७ वैशाख २०८१ शुक्रबार
खेल

बर्नमाउथका गोलकिपरलाई कोरोना

गत साता मंगलबार इङ्लिस प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणपछि ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भए पनि ती संक्रमित खेलाडी को थिए भन्ने बताइएको थिएन ।

यसै क्रममा बर्नमाउथका गोलकिपर एरोन राम्सडालेले आफूमा कोरोना संक्रमण भएको खुलासा गरेका छन् । आइतबार  खेलाडी र क्लब पदाधिकारी गरी कुल ९ सय ९६ जनाको दोस्रो चरणको कोरोना परीक्षण गरिएकोमा दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । पहिलो चरणको परीक्षणमा भने राम्सडालेको नेगेटिभ आएको थियो ।

‘म आफैं अचम्मित भएको छु,’ २२ वर्षे राम्सडालेले भने, ‘मैले सरकारी निर्देशन पालना गरेको थिएँ । पहिलो चरणको परीक्षण नेगेटिभ आएपछि म सपिङ गएको थिएँ । सायद त्यहींबाट म संक्रमित भएको हुनुपर्छ ।’ संक्रमित ८ जनालाई नै एक साताका लागि सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइसकिएको छ ।

पहिलो चरणको कोरोना परीक्षणमा वाट्फोर्डका रक्षक एड्रियान मारियाप्पे र बर्नलीका सहायक प्रशिक्षक इयान वोनमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

प्रिमियर लिगले गत साता मंगलबारबाट खेलाडीहरूलाई ससानो समूहमा अभ्यासका लागि अनुमति दिइसकेको छ । प्रिमियर लिगले खेलाडीहरूको नियमित रूपमा कोरोना परीक्षण गरिने बताएको छ । जसअन्तर्गत तेस्रो चरणको परीक्षणको नतिजा बुधबार सार्वजनिक हुने बताइएको छ । प्रिमियर लिगले जुन दोस्रो साताबाट लिग पुनः सुचारु गर्ने गरी तयारी गरिरहेको छ ।

प्रकाशित: १४ जेष्ठ २०७७ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App