८ वैशाख २०८१ शनिबार
खेल

बायर्नको रबाफिलो जित

बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा इन्ट्य्राक्ट फ्य्रान्कफर्टमाथि ५–२ को जित निकाल्दै निकटतम प्रतिद्वन्द्वी डर्टमन्डसँग अग्रता बढाएको छ ।

बन्द रंगशालाबीच शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्नले फ्य्रान्कफर्टमाथि रबाफिलो सफलता निकाल्दै दोस्रो स्थानको डर्टमन्डसँग चार अंकको अग्रता कायमै राखेको हो । एलियान्ज एरिनामा भएको खेलमा लियोन गोरेट्जकाको गोलबाट खाता खोलेको बायर्नले एक समय ३–० ले अग्रता लिएको लियो । यस सिजनका शीर्ष गोलकर्ता रोबर्ट लेवान्डोवस्की र थोमस मुलरले गोल थपेपछि बायर्नले ४६ मिनेटभित्र नै फराकिलो अग्रता बनाए पनि फ्य्रान्कफर्टले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गरेको थियो ।

फ्य्रान्कफर्र्टका डिफेन्डर मार्टिन हिन्टेरिगरले लगातार दुई गोल फर्काएपछि पाहुना टोली बायर्नले दबाब दिने संकेत गरेको थियो । हिन्टेरिगरले भली प्रहार र हेडमार्फत गोल फर्काउँदा ५५औं मिनेटमा फ्य्रान्कफर्र्टले ३–२ ले गोलअन्तर छोट्यायो ।  तर, क्यानेडियन युवा स्टार अल्फोन्सो डेभिसले बायर्नका लागि गोल थप्दै फ्य्रान्कफर्र्टलाई पनि दबाबमा राखे । खराब डिफेन्सको फाइदा उठाउँदै डेभिसले चौथो गोल गरेपछि बायर्नले पाहुना टोलीविरुद्ध बलियो पकड जमाएको थियो ।

खेलको ७४औं मिनेटमा हिन्टेरिगरले आत्मघाती गोल गरेपछि बायर्नले ५–२ को फराकिलो अग्रता लिने अवसर पायो । ७४औं मिनेटमा सर्जी जिनेब्रीको सट प्रहार रोक्ने प्रयासमा हिन्टेरिगरले आफ्नो पोस्टमा गोल गर्न पुगे । हिन्टेरिगरले एक समय खेलमा रोमाञ्चकता प्राप्त गरेको बताए । ‘एक समय निकै राम्रो प्रतिस्पर्धा भइरहेको थियो, तर मेरो आत्मघाति गोल केही असर गर्यो,’ हिन्टेरिगरले भने, ‘दुई गोलले खेललाई पुनः जीवन्त पुर्याएको थियो । तर बायर्नले आफ्नो प्रदर्शनमा धेरै सुधार गरेपछि खेल गुमायौं ।’

बायर्न म्युनिखका मिडफिल्डर गोरेट्ज्काले डर्टमन्डविरुद्धको आगामी खेलमा पनि शतप्रतिशत प्रदर्शन गर्ने बताए । ‘पक्कै पनि हामीले डर्टमन्डविरुद्धको खेल छलफल गर्नुपर्छ,’ गोरेट्ज्काले भने, ‘त्यस खेलमा पनि शतप्रतिशत प्रदर्शन गर्नेछौं ।’ बायर्नले डर्टमन्डको मैदानमा यात्रा गर्नुअघि चार अंकको अग्रता लिएको छ । बायर्न स्टार मुलरले लगातार तीन जितको लक्ष्य राखेको बताए ।

बायर्नले आगामी हप्ता चिर प्रतिद्वन्द्वी डर्टमन्डको यात्रा गर्नेछ । कोरोना महामारीपश्चात् सुरु भएको युरोपियन फुटबलका ठूलो लिगमध्ये एक बुन्डेसलिगाले दोस्रो हप्ताका खेल सञ्चालन भइसकेका छन् । दुई महिनाको लकडाउनपश्चात् दोस्रो हप्ता सञ्चालन भएको बायर्न र फ्य्रान्कफर्र्टबीच खेल हुनुअघि कोरोना महामारीका कारण जर्मनीमा ज्यान गुमाएका ८ हजार २ सय मानिसको सम्झनामा मौन धारणा गरिएको थियो । शनिबार भएका अन्य खेलमा वेर्डरले फ्रेइबर्गलाई १–० ले हराउँदा पेडेरेबर्न र होफेनहेइमले १–१ गोलको बराबरीमा खेले ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App