१६ चैत्र २०८० शुक्रबार
खेल

बजेट छुट्टाइयो तर बनाइएन डिपिआर, क्रिकेट मैदानको काम अघि बढेन

प्रदेश सरकारको योजना अन्तर्राष्ट्रिय क्रिकेट मैदान

बहुउद्देश्यीय रंगशाला, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, हाईअल्टिच्युड खेल मैदान, एक स्थानीय एक खेलमैदान गण्डकी प्रदेशको योजना हो । पहिलो वर्ष योजनाको अघि सारियो । दोस्रो वर्षमा केही बजेट छट्टाइयो । तर खर्च भने हुन सकेन । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने चाहना राखेको प्रदेशले छुट्टाएको बजेट खर्च गर्न नसक्दा योजना अर्को आर्थिक वर्षको लागि धकेलिदैं छ ।  

संघीय सरकारले जग्गा प्राप्तीसहितको परिपत्र गरिदियो । पोखरा–३३ भरतपोखरीमा झण्डै ४ सय रोपनी क्षेत्रफल क्रिकेट मैदान बनाउन गण्डकी प्रदेश सरकारलाई प्राप्त हुन पुग्यो । प्राप्त जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन प्रदेश सरकारले चासो देखाउदै एक करोड रुपैयाँ छुट्टायो । छुट्टाएको रकम अनुसार काम अघि बढाउन कास्की जिल्ला क्रिकेट संघले तदारुकता देखायो । तर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गम्भीरता देखाउनै सकेन । अन्तत यो आर्थिक वर्षमा बजेट फ्रिज हुँदै अर्को वर्षको लागि धकेलिने छ ।  

‘जग्गा प्राप्ती गर्‍यौं । बजेट पनि छुट्टाइएको छ । यद्यपी विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन ढिलाई हुन पुग्यो’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले भने–‘अर्को वर्ष डिपिआर बनाएर काम अघि बढाउने छौं ।’ उनका अनुसार आगामी आर्थिक वर्षमा पूर्वाधारका लागि बजेट छुट्टाइने छ । उनका अनुसार यो आर्थिक वर्षमा केवल ५० लाखका काम गर्ने योजना रहेको उल्लेख गरे । मन्त्रालयले भने यो आर्थिक वर्षको लागि एक करोड रुपैयाँ छुट्टाइको थियो ।  

मन्त्रालयले डिपिआर बनाउन नसक्दा पोखरामा अन्तर्राष्ट्रिय बैकल्पिक क्रिकेट मैदान बनाउने सम्भावना पर धकेलिदैं गएको छ । पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटमा बैकल्पिक क्रिकेट मैदान बनाउने योजना दुई वर्ष अघि बनाउँदै जग्गा प्राप्तीको प्रक्रिया सुरु गरिएको थियो । मैदान बनाउन प्रदेश सरकारले छुट्टाएको बजेट निकासा नहुँदा मैदान बनाउने परिकल्पना क्षीण हुँदै जादा बजेट समेत फ्रिज हुने सम्भावना बढ्दै गएको छ ।  

आर्थिक वर्ष सकिन केवल दुई महिना मात्रै बाँकी रहेको अवस्थामा बजेट निकासा हुनै सकेको छैन । महाशाखा प्रमुख काफ्लेले विभिन्न ६ वटा कन्सल्ट्यान्टले आवश्यक सर्भे गरी आवश्यक पूर्वाधार बनाउन लाग्ने खर्चको विवरण मन्त्रालयमा पेश गर्ने उल्लेख गरे । ‘लकडाउनले ढिलाई हुदैं गएको छ । केही दिनभित्रै कन्सल्ट्यान्टसँग सम्झौता गरेर काम अघि बढाउँछौं ।’ उनको भनाई थियो ।  

मैदानको आवश्यक गुरुयोजना समेत तयार भएको छैन् । तयार गर्ने तर्फ चासो र ध्यान समेत प्रदेश सरकारले दिएको छैन् । कास्की जिल्ला क्रिकेट संघले बजेट निकासाको लागि मात्रै नभई बजेट अनुसारको जे बनाउने हो त्यो अनुसारको लागत इष्टिमेट गर्न आग्रह गर्दै निकासा गर्न आग्रह गर्दै आएको थियो । यद्यपी ठोस सुनुवाई भने सामाजिक विकास मन्त्रालयबाटै हुनै सकेको गुनासो कास्की जिल्ला क्रिकेट संघले गरेको छ । सेती नदीको किनार तर्फ ग्याभिन लगाउनुपर्ने खाँचो छ ।  

‘वर्षदिन अघि बैकल्पिक मैदानको लागि आवश्यक जमिन सर्भे गरेर मन्त्रालयमा बुझाईसकिएको छ । प्रदेश सरकारले पनि पोखरामा बैकल्पिक क्रिकेट मैदान बनाउने योजना अुनसार बजेट छुट्टाएको छ’–कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘तर मन्त्रालयबाट बजेट निकासा गर्न आलटाल हुदाँ काम अगाडि बढ्न सकेको छैन् ।’ उनका अनुसार प्रत्येक पटक मन्त्रालयमा जादाँ शुरुदेखि नै ब्रिफिङ गर्नुपर्ने बाध्यताले थप जटिलता थपिएको छ ।  

प्रदेश सरकारले आफनै लगानीमा क्रिकेट मैदान बनाउने लक्ष्यसहित अघिल्लो वर्ष आफनो रातो किताबमै उल्लेख गरेर बजेट छुट्टाएको थियो । क्रिकेट संघले मैदान सम्याउँदै तारजाली लगाई संरक्षण गर्ने र पीच निर्माण गरी खेल्ने योग्य बनाउने लक्ष्य राखेको थियो । एक करोड बजेटले काम शुरु गरेपछि अन्य क्षेत्रबाट समेत सहयोग मागेर क्रिकेटको पूर्वाधार तयार पार्ने योजना बनाइएपनि प्रदेश सरकारले नै बजेट निकासा नगर्दा भने कार्यान्वयन गर्न ढिलाई हुँदै गएको हो ।  

पोखरा रंगशालाभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान छ । मैदानलाई राष्ट्रिय खेलकुद परिषद मार्फत युवा तथा खेलकुद मन्त्रालयले ३ करोड रुपैयाँ छुट्टाएको छ । बजेट अनुसार आवश्यक पूर्वाधारको लागि परिषदले टेण्डर आह्वान समेत गरिसकेको छ । यद्यपी कोभिड–१९ (कोरोना भाइरस)ले जारी लकडाउनकै कारण म्याद थपिदैं गएको छ । म्याद तेस्रो पटक थपिसकिएको छ ।  

 

प्रकाशित: ११ जेष्ठ २०७७ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App