coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेइमार फर्काउने प्रयास

स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विक सेन्टिनले ब्राजिलका स्टार नेइमार बार्सिलोना फर्किए आफू खुसी हुने बताएका छन् ।

महँगो मूल्यमा दुई सिजनअघि मात्र स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका नेइमार फर्किने चर्चा चलेसँगै बार्सिलोनाका प्रशिक्षक सेन्टिनले यस्तो प्रतिक्रिया दिएका हुन् । नेइमार पिएसजीमा पुगे पनि उक्त टोलीमा बार्सिलोनामा जस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

यसअघि पनि बार्सिलोना पिएसजी गएका नेइमारलाई फर्काउन विभिन्न चरणमा संवाद गरे पनि असफल भएको थियो । २०१७ मा नेइमार २२ करोड बीस लाख युरोमा पिएसजीमा अनुबन्धित भएका थिए । यस सिजन नेइमार बार्सिलोना फर्किनका लागि धेरै पहल भइरहेको बताइएको छ । कोरोना भाइरसका कारण आझेलमा परेको चर्चा बिस्तारै फुटबल गतिविधि फर्किन थालेसँगै चुलिएको छ ।

‘नेइमारलाई प्रशिक्षण गर्न पाउँदा म निकै खुसी हुनेछु,’ बार्सिलोनाका प्रशिक्षक सेन्टिनले एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई भने, ‘नेइमारलाई बार्सिलोना फर्काउनका लागि विभिन्न चरणमा वार्ता भइरहेका छन् । उनलाई प्रशिक्षण गर्न पाए मेरो जीवनको एक महत्वपूर्ण लक्ष्य पूरा हुनेछ । अहिले लियोनल मेसीलाई प्रशिक्षण गर्न पाउँदा खुसी लागेको छ ।’

यसअघि नेइमार बार्सिलोनामा हुँदा तीन खेलाडी लुइस स्वारेज र लियोनल मेसीबीच राम्रो तालमेल थियो । ‘एमएसएन’ भन्दै चर्चा गर्ने गरिएको थियो । तीन महिनाअघि चोटग्रस्त भएका स्वारेज फर्किने या नफर्किने अनिश्चित भएपछि बार्सिलोना नयाँ काउन्टरको खोजीमा रहेको छ ।

गत जनवरीमा खेल्दै गर्दा दायाँ घुँडामा चोट भोगेका ३३ वर्षीय स्वारेज कोरोनापछि सुचारु हुने स्पेनिस ला लिगामा फर्किने सम्भावना कम रहेको प्रशिक्षक सेन्टिनले बताउँदै आएका छन्  ।

प्रशिक्षक सेन्टिनले स्वारेज खेलमा फर्किन सक्छन् कि सक्दैनन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा शंका व्यक्त गरेका थिए । ‘उनी राम्रो अवस्थामा छैनन् । अहिलेसम्म उनी अभ्यासमा फर्किने संकेत छैन । साथै उनमा मनोबल पनि कम नै रहेको छ,’ प्रशिक्षक सेन्टिनले थपे ।

गत मार्च महिनाबाट कोरोना भाइरसका कारण स्थगित भएको लिग अझै सुचारु हुन सकेको छैन । बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा दुई अंकले अगाडि छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App