८ वैशाख २०८१ शनिबार
खेल

अस्ट्रेलियाद्वारा खेलतालिका सार्वजनिक

कोरोना भाइरसका कारण क्रिकेट गतिविधि ठप्प भएको अवस्थामा अस्ट्रेलियाले भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र अफगानिस्तानसँगको खेलतालिका बिहीबार सार्वजनिक गरेको छ । आगामी अक्टोबर र नोभेम्बर महिनामा पुरुष ट्वान्टी–२० विश्वकप आयोजक अस्ट्रेलियाले विश्वभर क्रिकेटको माहोल फर्काउनका लागि भारतलगायतका चार देशसँगको तालिका सार्वजनिक गरेको हो ।

गत मार्च महिनामा अस्ट्रेलियाको महिला टोलीले मेलबर्नमा भएको ट्वान्टी–२० विश्वकपको उपाधि उचाल्न सफल भएको थियो । उक्त प्रतियोगितासँगै विश्व कोरोना महामारीको चपेटामा परेको थियो । क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत केभिन रोबर्ट्सले विभिन्न चार देशसँगको खेलतालिका सार्वजनिक गर्नु चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए ।

‘अहिलेको परिस्थिति निकै कठिन रहेको छ । महामारी नियन्त्रणमा नभएको अवस्थामा पनि तालिका सार्वजनिक गर्नु चुनौतीपूर्ण र क्रिकेट फर्काउने प्रयास भएको छ,’ प्रमुख कार्यकारी अधिकृत रोबर्ट्सले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

सार्वजनिक तालिकाअनुसार क्रिकेट अस्ट्रेलियाले अफगानिस्तान र भारतसँग खेल्ने टेस्ट सिरिजका लागि खेलतालिका सार्वजनिक गरेको छ । भारतले अस्ट्रेलियासँगको चार टेस्ट सिरिज डिसेम्बर ३ देखि जनवरी ७ सम्म चल्नेछ । भारतले अस्ट्रेलियामा पछिल्लो पटक २०१८–१९ मा चार टेस्ट सिरिज खेलेको थियो । दक्षिण अफ्रिकासँगको बल टेम्परिङ घटनाका कारण प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ र डेविड वार्नरविना अस्ट्रेलियाले चार टेस्ट सिरिज २–१ ले गुमाउनुपरेको थियो ।

यस्तै अफगानिस्तानले अस्ट्रेलियासँग एक मात्र टेस्ट खेल खेल्नेछ । भारत र अस्ट्रेलियाबीच चार टेस्ट बोर्डर–गावस्कर सिरिज हुनेछ । पहिलो पटक अफगानिस्तानले अस्ट्रेलियासँग टेस्ट खेल्न लागेको हो । अफगानिस्तान र अस्ट्रेलियाबीचको एक मात्र डे–नाइट टेस्ट नोभेम्बर २१ देखि २५ सम्म पर्थको रंगशालामा हुने तय भएको छ ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App