७ वैशाख २०८१ शुक्रबार
खेल

जुन ११ देखि ला लिगा : टेबास

स्पेनिस फुटबल लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले यस सिजन आगामी जुन ११ देखि पुनः सुरुआत गर्ने विश्वास व्यक्त गरेका छन् ।

टेबासले आगामी जुन ११ मा सेभिया डर्बीबाट सिजन सुचारु हुने विश्वास व्यक्त गरेका हुन् । स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले गत शनिबार ला लिगालाई बन्द रंगशालाबीच जुन ८ देखि खेल्न अनुमति दिएपछि सिजन सुचारु हुने देखिएको थियो । गत मार्चदेखि रोकिएको सिजन फर्काउन ला लिगाले पनि लामो समयदेखि तयारी गरिरहेको छ । यसअघिको रिपोर्टअनुसार आगामी जुन १२ देखि सुरु हुने बताइएको थियो, जुन कोरोनाका कारण प्रभावित लिग तीन महिना पछि सुरु हुनेछ ।  

सेभियाले छिमेकी प्रतिद्वन्द्वी रियल बेटिसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । ला लिगाका अध्यक्ष टेबासले पनि डर्बी प्रतिद्वन्द्वीबीच सिजन सुरुआत गर्ने बताएका छन् । उनले आइतबार केही दिनमै सिजन सुरुआत गर्ने दोहोर्याए । उनका अनुसार अन्डालुसियाको राजधानीमा स्थानीय समयअनसार राति १० बजे खेल सुरु हुनेछ ।

‘आगामी जुन ११ मा एक खेल हुने सम्भावना छ, जुन कोरोनाका कारण मृत्यु हुने मानिसप्रति श्रद्धाञ्जलि पनि हुनेछ,’ टेबासले भने, ‘आशा छ, त्यही दिन नै खेल हुने पक्कापक्की होस् । सोही दिन राति १० बजे सेभिया डर्बीबीच प्रतिस्पर्धा हुने आशा राखेका छौं ।’

टेबासले आगामी पहिलो सप्ताहका पहिलो चार खेलको मिति पनि छिट्टै तय गर्ने योजना रहेको बताए । ‘छिट्टै चारको मिति पनि पुष्टि गर्ने योजनामा छौं । हामी कहाँ खेल खेल्छौं त्यसले पनि हाम्रो खेल संख्या निर्धारण गर्नेछ,’ टेबासले भने, ‘खेलहरू केही ढिला हुनेछन् । एक हप्तामा तीन समूहमा खेल गर्ने लक्ष्य राखेका छौं ।’  

उनले मिडियालाई प्रवेश दिने या नदिने भन्ने विषय केही कठिन भएको उल्लेख गर्दै सबैलाई मैदान प्रवेश गराउन सम्भव नहुने उल्लेख गरे । ‘हामी नियमित रूपमा तयारी अगाडि बढाइरहेका छौं । हाम्रो चाहना सबै जना सुरक्षित रहून् भन्ने हो । त्यसैले केही मापदण्ड निर्धारण गर्नेछौं,’ टेबासले जोड दिए ।

उनले सबै योजना सार्वजनिक गरे पनि सिजन सुरु हुने मितिबारे पुष्टि गर्न अझै समय लाग्ने दोहोर्याए । कोरोना संक्रमितबाट धेरै मानवीय क्षति बेहोरेको दोस्रो युरोपियन राष्ट्र स्पेन हो । तर पछिल्ला समय कोरोना संक्रमण नियन्त्रणमा आएसँगै स्पेनमा गतिविधि बढ्न थालेको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App