८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टार फाइनलमा

हिमालयन शेर्पाविरुद्ध बल अगाडि बढाउने प्रयासमा थ्री स्टारका सुशील राई (बायाँ)। तस्बिर सञ्जय : नागरिक

धनगढी - स्ट्राइकर आशिष राईको निर्णायक गोलमा थ्री स्टार क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ।

आइतबार धनगढी हसनपुरस्थित रंगशालामा भएको प्रतियोगिताको सेमिफाइनलमा थ्री स्टारले हिमालयन शेर्पालाई १–० ले निराश पारेको हो। खेलको २४औं मिनेटमा अशोक खवासको कर्नर प्रहारलाई आशिषले हेडबाट पोस्टको दिशा दिएका थिए। खेलमा थ्री स्टारले बनाएको त्यो नै सम्झनलायक मुभ रहेको थियो। खेलमा दुवै टोलीले उल्लेख्य प्रदर्शन भने गर्न सकेनन्। दुवै टोलीका खेलाडीले अधिकांश समय मिडफिल्डमै मात्र बल खेलाइरहेका थिए।

खेलको नवाैँ मिनेटमा नै हिमालयन शेर्पाले अग्रता लिने अवसर पाएको थियो। तर त्रिदेव गुरुङको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा थ्री स्टारका कप्तान विक्रम लामाले राम्रोसँग बल क्लियर गर्न नसक्दा रिबाउन्डमा प्र्राप्त गरेको बलमा रञ्जन पुनले गोलपोस्टनजिकैबाट गरेको प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेमजोङले सहजै बचाएका थिए। ‘आज हाम्रो तुलनामा हिमालयन शेर्पाले राम्रो प्रदर्शन गर्‍यो, यद्यपि पाएको अवसर सदुपयोग गर्न सफल भयौं,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘हामीलाई फाइनल प्रवेशका लागि जित आवश्यक थियो, धेरै गोलअन्तर होइन।

खेलको २४औं मिनेटमा अशोक खवासको कर्नर प्रहारलाई आशिषले हेडबाट पोस्टको दिशा दिएका थिए। खेलमा थ्री स्टारले बनाएको त्यो नै सम्झनलायक मुभ रहेको थियो।

त्यसैले टोलीको प्रदर्शनमा सन्तुष्ट छु।’ केसीले फाइनल खेलमा थप सुधारिएको प्रदर्शन गर्ने बताए। ‘हामीले ‘ए’ डिभिजन लिगबाटै युवा खेलाडीलाई अवसर दिइरहेका छौं, टोलीमा नयाँ खेलाडी आउने क्रम पनि जारी छ,’ केसीले थपे, ‘हामीले युवा खेलाडीमा विश्वास गरेका छौं र उनीहरूलाई नै प्राथमिकता दिइरहेका छौं।’

थ्री स्टारले फाइनलमा मंगलबार आयोजक सुदूरपश्चिम ११ को सामना गर्नेछ। सुदूरपश्चिम–११ ले शनिबार विभागीय टोली एपिएफको चुनौती २–१ ले निराश पार्दैै पहिलो पटक फाइनलमा स्थान पक्का गरेको थियो। ‘हामीले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनाैँ ,’ हिमालयन शेर्पाका म्यानेजर सुशील तामाङले भने, ‘हामीले केही गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनौं। थ्री स्टारले एउटा अवसर पायो र त्यसको सदुपयोग गर्‍यो। हामीलाई आज भाग्यले साथ दिएन।

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App