६ वैशाख २०८१ बिहीबार
खेल

तत्कालै व्यावसायिक टेनिस फर्कंदैन : फेडेरर

स्विस टेनिस स्टार रोजर फेडेररले कोरोना भाइरसको महामारीका कारण व्यावसायिक रूपमा टेनिस फर्काउन धेरै समय लाग्ने बताएका छन् । फेडेररले टेनिस प्रतियोगिता भइहाले पनि ती सबै प्रतियोगिता दर्शकबिना बन्द कोर्र्टमा हुने भएकाले समर्थकका लागि त्यो क्षण कठिन हुने पनि बताएका छन् ।

जर्मनीले गत साताबाट बन्द रंगशालामा समाजिक दूरीको निर्देशनसहित बुन्डेसलिगा सुरु गरिसकेको छ । त्यस्तै स्पेनिस ला लिगा पनि अर्को महिनाबाट पुनः सुचारु हुने तयारीमा छ भने प्रिमियर लिगले पनि अर्को महिना लिग सुचारु गर्ने गरी अभ्यासका लागि अनुमति दिइसकेको छ । विश्व टेनिसका पदाधिकारीहरूले भने यसअघि नेै जुलाईसम्म कुनै पनि टेनिस प्रतियोगिता नहुने बताइसकेका छन् ।

मार्चदेखि कोरोना महामारीका रूपमा फैलिएसँगै विश्वभर सबैखाले प्रतियोगिताहरूमा रोक लगाइएको थियो । फेडेरर पनि मार्चबाटै घुँडाको शल्यक्रियाका कारण कोर्टबाट बाहिर रहँदै आएका छन् ।

कोरोना भाइरसका कारण प्रतियोगिताहरू रद्द नभएको भए विश्व टेनिसको क्यालेन्डरअनुसार यसै साताको आइतबारबाट फेन्च ओपनको तालिका थियो । तर सो प्रतियोगिता सेप्टेम्बरसम्मका लागि सारिएको छ । त्यस्तै जुलाईका लागि तय भएका अन्य ग्रान्ड स्लाम पनि तत्कालका लागि रद्द भइसकेका छन् ।

‘मैले अहिले अभ्यास गरिरहेको छैन किनभने त्यसको अहिले कुनै औचित्य नै छैन,’ फेडेररले भने, ‘म अहिले घरमै छु र परिवारसँग रमाइरहेको छु । मेरो शरीर पनि फिट छ । तत्काल कुनै प्रतियोगिता हुने सम्भावना पनि छैन । अहिले विश्रामको समयलाई मानसिक रूपमा समेत फिट हुनका लागि लिनुपर्छ ।’

‘अभ्यासमा फर्कन निर्देशन आएको खण्डमा त्यो सबै खेलाडीका लागि ऊर्र्जासमेत बन्न सक्छ,’ ३८ वर्षे फेडेररले भने । फेडेररले दर्शक सधैं आफ्ना लागि ऊर्जा रहेकाले उनीहरूबिना कोर्टमा फर्कने कल्पनासमेत नगरेको बताए ।

‘जब हामी अभ्यास गर्छाैं,तब हामीलाई हेर्ने कोही हुँदैन,’ पुरुष टेनिसतर्फ कीर्तिमानी २० पटकका ग्रान्ड स्लाम विजेता फेडेररले भने, ‘कोर्टमा फर्किहाले पनि समर्थकबिना टेनिस खेल्न हामीलाई कठिन पक्कै हुनेछ । आशा छ हामी छिट्टै स्वाभाविक दैनिकीमा फर्कनेछाैं ।’

अर्को ग्रान्ड स्लाम प्रतियोगिताको रूपमा रहेको युएस ओपन अगस्टमा न्युयोर्कमा हुने बताइए पनि जुनमा मात्र आयोजकहरूले सो प्रतियोगिताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७७ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App