१५ चैत्र २०८० बिहीबार
खेल

कोरोनाले विश्व ब्याडमिन्टन च्याम्पियनसिप प्रभावित

आगामी सेप्टेम्बरमा आयोजना हुने ब्याडमिन्टन विश्व जुनियर च्याम्पियनसिप कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको छ ।

ब्याडमिन्टन विश्व फेडेरेसन (बिडब्लुएफ)ले शुक्रबार कोरोना भाइरसका कारण अकल्यान्डमा हुने विश्व च्याम्पियनसिप आगामी वर्षको जनवरीमा सार्ने निर्णय गरेको हो । पछिल्लो महामारीपश्चात् युरोपमा व्यावसायिक खेल फर्काउने तयारी भइरहे पनि विश्व ब्याडमिन्टनले भने आफ्नो अन्तर्राष्ट्रिय खेलतालिका परिवर्तन गरेको छ । बिडब्लुएफले अब जुनियर विश्व च्याम्पियनसिप  जनवरी १८ देखि २४ सम्म हुने जनाएको छ । त्यस्तै अर्को प्रतिस्पर्धा विश्व जुनियर ब्याडमिन्टन मिक्स टिम च्याम्पियनसिप पनि जनवरी ११ देखि १६ सम्म सञ्चालन हुनेछ ।

‘हामीले यसै वर्ष न्युजिल्यान्डको अकल्यान्डमा हुने जुनियर विश्व च्याम्पियनसिपका लागि नयाँ मिति तय गरिसकेका छौं । साथै यसअघि नै दर्ता भएका खेलाडीले उमेर बढे पनि उक्त च्याम्पियनसिप खेल्न पाउँछन्,’ बिडब्लुएफले आफ्नो विज्ञप्तिमार्पmत भनेको छ । त्यस्तै फेडेरेसनले अकल्यान्डमा सफलतापूर्वक खेल सञ्चालनका लागि न्युजिल्यान्ड र आयोजक टोलीलाई साथ दिन नयाँ कार्यतालिका प्रस्तुत गरेको जनाएको छ । ‘उत्तम उपाय भनेको नै वर्तमान परिस्थितिलाई बुझ्न आवश्यक थियो । विश्वभर धेरै मानवीय क्षति भइरहेको अवस्थामा खेल सञ्चालन गर्न आवश्यक ठानेनौं,’ बिडब्लुएफका महासचिव थोमस लुन्डले भने ।

‘हामीले धेरै विचार गरेर नै कोभिड–१९ बाट जोगिन यात्रा नगर्ने निर्णय गरेका हौं र यो उत्तम निर्णय हुन्छ,’ उनले भने, ‘हामी न्युजिल्यान्ड ब्याडमिन्टनसँग मिलेर अकल्यान्डमा यस प्रतियोगिताको भव्य सञ्चालनका लागि कामहरू पनि अगाडि बढाउनेछौं ।’ न्युजिल्यान्ड ब्याडमिन्टनका कार्यकारी प्रमुख जोए हिचकोकले प्रतियोगिता सम्पन्न भएपछि मात्र समर्थक र खेलाडीका लागि अविस्मरणीय क्षण हुने विश्वास व्यक्त गरेका छन् ।  

‘विश्वभर भइरहेको अवस्थाबारे पनि हामीले सोच्नुपर्ने थियो । त्यसैले हामीले सरोकारवालासँगको छलफलपश्चात् नै यो निर्णय ग¥यौं,’ हिचकोकले भने, ‘न्युजिल्यान्ड सरकारको नियम पालना र अन्तर्राष्ट्रिय बोर्डरमा भएको नियन्त्रणका कारण हामी नयाँ कार्यतालिकामा पुग्यौं ।’ बिडब्लुएफले यस वर्ष हुने केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र टोकियो ओलम्पिकको छनोट चरण आगामी वर्ष हुने घोषणा गरिसकेको छ । 

प्रकाशित: १७ जेष्ठ २०७७ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App