coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बुन्डेसलिगा सुरु, डर्टमन्डको सानदार जित

‘यो वास्तविकता हो,’ बोरुसिया डर्टमन्डका निर्देशक हान्स जोचिम वाट्च्कीले शनिबार साल्केविरुद्धको खेलदौरान भने, ‘पछिल्लो एक दुई घण्टामा मैलै विश्वभरबाट सन्देशहरू प्राप्त गरिरहेको छु । सबैको आशय एउटै छ, मैदानमा खेलाडीहरू खेलिरहेका छन् ।’

त्यहाँबाट बाहिर निस्किँदा लाग्न सक्छ, केही भएकै छैन किनभने त्यहाँ तपाईहरूलाई पुनः लकडाउन लागू भएपछिका अन्य दिनहरूमा जस्तै सुनसान लाग्नेछ । कोरोना भाइरसका महामारीका कारण मार्च १२ पछि विश्वभरको खेलकुद शून्य थियो । त्यसैले शनिबार जर्मन बुन्डेसलिगा पुनः सुचारु हुँदा सारा विश्वको ध्यान त्यसतर्फ खिचिएको थियो । जर्मनीमा हालसम्म कोरोना भाइरस संक्रमण एक लाख ७४ हजार ८ जनामा पुष्टि भएको छ भने सात हजार ६ सय ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

अर्लिङ ब्राउट हल्यान्डको गोलमा बोरुसिया डर्टमन्डले बुन्डेसलिगा पुनः सुचारु हुँदा शनिबार डर्बी खेलमा साल्केमाथि ४–० को सानदार जित हात पार्यो । यो खेल आफैमा ऐतिहासिक बनेको छ । कोरोना भाइरसको महामारीका बीच युरोपमा जर्मनी बन्द रंगशालामा लिग सुरु गर्ने पहिलो राष्ट्र बन्यो । डर्टमन्डको घरेलु मैदान इडुना पार्कमा भएको खेलमा दुवै टोलीका खेलाडी र प्रशिक्षकको मात्र उपस्थिति थियो । गोलको खुसीयाली मनाउँदा होस् वा खेलाडी परिवर्तन, दुवैमा सामाजिक दूरी कायम गरिएको थियो ।

सिजन रोकिनुअघि हल्यान्ड जुन लयमा थिए, १० सातापछि मैदानमा फर्कंदा त्यस्तै लयमा देखिए । २९औं मिनेटमा हल्यान्डले थोर्गान हाजार्डको क्रसलाई जाली चुमाउँदै डर्टमन्डलाई खेलमा अघि बढाएका थिए । हल्यान्डले गोल गरेपछि उनले गोलको खुसीयाली मनाउँदा समेत खेलाडीहरूले सामाजिक दूरीको निर्देशन पालना गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा राफाइल ग्युरेरोले डर्टमन्डको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा हाजार्डले बललाई पोस्टको दिशा दिँदै टोलीको अग्रता थप बढाएका थिए । ६३औं मिनेटमा ग्युरेरोले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै डर्टमन्डको सानदार जित पक्का गरेका थिए ।

यस जितपछि २६ खेलमा ५४ अंक जोडेको डर्टमन्ड दोस्रो स्थानमा यथावत् छ, जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको साबिकको विजेता बायर्न म्युनिखभन्दा एक अंक कम हो । लिगअन्तर्गत शनिबारै भएका अन्य खेलमा हार्था बर्लिनले होफेनहेइमलाई ३–० ले हराउँदा औसबर्ग भने उल्फल्सबर्गसँग २–१ ले निराश भयो । सरकारले लगाएको लकडाउनको उल्लंघन गर्दै बाहिर निस्किएपछि कारबाहीमा परेका औसबर्गका प्रशिक्षक हेइको हेरिच दर्शक दीर्घामा बस्न बाध्य भएका थिए । शनिबारै जर्मनीमा दोस्रो डिभिजनको खेल पनि सुरु भएको छ ।

कोरोना भाइरसको महामारीका बीच युरोपमा जर्मनी बन्द रंगशालामा लिग सुरु गर्ने पहिलो राष्ट्र बन्यो । डर्टमन्डको घरेलु मैदान इडुना पार्कमा भएको खेलमा दुवै टोलीका खेलाडी र प्रशिक्षकको मात्र उपस्थिति थियो । गोलको खुसीयाली मनाउँदा होस् वा खेलाडी परिवर्तन, दुवैमा सामाजिक दूरी कायम गरिएको थियो ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App