८ वैशाख २०८१ शनिबार
खेल

लेवान्डोवस्कीको दुई गोल

स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले शनिबार फोर्टुना डुसेन्डोर्फमाथि सहज जितका साथ बुन्डेसलिगामा आफ्नो शीर्षता थप फराकिलो पारेको छ ।

बुन्डेसलिगाअन्तर्गत शनिबारको खेलमा बार्यनले फोर्टुना डुसेन्डोर्फको चुनौती ५–० ले पन्छाएको हो । बायर्नको जितमा लेवान्डोवस्कीले दुई गोल गर्दा बेन्जामिन पभार्ड र एल्फोन्सो डाभिसले समान एक गोल गरेका थिए भने फोर्टुनाका माटियास जर्जेनसेनले आत्मघाती गोल उपहार दिएका थिए ।

खेलको १५औं मिनेटमा माटियासले गरेको आत्मघाती गोलमा बायर्न खेलमा अघि बढेको थियो । २९औं मिनेटमा पभार्डले बायर्नको अग्रता दोब्बर पारे । ४३औं मिनेटमा लेवान्डोवस्कीले बललाई जाली चुमाउँदै बायर्नको अग्रता थप बढाएका थिए । मध्यान्तरपछिको पाँचाैं मिनेटमा लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै बायर्नको अग्रता ४–० मा पुर्याए । जारी सिजन सबैखाले प्रतियोगिता गरी लेवान्डोवस्कीको यो ४३औं गोल हो । ५२औं मिनेटमा डाभिसले बायर्नका लागि पाँचौं गोल गर्दै टोलीको फराकिलो जित पक्का गरेका थिए ।

२९ खेलमा ६७ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ । जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको बोरुसिया डर्टमन्डभन्दा १० अंक बढी हो । बायर लेभरकुसेन २९ खेलमा ५६, आरबी लिपजिग २८ खेलमा ५५ र बोरुसिया मोन्चेनग्लाडबाच २८ खेलमा ५३ अंकका साथ क्रमशः तेस्रो, चौथो र पाँचांै स्थानमा छन् ।

सिजन पुनः सुरु भएपछि बायर्नको यो लगातार चौथो जित हो । यस क्रममा टोलीले १३ गोल गरेको छ भने मात्र २ गोल खाएको छ । बुन्डेसलिगा अन्तर्गत शनिबारै भएको अर्को खेलमा बेबउको निर्णायक गोलमा होफेनहेइमले मेइन्जलाई १–० ले हराउँदा हर्था बर्लिनले औसबर्गलाई २–०, इन्ट्य्राक्ट फ्य्रांकफर्टले उल्फसबर्गलाई २–१ ले पराजित गरेका छन् । साल्के भने रेलिगेसन क्षेत्रको वेर्डेर ब्रेमनसँग १–० ले स्तब्ध भएको छ ।

प्रकाशित: २० जेष्ठ २०७७ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App