१६ चैत्र २०८० शुक्रबार
खेल

परिषदको लगानीमा छ वटा बैकल्पिक फुटबल मैदान तयार

पोखरा र आसपासमा छ वटा फुटबल मैदान निर्माण गरिएको छ। राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी फुटबल मैदान बनाउन बजेट उपलब्ध गराउँदै आएको छ।  

एक अर्ब २८ करोडको लागतका पोखरा फुटबल मैदान एवं प्यारापिट बाहेक परिषदले ६ वटा बैकल्पिक फुटबल मैदान बनाएको हो। तीन वर्ष यता राष्ट्रिय खेलकुद परिषदले फुटबल मैदानको पूर्वाधार बनाउन झण्डै पाँच करोड रुपैयाँ खर्चिएको छ।  

परिषदले पोखरा रंगशालाभित्र बैकल्पिक(प्रशिक्षण) फुटबल मैदान निर्माण गरेको छ। त्यो फुटबल मैदान निर्माण गर्न दुईवटा निर्माण समिति गठन गरिएको थियो। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्षको नेतृत्वमा समिति गठन गरी निर्माणको जिम्मेवारी दिइएको थियो। निर्माण शुरुभयो तर बीचैमा अलपत्र पर्यो। त्यसपछि परिषद आफैंले निर्माण गर्यो। निर्माण गरिएको मैदानमा गोलपोष्ट राख्ने काम बाँकी छ।  

रंगशालाभित्रको बैकल्पिक फुटबल मैदान बनाउन पहिलो पटक ३० लाख रुपैयाँ खर्च गरिएको थियो। दोस्रो चरणमा ३५ लाख रुपैयाँमा सम्झौता गरिदैं काम फत्ते गरियो। ‘६५ लाख रुपैयाँको लागतमा मैदान बनाईयो।’  खेलकुद विकास समितिका पदाधिकारी सुनाउँछन्। परिषदकै लगानीमा पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदान निर्माण गरेको छ। त्यसलाई पनि बैकल्पिक फुटबल मैदानको रुपमा विकास गरिएको छ।  

भिआईपी प्यारापिटसहितको चेन्जिङ रुम केही दिन अघि मात्रै ढलान गरिएको छ। दर्शकको लागि प्यारपिट समेत बनाइएको छ। परिषदले त्यस मैदानको लागि २ करोड ८० लाख रुपैयाँ खर्चिएको क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक(ई.) प्रनिस ताम्राकारले सुनाए। ‘तीन वर्ष अघि काम शुरु गरिएको थियो। अहिले मैदानले पूर्णता पाउँदै छ।’ गोस्ते खेलमैदान निर्माण समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले बताए।  

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै दौरानमा महिला फुटबलको लागि बैकल्पिक फुटबल मैदानको रुपमा पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानको स्तरोन्नति गरिएको छ। मापदण्ड अनुसार स्तरोन्नति गरिएको छ। मैदानको चारैतिर नाली निर्माण गरी तारजाली(फेन्सिङ) लगाइएको छ। परिषदले गौरीशंकर खेल मैदानको लागि १ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ।  

‘मैदानको निर्माण अन्तिम चरणमा थियौं। कोभिड–१९ कोरोना भाइरसकै कारण लगाइएको लकडाउन (घरबन्दी)ले काम रोकियो ’ –गौरीशंकर खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुँवरले भने–‘प्यारापिट बनाईसकिएको छ। भीआईपी र चेन्जिङ रुम एवं शौचालयलाई फिनिसिङ टच दिन बाँकी छ।’ पोखराकै पुरानो टुँडिखेललाई संरक्षण गर्दै फुटबल मैदानको रुपमा विकास गर्ने लक्ष्य र उद्देश्यसहित गतवर्ष १५ लाख रुपैयाँ खर्चिएर मैदान संरक्षणको काम गरिएको छ। टुँडिखेलमा स्थानीय बगरभाइ खलकले नियमित रुपमा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता गर्दै आएको छ।  

शहरमा मात्रै केन्द्रीत नभई परिषदले एक स्थानीय तह एक खेल मैदानको नीति अनुसार अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरीमा स्थानीय माछापुच्छ«े माविको खेल मैदानलाई स्तरोन्नति गरिएको छ। परिषदले १२ लाख रुपैयाँ स्तरोन्नति गरिएको थियो। युवा तथा खेलकुद मन्त्रालय मार्फत सिधै गाउँपालिकको खातामा यसै वर्ष ५० लाख रुपैयाँ पठाईदिएको छ। पर्यटकीय गाँउ घान्द्रुकमा समेत फुटबल मैदान बनाउने लक्ष्य र योजनासहित ६५ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ। गतवर्ष १५ लाख रुपैयाँबाट काम शुरु गरिएको मेश्रम बराह माविको मैदानलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App