१५ चैत्र २०८० बिहीबार
खेल

वैकल्पिक ६ फुटबल मैदान तयार

पोखरा र आसपासमा ६ वटा फुटबल मैदान निर्माण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न चरणमा गरी फुटबल मैदान बनाउन बजेट उपलब्ध गराउँदै आएको छ ।

एक अर्ब २८ करोडको लागतमा पोखरा फुटबल मैदान एवं प्यारापिटबाहेक परिषद्ले ६ वटा वैकल्पिक फुटबल मैदान बनाएको हो । तीन वर्षयता राष्ट्रिय खेलकुद परिषद्ले फुटबल मैदानको पूर्वाधार बनाउन झन्डै पाँच करोड रुपैयाँ खर्चिएको छ ।

परिषद्ले पोखरा रंगशालाभित्र वैकल्पिक(प्रशिक्षण) फुटबल मैदान निर्माण गरेको छ । त्यो फुटबल मैदान निर्माण गर्न दुईवटा निर्माण समिति गठन गरिएको थियो । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताकै समयमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्षको नेतृत्वमा समिति गठन गरी निर्माणको जिम्मेवारी दिइएको थियो । निर्माण सुरु भयो, तर बीचैमा अलपत्र पर्यो । त्यसपछि परिषद् आफैंले निर्माण गर्यो । निर्माण गरिएको मैदानमा गोलपोस्ट राख्ने काम बाँकी छ ।

रंगशालाभित्रको वैकल्पिक फुटबल मैदान बनाउन पहिलो पटक ३० लाख रुपैयाँ खर्च गरिएको थियो । दोस्रो चरणमा ३५ लाख रुपैयाँमा सम्झौता गर्दै काम फत्ते गरियो । ‘६५ लाख रुपैयाँको लागतमा मैदान बनाइयो,’  खेलकुद विकास समितिका पदाधिकारी सुनाउँछन् । परिषद्कै लगानीमा पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदान निर्माण गरेको छ । त्यसलाई पनि वैकल्पिक फुटबल मैदानको रूपमा विकास गरिएको छ ।

भिआइपी प्यारापिटसहितको चेन्जिङ रुम केही दिनअघि मात्रै ढलान गरिएको छ । दर्शकका लागि प्यारापिटसमेत बनाइएको छ । परिषदल त्यस मैदानको लागि २ करोड ८० लाख रुपैयाँ खर्चिएको क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक(ई.) प्रनिस ताम्राकारले सुनाए । ‘तीन वर्षअघि काम सुरु गरिएको थियो । अहिले मैदानले पूर्णता पाउँदै छ,’ गोस्ते खेलमैदान निर्माण समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताकै दौरानमा महिला फुटबलका लागि वैकल्पिक फुटबल मैदानको रूपमा पोखरा–२५ हेम्जास्थित गौरीशंकर खेलमैदानको स्तरोन्नति गरिएको छ । मापदण्डअनुसार स्तरोन्नति गरिएको छ । मैदानको चारैतिर नाली निर्माण गरी तारजाली (फेन्सिङ) लगाइएको छ । परिषद्ले गौरीशंकर खेलमैदानका लागि १ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ ।

‘मैदानको निर्माण अन्तिम चरणमा थियौं । कोभिड–१९ कोरोना भाइरसकै कारण लगाइएको लकडाउन (घरबन्दी)ले काम रोकियो,’ गौरीशंकर खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुँवरले भने, ‘प्यारापिट बनाइसकिएको छ । भिआइपी र चेन्जिङ रुम एवं शौचालयलाई फिनिसिङ टच दिन बाँकी छ ।’ पोखराकै पुरानो टुँडिखेललाई संरक्षण गर्दै फुटबल मैदानका रूपमा विकास गर्ने लक्ष्य र उद्देश्यसहित गत वर्ष १५ लाख रुपैयाँ खर्चिएर मैदान संरक्षणको काम गरिएको छ । टुँडिखेलमा स्थानीय बगरभाइ खलकले नियमित रूपमा भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता गर्दै आएको छ ।

सहरमा मात्रै केन्द्रित नभई परिषद्ले एक स्थानीय तह एक खेलमैदानको नीतिअनुसार अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरीमा स्थानीय माछापुच्छ«े माविको खेल मैदानलाई स्तरोन्नति गरेको छ । युवा तथा खेलकुद मन्त्रालयमार्फत सीधै गाउँपालिकाको खातामा यसै वर्ष ५० लाख रुपैयाँ पठाइदिएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा समेत फुटबल मैदान बनाउने लक्ष्य र योजनासहित ६५ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ । गत वर्ष १५ लाख रुपैयाँबाट काम सुरु गरिएको मेश्रम बराह माविको मैदानलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

एक अर्ब २८ करोडको लागतमा पोखरा फुटबल मैदान एवं प्यारापिटबाहेक राष्ट्रिय खेलकुद परिषद्ले ६ वटा वैकल्पिक फुटबल मैदान बनाएको छ । तीन वर्षयता राष्ट्रिय खेलकुद परिषद्ले फुटबल मैदानको पूर्वाधार बनाउन झन्डै पाँच करोड रुपैयाँ खर्चिएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App