८ वैशाख २०८१ शनिबार
खेल

फुटबल फर्काउन जोड लगाउँदै शीर्ष लिग

कोरोना भाइरसको महामारी फैलिएसँगै प्रभावित भएका युरोपका ठूला व्यावसायिक फुटबल लिगमध्ये बुन्डेसलिगा सुचारु भइसकेको छ भने अन्य पनि फर्किने संघारमा छन् ।

युरोपका फुटबल विश्व खेलकुद जगत्मै लोकप्रिय छन् भने यिनीहरूले देशभित्रको अर्थतन्त्रमा पनि ठूलो प्रभाव राख्ने गर्दछन् । युरोपियन फुटबलका दुई ठूलो लिगले पनि बिहीबार नै आगामी महिनादेखि खेल सुचारु हुने घोषणा गरिसकेका छन् । इङ्लिस प्रिमियर लिगले आगामी जुन १७ र सरकारले साथ दिएपछि इटालीको सिरी ‘ए’ ले पनि छिट्टै लिग फर्काउने तयारी गरिरहेको छ । इङ्ल्यान्ड र इटाली जर्मनीको बुन्डेसलिगाको शैलीलाई पछ्याउँदै सिजन सुचारु गर्ने तयारीमा छन् ।

स्पेनको ला लिगाले पनि आगामी महिनाको जुन ११ देखि सञ्चालनमा ल्याउने सम्भावना देखाइसकेको छ । स्पेनिस सरकारले जुन ८ देखि खेल सञ्चालन गर्न अनुमति दिएपछि ला लिगाका अध्यक्ष जेभियर टेबासले सेभिया डर्बी प्रतिस्पर्धा सेभिया र रियाल बेटिससँगको खेलबाट सिजन फर्किने बताएका छन् । त्यसलगत्तै गत बिहीबार इङ्ल्यान्ड र इटालीले पनि खेल फर्काउने घोषणा गरे । युरोपका ठूला पाँच व्यावसायिक फुटबलमध्ये एक फ्रान्सले भने बिना कुनै तयारी हतारमै लिग वानको सिजन अन्त्य गर्यो । यद्यपि, लिग वान क्लब लियोनलगायतले भने त्यस निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन् ।

कठिन परिस्थितिका बावजुद युरोपका ठूला फुटबल लिग फर्काइनुको कारण टिभी राइटबाट प्राप्त हुने ठूलो रकम पनि रहेको विश्लेषण गरिँदै छ । टिभी राइटबाट पाउने आमदानी जोगाउन भए पनि बन्द रंगशालाबीच खेल सञ्चालन गर्न ती लिगले प्रयास गरिरहेका छन् । बीचमै सिजन अन्त भएमा क्लबले अत्यधिक आर्थिक क्षति बेहोर्नुपर्ने भएपछि सरोकारावालाहरूले जसरी भए पनि खेल फर्काउन संघर्ष गरिरहे । तर, अझै पनि प्रिमियर लिग र सिरी ‘ए’ सुचारु गर्ने विषयमा मतभेद रहँदै आएको छ । यी दुई लिग सञ्चालन आउनेमा अझै आशंका पैदा भइरहेका छन् ।

युरोपमा महामारी पैmलिएसँगै यस सिजनको दबदबा बनाउँदै इतिहास रच्ने अभियानमा रहेको लिभरपुलका लागि ठूलो धक्का लागेको थियो । ३० वर्षपछि ऐतिहासिक सफलता चुम्नु लिभरपुल ६ अंकले मात्र पछि छ । योर्गान क्लोपको टोली गत सिजन च्याम्पियन्स लिग उचालेपछि यस पटक अधुरो रहेको घरेलु लिग जित्ने अभियानमा छ । लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग २५ अंकको अग्रता बनाएको छ ।

त्यसैले यस पटक लिभरपुल फराकिलो अंकको अग्रतासहित उपाधि उचाल्न आतुर छ । त्यसका लागि सिजन सुरु हुनु पहिलो आवश्यकता हो । प्रिमियर लिग पनि सिजन फर्काउन ‘प्राजेक्ट रिस्टार्ट’ मार्पmत प्रयासरत छ । त्यहाँका स्थानीय प्रहरीले पनि पछिल्ला समय प्रिमियर लिगलाई साथ दिने बताएका छन् ।

युरोपियन प्रतिस्पर्धा र रेलिगेसन

इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथिको च्याम्पियन्स लिग प्रतिबन्ध आगामी सिजनबाट सुरु हुनेछ । यस्तो स्थितिमा पाँचौं क्लबले आगामी सिजनको युरोपियन प्रतिस्पर्धामा स्थान पाउनेछन् । प्रिमियर लिगको अंकतालिकामा लिभरपुल शीर्षमा छ भने त्यसपछि म्यानचेस्टर सिटी ५७ अंकसहित दोस्रोमा, लेस्टर सिटी ५३ अंकसहित तेस्रोमा, चेल्सी ४८ अंकसहित चौथो र म्यानचेस्टर युनाइटेड ४५ अंकसहित पाँचौं स्थानमा छन् ।

माथिका सबै क्लबको च्याम्पियन्स लिग खेल्ने सम्भावना राम्रो छ भने वुल्भ, सेफिल्ड र टोटेनहमले पनि आगामी सिजनको युरोपियन प्रतिस्पर्धाका लागि उतिकै चुनौती दिएका छन् । यस्तो स्थितिमा प्रिमियर लिग सञ्चालन हुन नसके युरोपियन प्रतिस्पर्धाका साथै रेलिगेसनमा पनि विवाद सिर्जना हुने पक्का छ । यस पटक प्रिमियर लिगमा ६ क्लब रेलिगेसन बच्न संघर्षरत छन् । त्यसैले प्रिमियर लिगसँग सिजन फर्काउनुको विकल्प हुनेछैन ।

यता, इटालियन सिरी ‘ए’ मा पनि उपाधिको होड निकै प्रतिस्पर्धात्मक छ । लाजियोले शीर्षका लागि युभेन्ट्सलाई उपाधिमा चुनौती दिइरहेको छ । २६ खेल सकिँदा युरोपमा कोरोना भाइसरको केन्द्रबिन्दु नै बनेको इटालीलाई पनि सिजन फर्काउनुको विकल्प थोरै नै हुनेछ ।

प्रकाशित: २० जेष्ठ २०७७ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App