१५ चैत्र २०८० बिहीबार
खेल

लिभरपुललाई सुरक्षा दिन स्थानीय पुलिस तयार

उपाधि होडमा रहेको प्रिमियर लिगको क्लब लिभरपुललाई स्थानीय पुलिसले सहयोग गर्न तयार भएको शुक्रबार प्रतिक्रिया दिएको छ । उपाधिको छिनोफानोका लागि एन्फिल्डमा हुने खेलमा सुरक्षा दिन तयार भएको प्रतिक्रिया दिएको हो ।

दक्षिण योर्कसायर पुलिस स्टेसनका सहायक प्रमुख मार्क रोबर्ट्सले शुक्रबार लिभरपुलले उपाधि उचाल्ने कुनै दिन पनि सुरक्षा दिन तत्पर रहेको बताएका हुन् । गत मार्चबाट स्थगित भएको प्रिमियर लिग आगामी जुन १७ बाट आयोजना सुचारु हुँदै छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण विश्वका खेलकुद गतिविधि स्थगित हुँदा प्रिमियर लिग पनि त्यसको चपेटामा परेको थियो ।

शीर्ष स्थानको लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा फराकिलो अन्तरले पछि छ । साबिकको च्याम्पियन म्यानचेस्टर सिटी २५ अंकले पछि छ । आगामी दिनमा प्रिमियर लिगका खेल न्युट्रल भेन्युमा खेलाउने सम्भावना रहेको सहायक प्रमुख रोबटर््सले संकेत दिए ।

‘सुचारु हुन लागेको प्रिमियर लिगमा आवश्यक सुरक्षा व्यवस्था मिलाउनका लागि पुलिस तयार रहेको छ,’ शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिभरपुलले उपाधि उचाल्ने क्रममा सम्भावित घटना र भीडभाड नियन्त्रण गर्न पुलिस जुनकुनै सुरक्षा व्यवस्था मिलाउन तयार छ ।’

‘क्लब र समर्थकसँग हाम्रो राम्रो सम्बन्ध छ । लिग सुचारु गर्दै खेलकुद गतिविधि फर्काउने हाम्रो लक्ष्य हो,’ पुलिस प्रमुखले थपे, ‘यस्तै म्यानचेस्टर सिटीले न्यु क्यासल र लिभरपुल भ्रमण गर्दा सेन्ट जेम्स पार्क पनि जोखिममा छ । तर त्यस्तो जोखिम म्यानचेस्टर सिटीको पुलिसले लिनुपर्छ । तर लिभरपुलको उपाधिबारे अहिलेसम्म कुनै निर्णय आएको छैन । यसबारेमा जुन ४ मा बस्ने बैठकमा छलफल हुनुपर्छ । सुचारु हुने पूर्वसन्ध्याको बैठकले यसबारेमा निर्णय लिने हामीले विश्वास लिएका छौं ।’

प्रिमियर लिगको आयोजकले स्थगित भएको लिगलाई सुचारु गरी पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताएको छ । लिगका ९२ खेल बाँकी हुँदा लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा साबिकको च्याम्पियन सिटी २५ अंकले पछि छ ।

युरोपका शीर्ष चार लिग खेल सुचारु गर्दै सिजन पूरा गर्ने लक्ष्यमा जुटेका छन् । जर्मन बुन्डेसलिगाका खेल सुचारु भइरहेका छन् भने ला लिगा आगामी जुन ११, सिरी ‘ए’ जुन १८ बाट सुचारु हुनेछन् ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App