coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अश्वेत ट्याफोईलाई पराई अनुभव

उनी आफ्नो देशका चर्चित खेलाडी हुन् तर अमेरिकी टेनिस स्टार फ्रान्सेस ट्याफोईले खेलकुद क्षेत्रमा रंग र क्षेत्रकै आधारमा गरिने फरक व्यवहारले आफूलाई आफ्नै राष्ट्रमा पराईजस्तो अनुभव हुने बताएका छन् ।  

ट्याफोई हाल विश्व टेसिन वरीयताको ८१औं स्थानमा छन् । उनी गत वर्ष अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्म प्रवेश गरेका थिए । तर उनले त्यहाँ पनि आफ्नो सफलतामा भिन्न व्यवहार गरिएको बताए । कमै मात्र अश्वेत खेलाडीहरू विश्व वरीयताको १ सय स्थानभित्र आउने गर्छन् । २२ वर्षे ट्याफोईलाई गोरा खेलाडीको तुलनामा आफूहरूले पनि त्यही उचाइ हासिल गर्न धेरै मिहिनेत गर्नुपरेको बुझाइ छ ।

‘मलाई लाग्छ धेरै जना म सफल भएको हेर्न चाहँदैनन्,’ ट्याफोईले भने, ‘रंगकै आधारमा ममाथि फरक व्यवहार भएका छन् । मेरा समर्थक पनि न्यून छन् । हामीले पाएको सफलता आफ्नो मिहिनेतले भन्दा पनि अरूले त्यसै दिएको जस्तो गरिन्छ । मलाई निरीह छाैं जस्तो लाग्छ ।’

हालै अमेरिकामा केही दिनअघि एक अश्वेत नागरिकको प्रहरी दमनमा निधन भएसँगै अहिले त्यहाँ दिनहँु आन्दोलन चर्किरहेको छ । अमेरिकी सर्वधारणले पनि रंगकै आधारमा गरिने व्यवहारको अन्त्य गर्न भन्दै व्यावसायिक खेलाडीलाई पनि आन्दोलनमा समर्थन गर्न र सहभागी हुन आग्रह गर्दै आएका छन् ।

विलियम्स दिदी बहिनीले हात पारेको सफलताका कारण उनीहरू अहिले पनि सबै अमेरिकीका आदर्श व्यक्ति भए पनि सबै खेलाडीले समान व्यवहार पाउनु अमेरिकी समाजमा अझै कठिन रहेको ट्याफोईको बुझाइ छ ।

‘के हामी सबैलाई सहयोग गरिरहेका छांै त ?’ ट्याफोईले भने, ‘पक्कै पनि होइन । हामी हाम्रो जिम्मेवारी मात्र पूरा गरिरहेका छाैं ।’ अमेरिकी पुलिसको दमनमा जर्ज फ्लोइडको निधन भएपछि रंगभेदी दुव्र्यवहारविरुद्ध ट्याफोई, उनकी प्रेमिका र अर्का टेनिस स्टार आयन ब्रुमफिल्डले भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

‘माथिल्लो स्थानमा बसेका व्यवसायी, राजनीतिज्ञ, कलाकार र खेलाडीले यस्तो समयमा रंगभेदी दुव्र्यवहारको विरोध गर्दै समान हकको माग गरेमा केही परिवर्तन आउन सक्छ,’ उनले भने, ‘अहिले अमेरिकामा जे भइरहेको छ, त्यसले हामीलाई नयाँ आशा भने जगाएको छ ।’

उनले जारी आन्दोलनमा धैर्यता अपनाउनुपर्ने समेत बताए । ‘हामीले अहिले एक हुन जरुरी छ,’ ट्याफोईले भने, ‘सबैलाई समान व्यवहार हुन पनि आवश्यक छ ।’

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App