coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

क्रिकेट मैदान र कभर्ड हलमा सिट राख्ने टेण्डरको म्याद फेरी थपियो

पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्न आह्वान गरिएको टेण्डरको म्याद तेस्रो पटक थप्दा बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्ने टेण्डर पहिलो पटक म्याद थप गरिएको छ । क्रिकेट मैदान स्तरोन्नति र सिट राख्ने टेण्डरको म्याद एक साता थपिएको छ ।  

क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउन र कभर्ड हलमा २ हजार सिट राख्न गत चैतमा टेण्डर आह्वान गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै लकडाउन गरिएको थियो । लकडाउनकै समयमा आह्वान गरिएको टेण्डरले म्याद थप्दै लैजानुपर्ने परिस्थिति सृजना भएको हो । ‘लकडाउन लम्बिदै गएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले भने, ‘लकडाउन थपिदैं गएपछि टेण्डरको म्याद पनि थपिदैं गयो ।’ टेण्डरप्रति केही कम्पनीले चासो दिएपनि लकडाउनकै कारण ईच्छा जाहेर गर्न सकिरहेका छैनन्। गण्डकी प्रदेशमा केही खुकुलो गर्ने उद्घोष गरिएपनि काम गर्ने सम्भावना भने लकडाउन सकिएपछि मात्रै सम्भव हुने विश्वास छ ।  

क्रिकेट मैदानको लागि तीन करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको बजेट अनुसार राष्ट्रिय खेलकुद परिषद्ले टेण्डर आह्वान गरेको हो । मैदानको पिच पूर्ननिर्माण गर्नेदेखि तारबार लगाउनेसम्मको काम गर्ने उल्लेख छ । मैदान संरक्षण गर्न तारजाली(फेन्सिङ) लगाउने, नाला निर्माण गर्ने, दक्षिणी भेगमा पभेलियन बनाउने लगायतका कामहरू गरिने छ । फेन्सिङ नहुदाँ असम्बन्धित व्यक्तिहरूको प्रवेशले समस्या सृजना हुदै आएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।

क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार यो आर्थिक वर्षमा हलको लागि पाँच करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टिएको बजेटबाट सिट जडान, साउण्ड सिष्टम व्यवस्थापन तथा अन्य डोकोरेशनका कामहरू गरिने उनले बताए ।

परिषद्ले सिट जडानको लागि टेण्डरको अन्तिम म्याद आगामी मे १७ तारिख तोकेको छ । सिट जडानको लागि झण्डै दुई करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सिट व्यवस्थापन पछि दर्शकले खाली सिमेन्टमा बसेर प्रतियोगिता हेर्नुपर्ने बाध्यताको भने अन्त्य हुने छ । निकालिएको टेण्डरमा कम्पनीले पछिल्लो दशवर्षदेखि काम गर्दै आएको छ । तीन वर्षमा ३३.२ मिलियनको टर्न ओभर गरेको हुनुपर्ने प्रावधान छ ।

१५ महिनामा निर्माण पुरा गर्ने लक्ष्यसहित रंगशालामा बहुउद्देश्यीय कभर्डको शिलान्यास गरिएको थियो । तत्कालिन सदस्य सचिव युवराज लामाले २०७१ वैशाख दोस्रो साता शिलान्यास गरेका थिए । २०७२ को विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीकै कारण निर्माणमा ढिलाई भएको थियो । १४ करोड ३० लाख रुपैयाँको लागत निर्माण सक्ने लक्ष्य रहेपनि पटक पटक म्याद थपिदैं टुंग्याउँदा १५ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । पोखरा रंगशालामा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल नेपालकै ठूलो रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जनाए । प्राविधिकका अनुसार २१५६ सिट क्षमताको छ । कभर्ड हलको ७७ मिटर लम्बाई र ५० मिटर चौडाईको छ ।

प्रकाशित: ४ जेष्ठ २०७७ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App