७ वैशाख २०८१ शुक्रबार
खेल

वेर्नेरको ह्याट्रिकमा लिपजिगलाई सफलता

टिमो वेर्नेरको ह्याट्रिकपे्ररित आरबी लिपगिजले बुन्डेसलिगामा आइतबार मेइन्जमाथि सहज जित हात पारेको छ । बुन्डेसलिगा पुनः सचारु भएपछि  वेर्नेरले गरेको यो नै पहिलो गोल हो । कोरोना भाइरस संक्रमणको महामारीपछि दुई महिना रोकिएको बुन्डेससलिगा गत साताबाट पुन : सुचारु भएको थियो । २४ वर्षे जर्मन स्ट्राइकर वेर्नेरले जारी सिजन आफ्नो गोलसंख्या ३० पुर्याएका छन् । 

बुन्डेसलिगाको तेस्रो स्थानमा उक्लिएको लिपजिगले मेइन्जमाथि ५–० को सानदार जित हात पारेको हो । साबिक विजेता बायर्न म्युनिख २७ खेलमा ६१ अंकका साथ शीर्ष स्थानमा छ भने बोरुसिया डर्टमन्ड समान खेलमा ५७ अंकका साथ दोस्रो स्थानमा छ । लिपजिग ५४ अंकका साथ लिगको तेस्रो स्थानमा उक्लिएको हो ।

११औं मिनेटमा वेर्नेरले लिपजिगको खाता खोलेका थिए । त्यसको १२ मिनेटपछि पाउलसेनले लिपजिगको अग्रता दोब्बर पारेका थिए । ३६औं मिनेटमा साट्बिजरले लिपजिगको अग्रता थप बढाएका थिए । पहिलो हाफमा ३–० को अग्रता लिएको लिपजिगले दोस्रो हाफमा थप दुई गोल गर्दै सानदार जित पक्का गरेको हो । ४८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल पूरा गरेका वेर्नेरले ७५औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए ।

यसअघि नोभेम्बरमा पनि वेर्नेरले ह्याट्रिक पूरा गर्नुका साथै तीन गोलमा असिस्ट गर्दा लिपजिगले मेइन्जमाथि ८–० को सानदार जित पक्का गरेको थियो ।

यता आइतबारै भएको अर्को खेलमा औसबर्गलाई ३–० को नतिजा सुम्पिएपछि साल्केका प्रशिक्षक डेभिड वाग्नरमाथि भने बर्खास्तगीको खतरा बढेको छ । साल्के पछिल्लो ९ खेलमा जितविहीन छ र त्यस क्रममा टोलीले मात्र दुई गोल गरेको छ । साल्के २७ खेलमा ३७ अंकका साथ आठौं स्थानमा छ ।

विन्टर ब्रेकपछि जनवरी १७ मा सुखद सुरुआत गर्ने क्रममा साल्केले बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० ले हराएको थियो । त्यस क्रममा साल्के शीर्ष स्थानभन्दा मात्र ४ अंकले पछि लिगको चौथो स्थानमा थियो । त्यसपछिका ९ खेलमा ४ मा बराबरी नतिजा ल्याएको साल्केले ५ खेलमा नतिजा सुम्पिएको छ । टोली शीर्ष स्थानको बायर्नभन्दा २४ अंकले पछि छ भने चौथो स्थानको बायर लेभरकुसेनभन्दा १६ अंकले पछि छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App