७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो दिन अभ्यास मात्रै

पोखरा – आइतबारदेखि एक सातासम्म पोखराको सराङकोटमाथिको आकाश केही रंगीन बन्नेछ। कारण हो, पोखरामा पहिलो पटक सञ्चालित ‘प्याराग्लाइडिङ विश्वकप टुर’। सोही बेला हुने रंगीबिरंगी प्याराग्लाइडिङ उडानले आकाश सप्तरंगी देखिनेछ। उत्तरी हिमाल र फेदमा फेवाताललाई साक्षी राख्दै १९ देशका ८९ पाइलट एक सातासम्म पोखराकै आकाशमा उड्नेछन्।

आयोजनाले पोखराको पर्यटनलाई प्याराग्लाइडिङमार्फत साहसिक गन्तव्यस्थलको रूपमा विश्वमाझ परिचित गराएको छ। विश्वका उत्कृष्ट पाइलटले क्रस कन्ट्रीमा एक साता प्रतिस्पर्धामा रहनेछन्। पहिलो दिन पाइलटलाई अभ्यास सत्र राखिएको छ। पोखराको मौसम अनुकूल आफूलाई ढाल्नुपर्नेछ। पहिलो दिन पाइलटले ४० किलोमिटरको टास्क पूरा गर्नेछन्। विश्वकप टुरलाई यति बेला कोरोना भाइरस संक्रमणले पनि केही मात्रामा अफ्ठ्यारो बनाइदिँदा ११ जना चिनियाँ पाइलटले दर्ता गरेर पनि अन्तिम समयमा पोखरा नआउने जानकारी गराएका थिए।

कोरोनाको संक्रमण भयावह देखिँदै गएकोले चीनले आफ्ना नागरिकलाई अन्यत्र पठाउन सकेको छैन भने अन्य देशबाट हुने सहभागितामा पनि समस्या हुने देखिएको छ। नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले पनि कोरोनाको असर प्याराग्लाइडिङ विश्वकप टुरमा परेको बताउँछन्। ‘पहिलो दिन पाइलटलाई विश्वकप टुरको बारेमा जानकारी दिने उद्देश्यले ब्रिफिङ ग-यौं,’ उनले भने,‘सोमबारदेखि प्रतिस्पर्धा सुरु हुन्छ।’

प्रत्येक दिन फरकफरक टास्क हुनेछ। मौसमले नै टास्कको दूरी तय गरिने संयोजक भट्टराईले जनाए। प्याराग्लाइडिङ विश्वकपले भने बाह्य पर्यटनको पनि प्रवद्र्धन हुने विश्वास छ। पोखरामा एएफएआइट–२ क्याटगोरीको प्याराग्लाइडिङ प्रि–विश्वकप आयोजना भइसकेको छ। निरन्तर दुई वर्षसम्म प्रि–विश्वकप आयोजना गरिएपछि एफएआइले विश्वकपको लागि स्वीकृति प्रदान गरेको हो। प्रतिस्पर्धी साराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्नेछन्।

विश्वकप टुरमा अमेरिका, कोरिया, फ्रान्स, जापान, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्विट्जरल्यान्ड र अस्ट्रियालगायतका पाइलटको सहभागिता रहेको नेपाल हवाई खेलुकद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङको सहयोगमा आयोजना हुने विश्वकपमा फेडेरेसन अफ एरोनोटिक इन्टरनेसनल (एफएआई) बाट मान्यता प्राप्त पाइलटले मात्रै सहभागिता जनाउने पाउनेछन्।

विश्वकप टुरमा नेपाली १२ जना पाइलटले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप टुरमा पाइटलले उपाधिसँगै अंक पाउनेछन्। प्राप्त अंककै आधारमा एएफएआईले पाइलटको -याङकिङ गर्ने संयोजक भट्टराईको भनाइ थियो। एक्युरेसीमा सबैभन्दा कम अंक जोड्नेले उपाधि जित्नेछन्। क्रस कन्ट्रीमा भने आयोजकले तोकेको टास्क पूरा गर्ने खेलाडीले बढी अंक प्राप्त गर्नेछन्। तीन दिनसम्मको टास्कलाई जोडेर खेलाडीको विजेता घोषणा गरिनेछ। प्याराग्लाईडिङमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेनाले रेस्क्यु गर्न तयारी छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App