१६ चैत्र २०८० शुक्रबार
खेल

सेभिया डर्बीबाट ला लिगा सुरु हुने

ला लिगाका प्रमुख जेभियर टेबासले यस सिजन आगामी जुन ११ देखि हुने बताएका छन् ।  

उनले जुन ११ देखि १९ सम्म हरेक दिन प्रतियोगिता सञ्चालन हुने बताएका हुन् । सिजन सुचारु हुँदा पहिलो खेल सेभिया डर्बीबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको ला लिगाले जनाएको छ । गत सोमबार टेबासले बन्द रंगशालाबीच रियल बेटिस र सेभियाबीचको प्रतिस्पर्धाबाट सिजन सुचारु हुने सम्भावना रहेको बताएका थिए । ‘हामी लिग सञ्चालनमा ल्याउन तयारी गरिरहेको छौं । त्यसमा पनि सबैभन्दा महŒवपूर्ण कुरा हामी सिजन पूरा गर्छौं,’ टेबासले भनेका थिए ।

कोरोना भाइरसको महामारी पैmलिएपछि गत मार्च १२ देखि ला लिगाको खेल प्रभावित भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनको पहिलो र दोस्रो डिभिजनका कुल ४२ क्लबसँगको छलफलपश्चात् ला लिगाले सिजन ११ जुनदेखि सुरु गर्ने दाबी गरेको छ ।  

गत हप्ताको शनिबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले घरेलु फुटबलका शीर्ष दुई डिभिजन क्लबलाई जुन ८ देखि सिजन सञ्चालन गर्न अनुमति दिएका थिए । ला लिगाका क्लबले गत हप्तादेखि एक समूहमा १० भन्दा बढी खेलाडी राखेर सामूहिक प्रशिक्षणसमेत सुरु गरिसकेका छन् । यस सिजन ११ खेल खेल्न बाँकी छँदा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले रियाल मड्रिडविरुद्ध दुई अंकको अग्रता बनाइसकेको छ ।  

टेबासले समर्थकहरूलाई अलग अनुभवको विकल्पका लागि अडियो भिजुअल (दृश्य श्रव्य)को परीक्षण भइरहेको बताएका छन् । समर्थकले घरमा बसेर दुई विकल्प शान्त या समर्थकको आवाजसहितको प्रत्यक्ष प्रसारण हेर्न सक्ने टेबासले उल्लेख गरे । टेबासले कोरोनाका कारण प्रभावित भएको लिग तीन महिनापछि नै सञ्चालन हुन सके आगामी सिजन सेप्टेम्बर १२ देखि सुरु हुने विश्वास व्यक्त गरे । सरकारले गत हप्ता लिग सुचारु गर्न अनुमति दिएसँगै ला लिगाले जुलाई १९ भित्र यस सिजन समाप्त गर्ने योजना बनाएको छ ।

११ जुनमा खेल सुरु भए ला लिगाका बाँकी  ११ राउन्डका १ सय १० खेल ३९ दिनमा सम्पन्न हुनेछन् । अध्यक्ष जेभियर टेबासले हरेक दिनको विश्रामपछि खेल हुने जानकारी गराएका छन् । स्पेनिस फुटबल महासंघ र ला लिगाबीच सिजनको बाँकी खेलको तालिकामा सहमति जुटेको छ । सबै खेल दर्शकबिना सञ्चालन गर्ने भनिए पनि खेलतालिका भने सार्वजनिक भएको छैन ।  

‘सबैभन्दा महŒवपूर्ण पक्ष हामी सिजन पूरा गर्दै छौं । जब खेल सञ्चालनमा आउनेछन्, त्यसपछि हामी एकअर्कालाई बधाई दिन दिनेछौं,’ शुक्रबार टेबासले भने, ‘भगवान् इच्छुक भएमा सेप्टेम्बर १२ मा सिजन सुरु हुनेछ । आशा छ, हामीले निकै कठिन समय पार गरिसक्यौं भन्न सक्छौं । अब हामी सकेसम्म राम्रो तयारीका साथ आउँछौं ।’ टेबासले महामारीका कारण लिग स्थगित भएसँगै सिजन फर्काउने योजना बनाइरहेका थिए ।  

यदि ११ चरणका खेल पूरा गरिएन भने क्लबहरूले करिब १.११ बिलियन युरो क्षति बेहोर्ने उनले चेतावनी दिँदै आएका थिए । ला लिगामा २७ चरणको खेल सम्पन्न हुँदा बार्सिलोना ५८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । रियाल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ । मालोर्का, लेगानेस र इस्पानियोल रेलिगेसन जोनमा छन् । प्रिमियर लिगले पनि आगामी जुन १७ देखि ९२ खेलको तालिका सञ्चालनमा आउने बताइसकेको छ । 

प्रकाशित: १७ जेष्ठ २०७७ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App