१५ चैत्र २०८० बिहीबार
खेल

लेस्टर प्रशिक्षकको कोरोना अनुभव

लेस्टर सिटीका प्रशिक्षक बर्नाड रोजर्सले मार्चमा कोरोना भाइरस संक्रमित भएपछि जिउने इच्छा नै गुमाएको बताएका छन् । आर्सनलका प्रशिक्षक मिचेल अर्टेटामा कोरोना पुष्टि भएको दोस्रो दिन लेस्टर प्रशिक्षक रोजर्समा पनि कोभिड १९ पुष्टि भएको थियो ।४७ वर्षे रोजर्सले कोरोना भाइरस मुक्त हुनुअघि आफूलाई श्वासप्रश्वासमा निकै कष्ट भएको बताए ।

‘मलाई पाइला चाल्नसमेत कठिन भएको थियो र मलाई सो समय एक पाइला हिँड्दा पनि पहाड चढेको भान हुन्थ्यो,’ रोजर्सले भने, ‘हामीसँग मार्च १४ मा वाटफोर्डविरुद्ध खेल्ने तालिका थियो र त्यसअघि हामीलाई एक साताको विश्राम थियो । तर त्यो एक सातामै मलाई गाह्रो भइरहेको थियो । तीन साता मैले न कुनै स्वाद पाएँ न कुनै गन्ध । म निकै कमजोर भइसकेको थिएँ । एक सातापछि मेरी श्रीमतीको अवस्था पनि त्यस्तै थियो । हामीले परीक्षण गरायाैं । हामी दुवै जनामा कोरोना पोजेटिभ देखियो ।’

रोजर्सले सन् २०११ मा एक च्यारिटीका लागि माउन्ट किलिमान्जारो आरोहण गरेका थिए । उनले आरोहण गर्नु एक साताअघि मात्र स्वान्सी सिटीलाई च्याम्पियनसिपअन्तर्गत प्लेअफको फाइनलमा प्रवेश गराउनुका साथै टोलीलाई पहिलो पटक प्रिमियर लिगसम्म पुर्याएका थिए ।

‘म कोरोनाबाट संक्रमित भएपछिको समय मैले माउन्ट किलिमान्जारो आरोहण गरेभन्दा कठिन बन्यो,’ उनले भने, ‘त्यहाँ पनि श्वास फेर्न कठिन थियो र कोरोना भाइरसबाट संक्रमित हुँदा पनि म त्यही अवस्थाबाट गुज्रिएँ । मैले संक्रमित भएर क्वारेन्टाइनमा बस्दा नियमित अभ्यासका लागि दौडने प्रयास गरें । मलाई १० यार्ड पार गर्न समेत कठिन भयो । मलाई खाना खाँदा पनि कुनै स्वाद थिएन । मार्चको अन्तिममा म र मेरी श्रीमती कोरोना मुक्त भयौं ।’

प्रिमियर लिगले जुन १७ बाट लिग पुनः सुचारु गर्ने घोषणा गरिसकेको छ । गत साताबाट ससाना समूहमा अभ्यासका लागि अनुमति पाएका प्रिमियर लिग क्लबहरूले यसै साताबाट भने एक साथ अभ्यासका लागि अनुमति पाइसकेका छन् ।

‘लामो समयपछि फुटबल फर्कंदै छ र हामीले एकसाथ अभ्यास गर्न पाइरहेका छाैं,’ रोजर्सले भने, ‘पछिल्लो साता भने हामीले भिन्नभिन्न हुँदै अभ्यास गरेका थियौं । अहिले एक साथ छौं र हामी स्वाभाविक लयमा फर्कंदै छौ । खेलाडीहरू फिट छन् ।’

रोजर्सले क्लबका कुनै पनि खेलाडीले अभ्यासमा फर्कन आनाकानी नगरेको बताए ।

‘खेलाडीहरूको मनोबल उच्च छ । सबैले सुरक्षित महसुस गरेका छन्,’ उनले भने, ‘साताको दुई पटक कोरोना परीक्षण गरिने भएकाले पनि उनीहरूले सुरक्षित महसुस गरेका हुन् ।’

रोजर्सले यस सिजन आफ्नो लक्ष्य टोलीलाई च्याम्पियन्स लिगमा छनोट गराउनु भएको र त्यसमा सफल हुनेमा विश्वस्त रहेको बताए । आर्सनलका प्रशिक्षक मिचेल अर्टेटामा कोरोना पुष्टि भएको दोस्रो दिन लेस्टर प्रशिक्षक रोजर्समा पनि कोभिड १९ पुष्टि भएको थियो ।

प्रकाशित: २० जेष्ठ २०७७ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App