coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेसीलाई चोटको आशंका

अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोनाका सहकर्मीसँग  प्रशिक्षणमा देखिन छोडेपछि ठूलो चोट बोकेको आशंका गरिएको छ ।

विश्वस्तरीय स्टार मेसीको सामान्य गतिविधि नियाल्ने सञ्चारमाध्यमले उनी प्रशिक्षणमा नआएपछि ठूलो चोट बोकेको हुन सक्ने आशंका गरेका हुन् । साथै बार्सिलोनाका स्थानीय सञ्चारमाध्यमले आगामी हप्तादेखि सुरु हुने ला लिगामा मेसीको अनुपस्थिति हुुन सक्ने अनुमानसमेत लगाएका छन् । आगामी हप्तादेखि स्पेनिस फुटबल लिग फर्काउने तयारी भइरहेको छ । यस्तो स्थितिमा मेसी बार्सिलोनाको टोलीसँग बुधबार प्रशिक्षणमा देखिएका थिएनन् । तर, बार्सिलोनाले भने मेसीका बारे कुनै चिन्ताजनक अवस्था नरहेको जनाएको छ ।

मेसीले सामान्य प्रशिक्षण गरिरहेको क्लबले जनाए पनि केही रिपोर्टले अन्य कारण हुन सक्ने दाबी गरेका छन् । क्याटलनको एक टिभीले मेसीको फिलामा सामान्य मांसपेशीको समस्या देखिएकाले उनले आगामी खेल खेल्ने जनाएको छ । कोरोना भाइरसका कारण लिग प्रभावित भएपछि बार्सिलोनाले आफ्नो पहिलो खेल जुन १३ मा मालोर्कासँग खेल्नेछ । तीन महिनाको स्थगनपश्चात् बार्सिलोना लिगमा राम्रो सुरुआत दिलाउने प्रयासमा छ । क्याटलन स्थानीय टिभीका अनुसार मेसीको सामान्य चोटको परीक्षणसमेत गरिएको थियो ।

यद्यपि, बार्सिलोनाले भने परीक्षणबारे पुष्टि गरिसकेको छैन । बिहीबार क्लबले खेलाडीलाई आराम गर्ने कार्यातालिकामा राखेको थियो । शुक्रबारदेखि खेलाडीले प्रशिक्षण सुरु गर्नेछन् । प्रिसिजनमै पिँडुलाको मांसपेशीमा समस्या देखिँदा मेसीले सिजनको करिब सुरुआती दुई महिना नै गुमाएका थिए । तर पनि उनले यस सिजन १९ गोल गरिसकेका छन्, जुन रियाल मड्रिडका करिम बेन्जेमाले गरेभन्दा पाँच गोल बढी हो । मेसीले यस सिजन १२ गोलको अवसरसमेत सिर्जना गरेका छन् ।

पहेंलो कार्डका कारण बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेङ्गलेटले मालोर्कासँगको खेल गुमाउनेछन् भने गत जनवरीमा घुँडाको सर्जरी गराएका लुइस स्वारेज मैदानमा फर्किने सम्भावना पनि रहेको छ । औसमाने डेम्बेले पनि ह्याम्सट्रिङ समस्याका कारण  बार्सिलोनाको टोलीमा उपलब्ध हुने सम्भावना कम रहेको अनुमान गरिएको छ । ११ चरणको खेल बाँकी छँदा शीर्ष टोली बार्सिलोनाले रियाल मड्रिडसँग दुई अंकको अग्रता बनाएको छ । रियालले भने जुन १४ मा आइबरविरुद्ध खेल्नेछ ।

सान्टियागो बर्नाबेउको मैदान यस सिजभरि पुनर्निर्माण हुने भएकाले आइबेरविरुद्धको खेल रियालले प्रशिक्षण सेन्टर अल्फ्रेडो डी स्टेफानो स्टेडियममा खेल्नेछ । कोरोना भाइरसको महामारीपश्चात् फर्किएको लिगको पहिलो खेल सेभिया डर्बीमा सेभिया र रियाल बेटिसबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App