८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डोले पत्याएका खेलाडी लागू औषध दुव्र्यसनमा

सन् २००३ मा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धन भएपछि स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले छिट्टै पोर्चुगलमा अर्को क्षमतावान् फुटबल स्टारको उदय हुन लागेको बताएका थिए । ‘मलाई उत्कृष्ट देख्नुहुन्छ भने फाबियो पियामलाई नदेख्दासम्म मात्र हो,’ रोनाल्डोले भनेका थिए ।

रोनाल्डोले त्यसपछिको १७ वर्ष विश्व फुटबलमा बिताए तर उनले भनेजस्तो अर्का फुटबल स्टारको उदय भने भएन । ३२ वर्षे पियाम गत वर्ष लागू औषध ओसारपसारमा संलग्न भएको भन्दै पक्राउ परेको खबर सार्वजनिक भयो ।

प्रहरीले पियामको घरमा छापा मार्र्दै करिब ९ सय युरोबराबरको १२ ग्राम कोकिनसहित उनलाई पक्राउ ग¥यो । उनलाई त्यसपछि लिस्बन नजिकैको काजियास जेलमा चलान गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए ।

पोर्चुगलको पिएसपी फोर्सले लागू औषधसहित एक महिला र एक पुरुषलाई पक्राउ गरे पनि पक्राउ गरिएका व्यक्तिको विवरण भने गोप्य राखेको थियो । तर पोर्चुगलका सञ्चारमााध्यमले भने पक्राउ पर्ने पुरुष फाबियो पियाम नै भएको र उनीमाथि महिनाैं अनुसन्धान चलेको दाबी गरेका थिए ।

खेलजीवनको सुरुआतमबाटै गतिलो छाप छोडेका पियामले स्पोर्टिङ सिपीको युथ टोलीबाट खेलजीवन सुरु गरेका थिए । पाँच पटकका बालन डी’अर विजेता रोनाल्डोले क्लबमा जे छाप छाडेका थिए पियामले त्यसलाई शतप्रतिशत पछ्याएका थिए । पियाम १४ वर्षको हुँदा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका प्रतिनिधि निरन्तर उनको खेल हेर्न रंगशाला पुग्दथे ।

पियाम १९ वर्षको हुँदा फुटबल जगतका चर्चित एजेन्ट जर्ज मेन्डिसले उनलाई प्रिमियर लिग महारथी चेल्सीमा पुर्याएका थिए ।

सन् २००८ मा लुइस फिलिप स्कोलारीले पियामलाई स्ट्यामफोर्डब्रिजमा भित्र्याउँदा उनले सहजै पहिलो रोजाइको टोलीमा स्थान बनाउने अनुमान गरिएको थियो । तर ४ महिना क्लबमा बस्दा उनले रिजर्भ टोलीबाट मात्र केही खेल खेल्ने अवसर पाए । अपेक्षाअनुसारको प्रदर्शन गर्न चुकेपछि उनी चेल्सीबाट लोनमा रियो अभे र रियाल मासामा गए । सन् २०१० मा भने स्पोर्टिङ सिपीले पियामसँगको सम्झौताको अन्त्य गर्यो ।

रोनाल्डोले एकताका आफूभन्दा राम्रो खेलाडी भन्दै चर्चा गरेका पियाम अन्ततः पोर्चुगलको तेस्रो श्रेणीको टोली एससियु टोरेन्सेनमा आबद्ध भए, जहाँ उनले मात्र ३ खेल खेले र २०११ मा क्लब छाडे ।

त्यसपछिका आठ वर्ष पियामले संघर्षमा बिताए । उनले कतारको अल खरितियात र लक्जेम्बर्गको च्याम्पियन टोली युनियन ०५ केएल टेटाङबाट समेत केही समय खेले । पियामले चीन, अंगोलो, माल्टा, लिथुवानिया, लक्जेम्बर्ग, कतार र ब्राजिल गरी कुल ७ राष्ट्रमा खेले । तर निरन्तर फिट हुन नसकेसँगै उनको खराब समय सुरु भएको बताइन्छ ।

पियामले  ग्लोबोई स्पोर्टीसँगको एक अन्तर्वार्तामा आफ्नो खेलजीवनको उचाइ र रोनाल्डोका बारेमा खुलेर बोलेका थिए ।

‘विश्वमा रोनाल्डोजस्तो खेलाडी छँदै छैन । उनको तुलना आजसम्म कोहीसँग गर्न सकिँदैन र यो क्रम आगामी केही वर्ष अझै रहन्छ,’ पियामले भने, ‘मलाई मेरो खेलजीवनको सुरुआती चरणमा रोनाल्डोभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्छु जस्तो लाग्थ्यो, तर मैले रोनाल्डोको सफलताको छेउसम्म पुग्न सकिनँ । रोनाल्डो निकै मिहिनेती खेलाडी हुन्, जुन म कहिल्यै बन्न सकिनँ ।’

‘मसँग रोनाल्डोजत्तिकै क्षमता थियो । तर उनमा जस्तो धैर्य, मिहिनेत र लगाव भने ममा कहिल्यै भएन,’ पियामले भने, ‘मलाई म फुटबल खेल्नकै लागि जन्मिएको जस्तो लाग्थ्यो । ममा क्षमता पनि थियो । कोही पनि सबै कुरामा पोख्त भएर संसारमा जन्मिँदैन । क्षमता हँुदैमा सफल भइन्छ भन्ने भ्रम नै मेरो खराब लयका लागि टेवा बनिरह्यो ।’

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App