७ वैशाख २०८१ शुक्रबार
खेल

खेलकुद पूर्वाधार निर्माण धमाधम

कोभिड–१९ को महामारीले खेलकुद गतिविधि ठप्पै छ ।

कोभिड–१९ को महामारीले खेलकुद गतिविधि ठप्पै छ । तर खेलकुदका पूर्वाधार निर्माण भने रोकिएका छैनन् । लकडाउनमै पूर्वाधार निर्माण कार्यलाई थाँती राखिएको छैन् ।  

लकडाउनको तेस्रो दिनबाट पोखरा रंगशालाभित्रको प्रशिक्षण फुटबल मैदान निर्माण ५१औं दिनमा आइपुग्दा टुंगिएको छ । मंगलबार मात्रै दुबो रोपेर सकिएको छ । २०६४ सालमा निर्माण गरिएको फुटबल मैदानको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा स्तरोन्नति गरिएको थियो ।  

स्तरोन्नति गर्न काम शुरु गरिएपछि बीचैमा रोकिएको थियो । ३० लाख रुपैयाँ खर्च भएको थियो । काम रोकिएको चार महिनापछि फेरी शुरु गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले उपभोक्ता समिति मार्फत निर्माण पुरा गरिएको हो । लकडाउनमै काम गरेर टुंग्याइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सुनाए । फुटबल मैदान बनाउन ६० भन्दा बढी कामदार खटिएका थिए ।  

पोखरा रंगशालाको फुटबल मैदान बाहेक रंगशालाभित्रैको स्क्वास कोर्ट निर्माणाधिन अवस्थामा छ । एउटा कोर्ट तयारीमा छ । थप दुई कोर्ट तयारी गरिदैं छ । युवा तथा खेलकुद मन्त्रालयको बजेटबाटै अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरी फुटबल मैदानलाई ५० लाख रुपैयाँ निकासा भएको छ ।  

कास्कीकै पर्यटकीय गाँउ घान्द्रुकमा हाईअल्टिच्युड फुटबल मैदान बनाउन मन्त्रालयले ५० लाख रुपैयाँ दिएको छ । ‘मन्त्रालयको बजेटबाट घान्द्रुकको मेश्रम बराह माविको खेलमैदानलाई स्तरोन्नति गरिदैं छ’–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘सर्भे यस अघि नै भईसकेको थियो । अहिलेको बजेटले जमिन सम्याईने छ ।’ उनका अनुसार गतवर्ष १५ लाख रुपैयाँको बजेटबा सर्भेसँगै ग्याभिन गरिएको छ । यो आर्थिक वर्षभित्र सक्ने गरी कामलाई रफ्तारमा गरिएको उनको भनाई थियो ।  

मन्त्रालयले नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति मार्फत उपलब्ध गराएको ५० लाखबाट लामाचौरस्थित गोस्ते खेलमैदानको भिआईपी प्यारापिटसहित चेन्जिङ रुम निर्माण गरिदैं छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि महिला फुटबल टोलीको प्रशिक्षणस्थल बनाउने अभियानसहित बजेट विनियोजन गरिएको थियो ।

‘५० लाख रुपैयाँले चेन्जिङ रुमसहित भिआईपी प्यारापिट बनाउँदै छौं’ गोस्ते खेलमैदान निर्माण उपभोक्ता समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने, ‘केहीदिनै ढलान गर्ने योजनासहित काम भईरहेको छ ।’ गोस्ते खेल मैदानको लागि साढे दुईकरोड रुपैयाँ खर्च भईसकेको छ ।  

मन्त्रालयले नै पोखराको क्रिकेट मैदानको स्तरोन्नति गर्न तीन करोड रुपैयाँ छुट्टाउँदै टेण्डर आह्वान गरिसकेको छ । आह्वान गरिएको टेण्डर लकडाउनकै कारण तेस्रो पटक सारिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । ‘तीन करोडले तीनवटा पीच, बाउण्ड्री इनर फेन्सिङ, नाली निर्माण, आउट फेन्सिङ निर्माण, स्टोर रुम, चेन्जिङ रुमसहितको पभेलियन बनाउने योजना छ ।’ अध्यक्ष सिग्लेलले सुनाए । 

प्रकाशित: ३१ वैशाख २०७७ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App