६ वैशाख २०८१ बिहीबार
खेल

प्रशिक्षण योजना आवश्यक

विश्वभर कोरोना भाइरसको महामारी फैलिएसँगै अधिकांश जनजीवन प्रभावित भइरहँदा धेरै मानवीय क्षति पनि भइरहेको छ । यो महामारीका कारण सबै उद्योगधन्दा ठप्प छन् भने खेलक्षेत्रलाई पनि ठूलो नोक्सानी भएको छ । तर, पछिल्ला समय युरोपमा कोरोना प्रभाव घट्दै गएपछि जनजीवन सामान्य स्थितिमा फर्कंदै  छ । साथै ठूला व्यावसायिक खेलकुद पनि सुचारु गर्ने योजना बनिरहेको छ ।

उनीहरूको खेल प्रतिस्पर्धा फर्काउने पहिलो माध्यम ससाना समूहमा खेलाडीको  प्रशिक्षण हुँदै सामूहिक प्रशिक्षण बनिरहेको छ । यद्यपि, लामो समयको लकडाउनमा पनि खेलाडीहरू आफूलाई फिट राख्न घरमै सामान्य रूपमा दैनिक प्रशिक्षणलाई अघि बढाइरहेको विभिन्न माध्यमबाट सार्वजनिक पनि भएका थिए । नेपाल पनि गत चैत ११ गतेदेखि पूर्णरूपमा लकडाउनमा छ । यस्तो स्थितिमा अधिकांश उद्योगधन्दा ठप्प छन् भने खेलक्षेत्रमा पनि ठूलो प्रभाव परिरहेको छ । दैनिक रूपमा आफूलाई अभ्यासमा अभ्यस्त बनाउनुपर्ने खेलाडीहरू घरभित्रै खुम्चिन बाध्य छन् ।

लामो समयदेखिको प्रशिक्षणबिना घर बसिरहेका खेलाडीहरूको दीर्घकालमा खेल प्रदर्शनस्तरमा पनि प्रभाव पर्ने पक्का छ । खेलाडीले दुई हप्ता मात्र प्रशिक्षण नगरेमा उनीहरूको ‘इन्ड्युरेन्स क्यापासिटी’ २० प्रतिशतले ह्रास आउने भएकाले खेलाडीले सामान्य प्रशिक्षण भने गरिराख्नुपर्ने खेल वैज्ञानिकको भनाइ छ । लामो समय नखेल्दा खेलाडीको प्रदर्शनमा पनि नकारात्मक समस्या आउन सक्छ । विदेशी खेल क्षेत्रका निकायले लडकडाउनको अवस्थामा खेलाडीको प्रशिक्षणलाई चलायमान बनाउन वैकल्पिक योजनाहरू अघि सारे पनि नेपालमा भने त्यसप्रति खासै ध्यान जान सकेको छैन ।

लामो समयदेखि खेलाडीहरू लकडाउन गुजार्न बाध्य भएकाले यसको प्रभाव ओलम्पिक छनोट चरणलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पर्ने पक्का छ । केही खेलाडीले घरमै सामान्य अभ्यास गरे पनि एथ्लेटिक्स, पौडी, फुटबल र क्रिकेटलगायतका खेलाडीलाई समस्या उत्पन्न हुनेछ । त्यसैले यसबारे नेपाली खेलकुदको प्रशासनिक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केही योजना बनाउनुपर्छ । नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठ ठूला भवन या सरंचना बनाउनु मात्र खेल विकास गर्नु नभएको जिकिर गर्दै आवश्यक परेको खण्डमा खेलाडीको स्तरवृत्तिका योजना आउनु पनि महत्वपूर्ण पक्ष रहेको बताउँछन् ।

‘स्तर सुधारेकाका खेलाडी लामो समय लकडाउनमा रहेकाले उनीहरूको प्रदर्शन पनि खस्कन सक्छ । जब खेलाडी प्रतिस्पर्धा उत्रन्छन्, त्यो समय उनीहरूमा चोट आउने सम्भावना उच्च रहन्छ । केही खेलाडी एक्लै प्रदर्शन गरिरहेका पनि छन्, त्यसले केही फाइदा मिले पनि मूल्यांकनबिना तयारी राम्रो नहुन सक्छ,’ कुशलले भने, ‘सबै खेलाडीको घरमा प्रशिक्षण गर्ने वातावरण नहुन सक्छ । त्यसैले यसबारे समयमै ध्यान दिनुपर्छ ।’ दशौं सागका स्वर्ण विजेता कुशलले विकसित देशले जस्तो सेवासुविधा दिन नसके पनि केही योजना अघि सारेर दीर्घकालमा हुने समस्या कम गर्न वातावरण सिर्जना गर्नुपर्छ ।  

उनले नयाँ तरिकाले कसरी प्रशिक्षण गराउने भन्ने कुरा सोच्न आवश्यक रहेको बताए । अब नयाँ तरिकाले कसरी प्रशिक्षण गर्ने भन्ने विषयमा परिषद्ले स्पष्ट खाका तयार पार्नुपर्ने उनी बताउँछन् । तेक्वान्दोको राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी  निमा गुरुङले   जतिसक्दो शरीरलाई चलायनमान बनाउने योजनाअनुरूप घरमै दैनिक प्रशिक्षण गरिरहेको बताइन् ।

‘छिमेकमा करातेकी खेलाडी छन्, उनीसँगै दैनिक प्रशिक्षण गरिरहेको छु । जतिसक्दो आफूलाई फिट बनाउने प्रयास छ,’ १३औं सागका रजत पदक विजेतासमेत रहेकी निमाले भनिन्, ‘हामीले प्रशिक्षण राम्रो बनाउन सकेनौं भने हामीसँग भएका पावर गेम कमी हुँदै जान्छ । त्यसैले अभ्यास र खानपान पनि विशेष ध्यान दिइरहेको छु । प्रशिक्षण केन्द्रमा प्रशिक्षक र साथीहरूसँग प्रशिक्षण गरेजस्तो प्रभावकारी त हुँदैन त वर्तमान परिस्थितिअनुसार यो नै उत्तम विकल्प हो ।’

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App