७ वैशाख २०८१ शुक्रबार
खेल

खप्तड गोल्डकप, पुलिस क्वार्टरफाइनलबाटै बाहिर

धनगढी - साबिकको विजेता नेपाल पुलिस क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बिहीबार धनगढी रंगशालामा भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा पुलिसले एपिएफलाई पेनाल्टी सुटआउटमा ४–३ को नतिजा सुम्पिएको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। यसमा एपिएफ भाग्यमानी साबित बनेको हो। एपिएफले पहिलो खेलमा एनआरटीलाई २—१ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो भने पुलिसले सोझै अन्तिम ८ मा प्रवेश पाएको थियो। शनिबार हुने पहिलो सेमिफाइनलमा एपिएफले आयोजक सुदुरपश्चिम ११ को सामना गर्नेछ।

खेल पेनाल्टी सुटआउटमा धकेलिने निश्चित भएसँगै दुवै टोलीले वैकल्पिक गोलकिपरलाई मैदान प्रवेश गराएका थिए। एपिएफले राजु नगरकोटीको स्थानमा रोमन रसाइली र पुलिसले शत्रुघ्न चौधरीको स्थानमा रोशन खड्कालाई मैदान प्रवेश गराएका थिए।

पेनाल्टी सुटआउटमा एपिएफका सुदीप सिख्राकार, आशिष लामा, प्रवीन स्याङतान र दिनेश राजवंशीले गोल गरे भने नवीन लामाको प्रहार पुलिसका  गोलकिपर रोशनले रोकेका थिए। यता पुलिसका सौजन राई, तेज तामाङ र बुद्ध बल तामाङले गोल गरेका थिए भने अजित भण्डारीको प्रहार एपिएफका रोमनले विफल पारेका थिए। पुलिसका कप्तान भरत शाहले गरेको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो।

‘हामीले निर्धारित समयमा नै नतिजा आफ्नो पक्षमा पार्न पर्ने हो किनभने पुलिसको टोली थकित थियो, तर पनि हामी पेनाल्टीमा भाग्यमानी साबित भयांै,’ एपिएपका प्रशिक्षक सुदीप श्रेष्ठले भने, ‘रोमनको जजमेन्ट राम्रो छ त्यसैले हामीले खेलको अन्तिम समयमा मैदान प्रवेश गराएका हौं। उनलाई मैदान प्रवेश गराउने निर्णय सही साबित भयो। सेमिफाइनलमा आयोजक टोलीविरुद्ध प्रतिस्पर्धा गर्नु छ। त्यो खेलका लागि अझै सुधारिएको प्रदर्शन गर्नुपर्छ। आज हामीले रमेशलाई आराम दिएका हौं।उनी सेमिफाइनलमा टोलीमा फर्कनेछन्।’

खेलमा एपिएफका आशिष लामा म्यान अफ दी म्याच भए।उनले नगद १० हजार हात पारे। यता पुलिसका प्रशिक्षक सञ्जीव जोशीले लामो यात्राका कारण खेलाडी थकित भएकाले स्वाभाविक प्रदर्शन गर्न नसकेको र भरतको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्कनु दुर्भाग्य भएको बताए।

‘हामीले लगातार तीन खेल खेल्नुप¥यो र एपिएफविरुद्धको खेलकै लागि लामो यात्रा गरेकाले स्वाभाविक प्रदर्शन गर्न सकेनांै,’ जोशीले भने, ‘हामीले आयोजकसँग आधा घण्टा आराम गर्न समय मागेका थियांै तर पाएनौं।’ मंगलबार राइनो गोल्डकपको सेमिफाइनलमा च्यासल युथलाई हराएको पुलिस बुधबार फाइनलमा आर्मीसँग निराश भएको थियो। पुलिस एपिएफविरुद्धको खेलका लागि बिहीबार बिहान ९ बजे मात्र धनगढी आइपुगेको थियो। शुक्रबार हुने अन्तिम क्वार्टरफाइनलमा गोर्खा ब्बाइज र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १६ फाल्गुन २०७६ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App