२८ असार २०७७ आइतबार
खेल

‘युनाइटेडको सफलताबाट समर्थक खुसी छन्’

म्यानचेस्टर – ओले गनर सोल्सजायरले इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्बीमा १० वर्षपश्चात् सफलता प्राप्त गरेपछि म्यानचेस्टर युनाइटेडका खेलाडी र समर्थकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। ओल्र्ड ट्राफोर्डमा आइतबार भएको म्यानचेस्टर डर्बीमा सिटीमाथि २–० को रोमाञ्चक जित निकालेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सजायरले आफ्ना खेलाडी र समर्थकबीचको प्रगाढ सम्बन्ध फर्किएको विश्वास व्यक्त गरेका हुन्।

एन्टोनी मार्सियल र स्कट म्याकटोमिनेले सिटीका गोलकिपर एडर्सनको गल्तीको फाइदा उठाउँदै युनाइटेडलाई जित दिलाएका थिए। यो सफलतासँगै युनाइटेडले लिगको अंकतालिकामा चौथो स्थानमा रहेको चेल्सीलाई पछ्याएको छ। पाँचौं स्थानमा उक्लिएको युनाइटेड चेल्सीभन्दा तीन अंकले मात्र पछि छ।

एन्टोनी मार्सियल र स्कट म्याकटोमिनेले सिटीका गोलकिपर एडर्सनको गल्तीको फाइदा उठाउँदै युनाइटेडलाई जित दिलाएका थिए।

पछिल्ला केही वर्षयता सिटीको दबाबमा पर्दै आइरहेको युनाइटेडले यस सिजन भने तीन खेलमा सफलता हात पारिसकेको छ। सबै प्रतियोगितामा गरेर युनाइटेड पछिल्ला १० खेलमा अपराजित छ। ‘मेरो बुझाइमा खेलाडी र समर्थकबीच इच्छाशक्ति, मनोभावना र प्रतिबद्धताको सञ्चार भइरहेको छ,’ युनाइटेडका प्रशिक्षक सोल्सजायरले भने,‘आज खेलाडीले निकै राम्रो प्रदर्शन गरे र त्यसलाई म पनि स्वागत गर्दछु।’

डर्बी प्रतिस्पर्धा खेलाडी र समर्थकका लागि विशेष हुने प्रशिक्षक सोल्सजायरको भनाइ छ। ‘यो डर्बी प्रतिस्पर्धा हो। समर्थक र खेलाडी दुवैले डर्बीलाई रुचाएका हुन्छन्। तपाईहरूले तीन अंक प्राप्त गरेको मात्र देख्नुहुन्छ। तर म फरक किसिमको देख्छु। जुन अवस्थाबाट हामी गुज्रिएका थियौं, त्यसबाट उठेर सिटीजस्तो टोलीलाई हराउनु विशेष अर्थ राख्दछ।’ अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने राम्रो सम्भावना पनि सिर्जना गरेको छ।

यदि युरोपियन फुटबलबाट दुई वर्षको प्रतिबन्धविरुद्ध सिटीको अपिल अस्वीकार भएमा पाँचौं स्थानको टोलीले पनि आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछ। सिटीले प्रतिबन्धविरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर््समा अपिल गरेको छ। सिटीलाई यस किसिमको प्रदर्शनले सिजनको बाँकी खेलमा पनि समस्या उत्पन्न हुनेछ। पेप ग्वार्डिओलाको टोली सिटीले यस सिजनको प्रिमियर लिगमा सातौं हार सामना गरिसकेको छ। लगातारको हारपश्चात् सिटी शीर्ष स्थानको लिभरपुलसँग २५ अंकले पछाडि छ। यससँगै लिभरपुललाई ३० वर्षयता इङ्लिस लिगको पहिलो उपाधि जित्न कम्तीमा दुई जित आवश्यक छ।

यता ग्वार्डिओलाले आफ्नो टोलीको प्रदर्शनबाट खुसी रहेको बताए पनि मिडफिल्डर बर्नान्डो सिल्भाले भने नतिजा र प्रदर्शन स्वीकारयोग्य नभएको उल्लेख गरे। ‘प्रदर्शन राम्रो र स्वीकारयोग्य पनि थिएन। यस सिजन हामीले प्रिमियर लिगमा धेरै खेल गुमाइसकेका छौं। यस किसिमको प्रदर्शनले सिजनलाई यादगार बनाउन सक्दैनौं,’ सिल्भाले भने, ‘हामीमाथि खासै दबाब परेको छैन। डर्बी हाम्रा लागि च्याम्पियन्स लिगको दोस्रो माध्यम थियो। समर्थकका लागि पनि डर्बी विशेष हुने गर्दछ। तर हामीले २–० ले गुमायौं, जुन स्वीकार योग्य हुनेछैन।’

सिटीका लागि केभिन डी ब्रुएना चोटका कारण बाहिर रहनु पनि राम्रो बन्न सकेन। ब्राजिलियन गोलकिपर एडर्सनले गल्ती गर्नु पनि सिटीका लागि घातक बन्यो। पहिलो गोलमा एडर्सनले खासै प्रयास बन्न सकेन। दोस्रो गोल पनि एभडर्सनले फ्याकेको बल नियन्त्रणमा लिँदै म्याकटोमिनोले गोल गरेका थिए। यद्यपि, प्रशिक्षक ग्वार्डिओलाले आफ्ना गोलकिपरको गल्ती खेलको एक माध्यम रहेको बताए। ‘त्यो खेलको एक पार्ट थियो। एडर्सन उत्कृष्ट गोलकिपर हुन्, त्यसैले उनले त्यसलाई सुधार गर्नेछन्,’ ग्वार्डिओलाले भने।

प्रकाशित: २७ फाल्गुन २०७६ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App