१५ चैत्र २०८० बिहीबार
खेल

टोलीको खेल देखेर क्लोप खुसी

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीले पछिल्ला प्रतिस्पर्धामा प्रदर्शन गरेका सुन्दर फुटबल नियाल्दा निकै खुसी हुने गरेको बताएका छन् ।

इङ्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने योजना अघि बढिरहँदा लिभरपुलले पनि आफ्नो तयारी गरिरहेको छ । क्लोपको टोली लिभरपुल अंकतालिकामा शीर्षमा रहँदा दोस्रो स्थानको टोली म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाइसकेको छ । ३० वर्षपछि लिग उपाधि जित्ने लिभरपुलको अभियान कोरोना भाइरसको महामारी फैलिएसँगै प्रभावित हुन पुग्यो । गत मार्च १३ देखि कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिग स्थगित छ ।

लिभरपुलका प्रशिक्षक क्लोपले ब्रिटिस सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा पछिल्ला खेलहरूलाई आफूले धेरै मिस गरिरहेको बताए । ‘मैले ती खेलहरू धेरै याद गरिरहेको छु, जुन अविस्मरणीय पनि छ,’ क्लोपले भने ‘मलाई थाहा छ, यस्ता कुराले मेरो जीवनमा धेरै महत्व त राख्दैन । तर मानिसहरूले यस्तो प्रदर्शन आगामी दिनमा पनि देख्न चाहेका छन् ।’ यदि म्यानचेस्टर सिटीले आर्सनलसँग पराजित भएमा लिभरपुलले महामारीबाट फर्किएको पहिलो जितमै उपाधि सुरक्षित गर्न सक्छ ।

‘यदि हामी च्याम्पियन भयौं भने सम्भव भएसम्म उत्सव मनाउँछौं । हाम्रो साथमा समर्थक हुनेछन् र त्यो क्षण विशेष हुन्छ ।’

विश्वभर कोरोना भाइरसको महामारी पैmलिएपछि स्थगित प्रिमियर लिग जुन १७ बाट पुनः सुचारु हुने भएको छ । जसअन्तर्गत पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछन् । क्लोपले अझै धेरै काम गर्न बाँकी रहेको र लिभरपुलले सकेसम्म धेरैभन्दा धेरै खेल जित्ने लक्ष्य राखेको बताए । ‘हामीले अहिले नै ऐतिहासिक क्षणबारे कल्पना गर्नु राम्रो नै लाग्छ । तर, अहिले च्याम्पियन भइसकेका छैनौं र यसबारे राम्रोसँग जानकार छौं,’ उनले जोड दिए, ‘हामी ठूलो सफलतानजिक छौं र तर निकटता त्यति सहज पनि हुँदैन ।’

उनले अझै २७ अंकको खेल बाँकी रहेको स्मरण गर्दै ती सबै आफ्नो पक्षमा पार्ने प्रयास हुने विश्वास व्यक्त गरे । ‘हामी अहिले नै विजेता भइसकेका छैनौं, हामीले धेरै खेल खेल्न बाँकी छन् र त्यसमा सफलता पनि हात पार्नु छ,’ क्लोपले भने, ‘दुई खेल या केही जित निकालेर नै हामी सीमित रहँदैनौं । नतिजाभन्दा पनि कडा मिहिनेत सधैं गर्नु आवश्यक हुन्छ ।’ प्रिमियर लिगका खेलाडी गत मे २८ देखि कन्ट्याक्ट ट्रेनिङ सुरु गरेका छन् भने हप्ताको दुई पटक खेलाडीमा कोरोना परीक्षणसमेत गरिएको छ ।

प्रिमियर लिगमा ९२ खेल बाँकी रहेका छन् र लिग सुचारु भए ती सबै खेल बन्द रंगशालामा खेलाइनेछ । प्रिमियर लिगले सबै क्लबको सहमतिमा जुलाई २५ सम्म लिग समापन भइसक्ने गरी तालिका सार्वजनिक गर्ने बताइएको छ । गत हप्ता लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले समर्थकबिना एन्फिल्डमा खेल्नु र उपाधि उचाल्नु ‘धेरै अनौठो ’ हुने प्रतिक्रिया दिएका थिए । क्लोपले भने जब सुरक्षाको प्रत्याभूति हुने अवस्था भएपछि समर्थकका साथ उत्सव हुने र ठूलो संख्यामा भेला भएर त्यहाँ एक किसिमको परेड नै हुने सम्भावना देखाएका छन् ।

‘यदि हामी च्याम्पियन भयौं भने सम्भव भएसम्म उत्सव मनाउँछौं । हाम्रो साथमा समर्थक हुनेछन् र त्यो क्षण विशेष हुन्छ,’ उनले भने, ‘म अहिले नै भन्छु, यी सबै सम्भव भयो भने परेडजस्तै हुनेछ । हामीलाई एक दिन चाहिन्छ, सबै जना भेला हुन सम्भव भयो भने हामी उत्सव मनाउनेछौं ।’

प्रकाशित: २२ जेष्ठ २०७७ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App