८ वैशाख २०८१ शनिबार
खेल

जुनमा प्रिमियर लिग सुचारु हुन्छ

इपिएलका कार्यकारी निर्देशक विश्वस्त

इङ्लिस प्रिमियर लिग (इपिएल) का कार्यकारी निर्देशक रिचार्ड मास्टर्सले जुनमा लिग पुनः सुचारु हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन् । प्रिमियर लिगका खेलाडीहरूले मंगलबारबाट अभ्यास सुरु गरिसकेका छन् । यद्यपि लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना टेस्टमा तीन क्लबका ६ जनामा पोजेटिभ नतिजा आएको थियो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण मार्च १३ पछि विश्वभरका अन्य लिगजस्तै प्रिमियर लिग पनि रोकिएको छ । प्रिमियर लिगले जुन १२ मा खेल सुचारु गर्ने गरी तयारी गरिरहेको छ ।  

अहिले फुटबल जगत्मा चहलपहल सुरु भइसकेको छ । ‘हामीले अभ्यासका लागि अनुमति दिइसकेका छौं र यो फुटबल लिग सुचारु गर्नका लागि पहिलो कदम हो,’ मास्टर्सले भने, ‘खेलाडी अभ्यासमा फर्किएको हेर्नु पनि हामी समस्त फुटबलप्रेमीका लागि सकारात्मक पक्ष हो ।’  

मास्टर्सले गत साता जर्मन बुन्डेसलिगा सुरु भएकाले केकसरी अघि बढ्ने भन्नेबारे त्यो निकै लाभदायक भएको बताए । यद्यपि उनले अहिले लिग सुरु हुने वातावरण बन्दै गए पनि अझै पनि बिना कुनै खेल सिजनको अन्त्य हुने सम्भावना रहेको प्रतिक्रिया दिए । यस सिजन लिग सुचारु भए पनि सबै खेल अन्यत्रजस्तै बन्द रंगशालामा हुने बताउँदै अर्को सिजनमा मात्र दर्शकले मैदानमा खेल हेर्न पाउने बताए ।

मास्टर्सले यस सिजन बढुवा र घटुवा दुवै हुने र त्यसका लागि सबै पक्षसँगको छलफलपछि उचित निर्णय लिइने बताए । ‘यो अहिले छलफलकै क्रममा छ,’ उनले भने, ‘सिजन त्यसै अन्त्य भएमा के गर्ने भन्नेबारे निरन्तर सरोकारवाला पक्षसँग संवाद जारी छ ।’

पहिलो चरणअन्तर्गत खेलाडीहरूलाई ससाना समूहमा सामाजिक दूरी कायम गर्दै अभ्यासका लागि अनुमति दिइएको हो । बुधबार इङ्ल्यान्डका सांस्कृतिक सचिव ओलिभर डाउडेनले प्रिमियर लिग पुनः सुचारु हुनुअघिका दुई चरणमध्ये अहिले सामाजिक दूरी कायम गर्दै अभ्यास भइरहेको र आगामी साता सरकारले पूर्ण रूपमा अभ्यासका लागि अनुमति दिने संकेत गरेका थिए ।

मास्टर्सले सरकारको निर्णयपछि मात्र आफूहरूले लिगका बारेमा निर्णय सार्वजनिक गर्ने पनि बताए ।

‘हामीले सकारको निर्देशनपछि वातावरण केही सहज भएको भन्दै पहिलो चरणको अभ्यास सुरु गरेका हाैं,’ उनले भने, ‘त्यसैले आगामी कदम पनि सरकारको निर्णयपछि मात्र लिइनेछ ।’

प्रकाशित: ११ जेष्ठ २०७७ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App