७ वैशाख २०८१ शुक्रबार
खेल

न्याय माग्दै सान्चोको ह्याट्रिक

इङ्ल्यान्डका विंगर जाडोन सान्चोको ह्याट्रिक र अमेरिकामा मारिएका जर्ज फ्लोएडलाई न्याय पाउनुपर्ने सन्देश रहेको खेलमा बोरुसिया डर्टमन्डले बुन्डेसलिगामा पुछारको टोली पार्डरबोर्नमाथि आइतबार ६–१ को जित निकाल्यो ।

सान्चोले ह्याट्रिक पूरा गर्दा न्यायको याचनाको गरिएको खेलमा डर्टमन्डले रबाफिलो जित निकाल्दै बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखसँगको अंकदूरीसमेत छोट्याउन सफल भयो । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका सान्चोले बुन्डेसलिगामा १७ गोल  पूरा गर्दा १७ एसिस्ट पनि गरेका छन् । गत सोमबार मिन्नेसोटा राज्यको मिनियापोलिस सहरमा एक जना अश्वेत व्यक्ति फ्लोएडको मृत्यु भएपछि अमेरिकामा विरोध प्रदर्शन भइरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सडकमा लडेका ४६ वर्षका अश्वेत नागरिक जर्ज फ्लोएडको घाँटीलाई एक पुलिसले घुँडाले दबाएर राखेको देखिएको थियो ।

यस क्रममा फ्लोएडले आफूलाई सास फेर्न गाह्रो भएको भनिरहेका छन् । ती पुलिसले फ्लोएडको घाँटी करिब ८ मिनेटसम्म दबाइराखे र उनको मृत्यु भयो । जर्ज अश्वेत थिए जबकि उनको घाँटी थिच्ने पुलिसकर्मी गोरा थिए । फ्लोएडको मृत्युले अमेरिकामा फेरि एकपटक काला र गोराबीचको विभेदबाट बहस सुरु भएको छ । अमेरिकाको विभिन्न राज्यमा सडकमै उत्रिएर मानिसले प्रदर्शन गरिरहेका छन् । उक्त विरोधमा जर्मनीको शीर्ष लिगका स्टार सान्चो पनि थपिएका छन् । जब मोरक्कोका स्टार असरफ हाकिमीले डर्टमन्डका लागि चौथो गोल थपेसँगै उनले पनि सान्चोकै सन्देशलाई पछ्याए ।

आइतबार नै भएको खेलमा बोरुसिया मोइनग्लाडबाचका फ्रेन्च स्टार मार्कुस थुरुमले पनि घुँडा टेक्दै फ्लोएडको मृत्युलाई न्याय मागेका थिए । शनिबार साल्केका अमेरिकी मिडफिल्डर वेस्टन म्याकेनीले पनि ‘जस्टिस फर जर्ज’ को आर्मब्यान्ड बाँधेका थिए । बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको डर्टमन्डले आफ्ना स्टार स्ट्राइकर इर्लिङ हालान्डबिना पनि रबाफिलो जित निकाल्दै उपाधिको आशा जोगायो । पार्डरबोनविरुद्धको खेलमा सान्चोको प्रदर्शन यादगार रह्यो । ‘हामी हरेक खेलमा जितका लागि निकै मिहिनेत गरिरहेका छौं,’ डर्टमन्डका गोलकिपर रोमन बुर्कीले भने ।

यता बायर्न यस सिजनका ६ खेल बाँकी छँदा सात अंकको अग्रता बनाउँदै आठौं उपाधिनजिक पुगेको छ । डर्टमन्ड पनि लगातार जित निकाल्दै बायर्नको हारको पर्खाइमा छ । आइतबार डर्टमन्डका तीन अग्रपंक्तिका स्टार सान्चो, हाजार्ड र युलियन ब्रान्टले दोस्रो हाफमा मात्र आफ्नो टोलीलाई अग्रता दिलाउन सफल भए । खेलको ५४औं मिनेटमा हाजार्डले इमिरे चानको पासमा गोल गर्दै डर्टमन्डको खाता खोलेका थिए । त्यसको तीन मिनेटपछि नै सान्चोले दोस्रो गोल गर्दा आफ्नो जर्सी खोलेर न्याय प्राप्तिको सन्देश प्रवाह गरेपछि पहेंलो कार्ड पाए ।

तर, ७२ मिनेटमा पार्डरबोनले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । त्यसपछि डर्टमन्डका स्टारले लगातार चार गोल थपेपछि पार्डरबोर्नको रक्षापंक्ति निरीह बन्न बाध्य भयो । ७४औं मिनेटमा हाजार्डको पासमा सान्चोले दोस्रो गोल गरे । ८५औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमन्डलाई ४–१ अग्रता दिलाए । खेल सकिन १० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका मार्सेल स्मेल्जरले डर्टमन्डको पाँचौं गोल गरे । इन्जुरी समयमा सान्चोले ह्याट्रिक पूरा गर्दा पार्डरबोर्न आधा दर्जन गोल बेहोर्न बाध्य भयो । त्यसअघि ग्लाडबाचले युनियन बर्लिनलाई ४–१ को हार चखाएको थियो ।

प्रकाशित: २० जेष्ठ २०७७ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App