६ वैशाख २०८१ बिहीबार
खेल

घरैमा सामान्य अभ्यास गर्दै खेलाडी

काठमाडाैं- विश्व अहिले कोरोना भाइरसका कारण आक्रान्त छ । सबै खेलकुद गतिविधि पूर्ण रूपमा ठप्प छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित प्रतियोगिता पनि अनिश्चितकालका लागि स्थगित भएका छन् । नेपालमा पनि कोरोनाको त्रासले खेलकुद गतिविधि अनिश्चित कालका स्थगित गरिएको छ ।

नेपालमा कोरोनाका सन्त्रास न्यून मानिए पनि सरकारले भयावह हुन नदिन मंगलबारदेखि एक साताका लागि देशभित्र लकडाउन गर्दै सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेको छ । सरकारले कोरोना भाइरस भित्रिन नदिन विभिन्न कार्ययोजना बनाइरहेको छ । सार्वजनिक सूचनादेखि छिमेकी दुई देशका नाका एक साताका लागि बन्द गरेको छ ।

यसै चपेटामा नेपाली खेलकुद पनि परेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खुला रहेका स्थलमा सरकारलाई अस्थायी अस्पताल निर्माणका लागि दिने जनाएको छ । यस्तै अखिल नेपाल फुटबल संघले पनि विभिन्न स्थानका एकेडेमी र रंगशालालाई अस्थायी क्वारेन्टाइन बनाउन सक्ने स्थान उपलब्ध गराउने घोषणा गरेको छ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सकिएको पनि केही महिना मात्रै पुगेको छ । केही खेलाडी सागमा पाएको सफलतापछि अन्य प्रतियोगिताका लागि तयारीमा थिए । फुटबल, क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका पनि नजिकिँदै गरेका थिए । तर, कोरोनाकै कारण ती सबै  स्थगित भएका छन् । विश्वकप छनोट २०२२ अन्तर्गत चाइनिज ताइपेईसँग हुने दोस्रो लेग पनि स्थगित भएको छ । यस्तै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमण पनि कोरोनाकै कारण स्थगित हुन पुगेको छ ।

निरन्तर अभ्यास खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण पक्ष हो । सन्त्रास र धेरै व्यक्तिको जमघट नै घातक हुने यो रोगक कारण यति बेला खेलाडी सबै घरमै बसिरहेका छन् । नेपाली फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट स्वास्थ्य स्वस्थ रहे मात्र खेल अगाडि बढाउन सक्ने भन्दै कठिन घडी भएकाले सबैलाई सरकारले निर्देशन गरेको सुरक्षाका विधि अवलम्बन गर्न आग्रह गर्छन् ।

‘घरमै अभ्यास गरिरहेको छु । सबैसँग अभ्यास गर्ने अवस्था नभए पनि घरमा नै आपूmलाई स्वस्थ राख्नका लागि सामान ल्याएको छु,’ परिवारसँग रहेका स्ट्राइकर अञ्जनले भने, ‘संसारभरका देशले कोरोनासँग लडिरहेका छन् । अहिले हामीलाई सरकारले सतर्क रहन आग्रह गरेको छ । सरकारले निर्देशन गरेको सुरक्षा विधिलाई अबलम्बन गर्दै सरकारलाई सहयोग गर्नुपर्छ ।’

यस्तै करातेका प्रशिक्षक कुशल श्रेष्ठले कोरोनाको सन्त्रासका बेला सबैखाले खेल गतिविधि स्थगित भएको बताए ।
‘सन्त्रासका कारण सबैखाले गतिविधि अहिले ठप्प छन् । त्यसैले हामीले घरमै अभ्यास गर्ने गरेका छौं । परिवारमा करातेको माहोल बनिरहेको छ,’ प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘कठिन अवस्थामा हामीले स्वविवेक लगाएर बस्नुपर्छ । सरकारले गरेको निर्देशलाई राम्रोसँग पालना गर्नुपर्छ ।’

यस्तै महिला क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरले पनि आफूलाई तन्दुरुस्त राख्न बिहानबेलुकी अभ्यास गरिरहेको बताइन् । उनले अन्य खेलाडी पनि घरमै ब्याटिङ र बलिङ गर्दै घरायसी अभ्यास गरिरहेको बताइन् । ‘बिहान उठेर बलसँग आधीदेखि पौने घन्टा समय बिताउँछु । घरायसी काम गर्छु । इन्टरनेटमा केही नयाँ टेक्निक सिक्ने प्रयास गर्छु, बेलुकीको समयमा त्यसलाई पालन गर्ने कोसिस गर्छु,’ सीताले भनिन्, ‘मेरो जस्तो सबै खेलाडीको हकमा यस्तो दिनचर्या चलिरहेको छ । सबैले आफ्नो ठाउँमा अभ्यास गरिरहेका छन् ।’

‘चैतको अन्तिम साता तय भएको प्रधानमन्त्री महिला क्रिकेट पनि कोरोनाकै कारण स्थगित भयो । जिल्लास्तरबाट खेलाडी छनोट हुँदै आएका थिए,’ सीताले थपिन्, ‘जुन महिनामा हुने अन्तर्राष्ट्रिय खेलमा पनि यसको असर देखिने भएको छ । जिल्ला स्तरबाट आएका नयाँ खेलाडीलाई पनि असर देखिने भएको छ ।’

राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रेश्मा भण्डारीले स्वास्थ्य सुरक्षा नै पहिलो आवश्यकता भएको उल्लेख गर्दै कोरोनाको संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने सावधानी अपनाउन आग्रह गरिन् । ‘अन्य देशमा जस्तै हाम्रोमा पनि खेल प्रभावित भएको छ । लकडाउनपश्चात् घरमै सुरक्षित भएर बसेका छौं,’रेश्माले भनिन्, ‘साथै आफ्नो शरीरलाई फिट राख्न घरमै सामान्य अभ्यास गरिराखेको छु । यो समय शरीरलाई धेरै आराम मिल्दा पछि रिकभर गर्न गाह्रो हुन्छ । त्यसैले त्यसतर्फ पनि ध्यान दिनुपर्छ । साथै मानसिक तनाव कम गर्न  भ्रमपूर्ण खालका समाचारहरू हेर्दिनँ ।’   

यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका फिजियोथेरापिस्ट आविष्कार पुडासैनीले सेल्फ आइसोलेसन कोरोनाको संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भएको बताए ।

‘रुघाखोकी लागेको व्यक्तिले सजगता नअपनाए शरीरबाट निस्कने भाइरसले अरूलाई संक्रमण गर्न सक्छ । त्यसैले व्यक्तिले संयमता अपनाए यो रोकिन्छ,’ आविष्कारले भने, ‘खेलाडीमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । सबै खेलाडीलाई सजग र नियमित अभ्यास तथा खानपानमा ध्यान दिन सर्कुलेसन गरेका छौं । सावधानी अपनाए यसबाट बच्न सकिन्छ ।’

एक साताका लागि लकडाउन भएपछि अहिले खेलकुद निकाय मात्र हैन सबै जसो सरकारी कामकाज र नियमित काममा पनि असर परेको छ । कोरोना सन्त्रासकै कारण सरकारले यातायातदेखि हवाई सेवा र नाकासमेत बन्द गरेको छ ।

 

प्रकाशित: १३ चैत्र २०७६ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App