकपको उपाधि जित्दा जर्मन टोलीका प्रशिक्षक थिए । एकै सिजन तेहेरो उपाधिको खोजीमा रहेको बायर्नले जुलाई ४ मा जर्मन कपको फाइनलमा बायर लेभरकुसेनको सामना गर्दै छ भने च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा पनि चेल्सीलाई ३–० ले हराएको थियो ।

‘यो बायर्न म्युनिख हो र हामी सधैँ महत्वाकांक्षी सोच राख्छांै,’ बायर्न अध्यक्ष हाइनेर हर्बटले जारी सिजन आफूहरूको लक्ष्य तेहेरो उपाधिको रहेको बताएपछि प्रतिक्रिया दिँदै फ्लिकले भने, ‘पहिलो उपाधि पक्का गरेका छांै,अबको लक्ष्ग्य भनेको जर्मन कप र तेस्रो च्याम्पियन्स लिग ।’ लिगमा ३२ खेलमा बायर्नले ७६ अंक जोडेको छ,जुन दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा १० अंक बढी हो । ब्रेमेन भने २८ अंकका साथ १७औं स्थानमा छ ।

प्रकाशित: ४ असार २०७७ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App