६ वैशाख २०८१ बिहीबार
खेल

चिनियाँ पाइलट सहभागी नहुने

पोखरा - आज आइतबारदेखि पोखरामा प्याराग्लाइडिङ विश्वकप हुँदैै छ। प्याराग्लाइडिङको विश्वकप पहिलो पटक आयोजना हुँदा ९० भन्दा बढी पाइलटले प्रतिस्पर्धा गर्दै छन्।

आजदेखि सुरु हुने प्रतिस्पर्धामा ११ जना चिनियाँ पाइलटले भने उडान गर्ने छैनन्। उनीहरूले प्रतियोगिताको केही दिनअघि मात्रै विश्वकपमा सहभागिता जनाउन नसक्ने सूचना दिएका थिए। चीनको वुहानमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उनीहरूको सहभागिता कमजोर बनेको हो। चीनले अहिले आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको छ। त्यसको प्रत्यक्ष असर भने पोखरामा आयोजना भएको प्याराग्लाइडिङ विश्वकपमा देखिएको हो।

नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको छ। घोषणा गरेसँगै कोरोनाको संक्रमणले प्रत्यक्ष असर पुर्‍याएको छ। कोरोनाको संक्रमण भयावह देखिँदै गएकाले चीनले आफ्ना नागरिकलाई अन्यत्र पठाउन सकेको छैन। कोरोनाकै कारण अन्य देशबाट हुने सहभागिताले पनि समस्या हुने देखिएको नेपाली पाइलटले औल्याउँदै आएका छन्। यद्यपि पोखरामा आयोजित प्याराग्लाइडिङ विश्वकपबाट बाह्य पर्यटन प्रबर्द्धन हुने विश्वास छ। विभिन्न देशका ९० भन्दा बढी पाइलट एक सातासम्म प्रतिस्पर्धामा रहनेछन्। सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्नेछन्। पोखरामा एएफएआइटी–२ क्याटगोरीको प्याराग्लाइडिङ प्रि–वर्ल्डकप आयोजना भइसकेको छ। निरन्तर दुई वर्षसम्म प्रि– वर्ल्डकप आयोजना गरिएपछि एफएआईले विश्वकपको लागि स्वीकृति प्रदान गरेको हो।

प्रतिस्पर्धाका लागि जापानबाट ५ जना, भारतबाट १० र कोरियाबाट १२ जनको संख्यामा पाइलट आइसकेका छन्। अन्य विभिन्न देशका पाइलट कोही आइसकेका छन्। कोही आउने क्रममै छन्।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको सहयोगमा आयोजना हुने विश्वकपमा फेडेरेसन अफ एरोनोटिक इन्टरनेसनल (एफएआई) बाट मान्यता प्राप्त पाइलटले मात्रै सहभागिता जनाउने पाउनेछन्। ‘एफएआईको लाइसेन्स प्राप्त पाइलटले विश्वकपमा सहभागिता जनाउनेछन् ।’ नेपाल हवाई खेलुकद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले भने, ‘अन्य सर्वसाधारण पाइटलले भने सहभागिता जनाउन पाउँदैनन्।’ विश्वकपमा नेपाली १५ जना पाइलटले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप टुरमा पाइटलले उपाधिसँगै अंक पाउनेछन्। प्राप्त अंककै आधारमा एएफएआईले पाइलटको र्‍याङकिङ गर्ने नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष एवं प्रशिक्षक योगेश भट्टराईले बताए। उनका अनुसार टुरलाई एफएआईले नै प्रत्येक पाइलटको उडान र अवतरणको तथ्यांक राख्नेछ।

‘चिनियाँ पाइलटको सहभागिता रद्द गरिसकेका छन्,’ उनले भने, ‘अरू देशका पाइलट पनि आउने विषयमा केही समस्या छ ।’ पाइलटहरूको नेपाल आगमनको उडान तालिकामा हुने समस्याले समयमै आइपुग्ने सम्भावना कमजोर रहेको उनको भनाइ थियो। ‘अनलाइनबाट पाइलटले दर्ता गरेका छन्,’ उनले भने, ‘तर फिजिकल्ली उनीहरू पोखरा आइपुगेका छैनन्। आइतबार बिहानसम्म कुर्नुपर्ने अवस्था छ ।’ प्रतिस्पर्धाका लागि जापानबाट ५ जना, भारतबाट १० र कोरियाबाट १२ जनको संख्यामा पाइलट आइसकेका छन्। अन्य विभिन्न देशका पाइलट कोही आइसकेका छन्। कोही आउने क्रममै रहेको प्रशिक्षक भट्टराइको भनाइ थियो। पाइलटहरूले एक्युरेसी र क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन्। एक्युरेसीमा सबैभन्दा कम अंक जोड्नेले उपाधि जित्नेछन्। क्रस कन्ट्रीमा भने आयोजकले तोकेको टास्क पूरा गर्ने खेलाडीले बढी अंक प्राप्त गर्नेछन्। तीन दिनसम्मको टास्कलाई जोडेर खेलाडीको विजेता घोषणा गरिनेछ।

प्याराग्लाइडिङमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेनाले रेस्क्यु गर्नेछ। उद्धारका लागि नेपाली सेनाको टोली नै परिचालन हुने पश्चिम पृतनाका शिक्षा तथा तालिम शाखाका शिक्षा अधिकृत अर्जुन बस्नेतले बताए। उनका अनुसार पाइलट उद्धारका लागि तालमा मोटरबोटको व्यवस्था, अवतरण स्थानमा एम्बुलेन्सको व्यवस्था गरिनेछ। हेलिकप्टरसमेत व्यवस्था गरिने आयोजकले जनाएको छ। विजेता पाइलटले ट्रफी प्राप्त गर्नेछन्। उनीहरूलाई विभिन्न गिफ्ट ह्याम्परसमेत प्रदान गरिनेछ। १३ सय मिटरको सराङकोटको उचाइबाट उडेर तालकिनारमा अवतरण गर्नेछन्। आइतबार पाइलटहरूको प्राक्टिस उडान मात्रै हुनेछ। प्रतिस्पर्धा भने सोमबारदेखि हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App