७ वैशाख २०८१ शुक्रबार
खेल

‘ए’ डिभिजन लिग तथ्याङ्क सार्वजनिक

काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तथ्याङ्क राख्ने उद्देश्यले पहिलो पटक टेक्निकल ह्यान्डबुक सार्वजनिक गरेको छ ।

सातदोबोटोस्थित एन्फा कम्लेक्समा आयोजित एक कार्यक्रमबीच गत वर्षको ‘ए’ डिभिजन लिगका तथ्यांकसहित टेक्निकल ह्यान्डबुक सार्वजनिक गरेको हो । उक्त टेक्निकल ह्यान्डबुकलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र लिग समितिका संयोजक विज्ञानराज शर्मालगायतले सार्वजनिक गरेका हुन् । एन्फाले लिग सम्पन्न भएको करिब तीन महिनापश्चात् टेक्निकल ह्यान्डबुक तयार गरेको छ । गत वर्ष सम्पन्न कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो ।

एन्फा उपाध्यक्ष एवम् प्राविधिक समितिका सदस्य उपेन्द्रमान सिंहले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको विश्लेषणसहित किताब तयार पारिएको बताए । ‘क्लबको इतिहास, क्लबका रणनीति योजना, खेल तथ्यांक र खेलाडीको प्रोफाइल समेटेर किताब सार्वजनिक गरेका छौं । यो हाम्रो पहिलो प्रयास हो, यसले नेपाली फुटबल विकासमा सहयोग पुग्छ भन्ने आशा लिएका छौं । आगामी दिनमा नयाँ प्रविधिसहित टेक्निकल बुक सार्वजनिक गर्नेछौं,’ एन्फा उपाध्यक्ष सिंहले भने । एन्फाले पहिलो पटक बनाएको प्राविधिक र तथ्यांकसहितको किताब भविष्यका पुस्ताहरूका लागि सम्पत्तिका रूपमा रहने विश्वास व्यक्त गरेको छ ।

अहिले सार्वजनिक भएको ह्यान्डबुकले आगामी संस्करणमा नेपाली फुटबलको विकासस्तर मापन गर्ने माध्यमसमेत हुने एन्फाका महासचिव इन्द्रमान तुलाधारले बताएका छन् । सो अवसरमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यो किताबलाई छिट्टै नयाँ प्रविधिअनुरूप वेबसाइटमा पनि समावेश गर्ने बताएका छन् । शेर्पाले लकडाउनको समयमा बिनादर्शक राष्ट्रिय लिग, महिला लिग, ‘बी’ डिभिजन र ‘सी’ डिभिजन लिग सम्पन्न गर्न सक्यौं भने आगामी सिजनमा थप सहज हुनेमा जोड दिए ।

सो अवसरमा एन्फा अध्यक्ष शेर्पाले लामो समयदेखि तयार गरेको दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन राख्ने राखेपको तयारी रहेकाले मैदान बिग्रँदा पुरानो स्थितिमा आउन समय लाग्ने भन्दै अन्यत्र राख्न अनुरोध गरेको छ । साथै शेर्पाले दशरथ रंगशालाको सट्टा क्वारेन्टिनको व्यवस्थाका लागि एन्फा नै पहल गर्न तयार रहेको समेत बताए । राखेपका सदस्यसचिव सिलवालले आगामी दिनमा एन्फाले लिग स्तर सुधार गर्दै लाने विश्वास व्यक्त गरेका थिए ।  

प्रकाशित: १० जेष्ठ २०७७ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App