१६ चैत्र २०८० शुक्रबार
खेल

प्रिमियर लिग जुन १७ बाट

विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित इङ्लिस प्रिमियर लिग जुन १७ बाट पुनः सुचारु हुने भएको छ । जसअन्तर्गत पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछन् ।

प्रिमियर लिगमा ९२ खेल बाँकी रहेका छन् र लिग सुचारु भए ती सबै खेल बन्द रंगशालामा खेलाइनेछ । प्रिमियर लिगले सबै क्लबको सहमतिमा जुलाई २५ सम्म लिग समापन भइसक्ने गरी तालिका सार्वजनिक गर्ने बताइएको छ । यद्यपि सरकारले खेलकुद गतिविधि सञ्चालनका लागि केकस्तो निर्देशिका जारी गर्छ, त्यो भने हेर्न बाँकी नै छ । गत साता ससाना समूहमा अभ्यासका लागि अनुमति दिएको बेलायत सरकारले यसै साता एक साथ अभ्यास गर्न अनुमति दिएको थियो । सरकारको ग्रिन सिग्नल पाएसँगै प्रिमियर लिगले खेलतालिका सार्वजनिक गरेको हो ।

लिभरपुल २५ अंकको स्पष्ट अग्रताका साथ लिगको शीर्ष स्थानमा छ भने बर्नमाउथ, एस्टन भिल्ला र नर्बिच सिटी रेलिगेसन क्षेत्रमा छन् । दोस्रो स्थानको सिटीले लिगको पहिलो खेलमा आर्सनललाई नतिजा सुम्पिएमा र पहिलो खेलमा सुखद नतिजा ल्याएमा लिभरपुलको ३० वर्षपछि प्रिमियर लिग उपाधि जित्ने सपना पूरा हुनेछ ।

‘प्रिमियर लिग र क्लबहरू सबै समर्थकमा उनीहरूको धैर्यताका लागि विशेष धन्यवाद दिन चाहन्छौं,’ प्रिमियर लिगका निर्देशक रिचार्ड माास्टर्सले भने, ‘हामी अहिलेको कठिन अवस्थामा दर्शकलाई मैदानमा ल्याएर खेल देखाउन सक्दैनौं, तर हामी सबैलाई सम्भव भएसम्म घरमै बसेर फुटबलको आनन्द लिन आग्रह गर्न चाहन्छांै ।’

मास्टर्सले स्वास्थ्यसम्बन्धी निर्देशिका नआइसकेकाले तोकिएको मितिमा केही परिवर्तन आउन सक्ने पनि बताए ।

प्रिमियर लिग पुनः सुचारुकोे मिति घोषणा भएसँगै फुटबल एसोसिएसन (एफए) ले पनि शुक्रबार एफए कपको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलको मिति सार्वजनिक गरेको छ । च्याम्पियन्स लिग र युरोपा लिगको अन्तिम १६ को दोसो लेगका खेलहरू ६ देखि ८ अगस्टमा हुने बताइएको छ । यस सम्बन्धमा जुनमा बस्ने युइएफएको आगामी बैठकले अन्तिम निर्णय लिने बताइएको छ ।

हालसम्म प्रिमियर लिगका खेलाडीमा गरिएको कोरोना परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीको सातामा दुई पटक कोरोना परीक्षण गरिने बताइएको छ । कोरोना संक्रमण देखिएका खेलाडी र क्लब पदाधिकारीलाई एक साताको आइसोलेसनमा बस्न निर्देशन जारी भइसकेको छ ।

प्रकाशित: १७ जेष्ठ २०७७ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App