८ वैशाख २०८१ शनिबार
खेल

एलेक्सलाई राष्ट्रिय टोलीमा देख्ने चाहना

इङ्ल्यान्ड क्रिकेट टोलीका तीव्र गतिका बलर क्रिस ओक्सले ब्याट्सम्यान एलेक्स हेल्स राष्ट्रिय टोलीमा फर्किएको हेर्न चाहेको बताएका छन् । गत वर्ष इङ्ल्यान्डमै भएको एकदिवसीय विश्वकपअघि खेलभावनाविपरीत कार्य गरेको भन्दै टोलीबाट हटाइएपछि हेल्स राष्ट्रिय टोलीबाहिर रहँदै आएका छन् ।

‘आशा छ हेल्स अब सुध्रिएर आउनेछन्,’ ओक्सले भने, ‘उनी राष्टिय टोलीमा फर्कन चाहेमा सबै उनलाई स्वागत गर्न आतुर छन् ।’

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइसरका कारण इङ्ल्यान्डमा पनि क्रिकेट गतिविधि शून्य छ । क्रिकेट गतिविधि सुचारु गर्ने उद्देश्यका साथ इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) ले गत साताबाट विभिन्न चरणको अभ्यासको योजना सार्वजनिक गरेको थियो । इसिबीले टेस्ट र सीमित ओभरको खेललाई लक्षित गर्दै सम्झौतामा रहेका ३० खेलाडीलाई अभ्यासका लागि बोलाएको थियो । यसै साता दोस्रो चरणको खेलाडी छनोट घोषणा गर्नेछ । पहिलो चरणअन्तर्गत बलरहरूलाई मात्र अभ्यासमा फर्कन निर्देशन दिइएको थियो ।

कोरोना भाइरसका कारण निर्धारित शृंखला रोकिएपछि इसिबीले टेस्ट र सीमित ओभरको खेलका लागि छुट्टाछुट्टै टोलीको घोषणा गर्ने तयारी गरिरहेको छ । त्यस कारण ३० वर्षे हेल्स पनि राष्ट्रिय टोलीमा फर्कने प्रबल सम्भावना छ । हेल्सले इङ्ल्यान्ड राष्ट्रिय टोलीबाट ७० एकदिवसीय खेल खेलेका छन् ।

हेल्स टोलीबाट बाहिरिएपछि इङ्ल्यान्डका कप्तान इयोन मोर्गानले उचित समयमा उनलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाइने र त्यसका लागि उनले आफ्नो आचरणमा सुधार ल्याउनुपर्ने बताएका थिए ।

‘हेल्स निकै खराब समयबाट गुज्रिरहेका छन् । घरेलु मैदानमा भएको विश्वकपमा उनी राष्ट्रिय टोलीबाट बाहिरिए, त्यहाँ टोली अन्ततः च्याम्पियन बन्न सफल भयो,’ ओक्सले भने, ‘उनले आफ्नो गल्ती स्वीकार गरेका छन् । कुनै खेलाडीले आफ्नो आचरण सुधार गर्दै टोलीमा फर्कन चाहन्छ भने उसलाई दोस्रो अवसर दिनुपर्छ ।’

‘एलेक्स विश्वस्तरीय खेलाडी हुन्,’ ओक्सले थपे, ‘मलाई अब के हुन्छ त थाहा छैन तर म उनी राष्ट्रिय टोलीमा फर्किंदा खुसी हुनेछु ।’

ओक्स पनि बिहीबारबाट घरेलु मैदान इड्गावास्टनमा अभ्यासमा फर्किसकेका छन् । त्यसका लागि सबै खेलाडीलाई नियमित स्वास्थ्य परीक्षण गराउनुका साथै सामाजिक दूरी कायम गर्न समेत निर्देशन दिइएको छ । एक पटकमा ६ बलरले अभ्यास गर्न पाउने बताइएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App