coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुनरागमनमा एपिएफलाई सफलता

एपिएफ (सेतो)विरुद्ध बल अगाडि बढाउदै एनआरटीका खेलाडी। तस्बिर नागरिक

सञ्जय थापा/ दिलबहादुर छत्याल
धनगढी -  न्युरोड टिम (एनआरटी) लाई पुनरागमनमा निराश पार्दै विभागीय टोली एपिएफ धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा शनिबार भएको प्रतियोगिताको दोस्रो खेलमा एपिएफले एनआरटीलाई २–१ ले हराउँदै अन्तिम ८ को यात्रा पक्का गरेको हो। पहिलो हाफमा १–० ले पछि परेको एपिएफले अन्तिम ३० मिनेटमा २ गोल थपेको हो। खेलको पहिलो हाफमा उत्लेख्य प्रदर्शन गर्न नसकेको एपिएफले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो। ३९औं मिनेटमा  दर्शन गुरुङले कप्तान प्रकाश बुढाथोकीको पासलाई जाली चुमाउँदै एनआरटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको एपिएफ ६०औं मिनेटमा खेलमा फर्कियो। म्यान अफ दी म्याच रमेश दंगालले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। 

दंगालले सुदीप सिख्राकारको फ्रि किकलाई पोस्टको दिशा दिएका थिए। त्यसको ५ मिनेटपछि नै वैकल्पिक खेलाडी विकु तामाङको गोलमा एपिएफले अग्रता उल्टायो। एनआरटीको रक्षापंक्तिमा देखिएको तालमेल अभावमा तामाङले बललाई पोस्टको दिशा दिएका थिए। यसअघि खेलको पहिलो मिनेटमा रमेश दंगालले गरेको हेड एनआरटीका गोलकिपर अजित प्रजापतिले विफल पारेका थिए। ११औं मिनेटमा यानिकको पासमा दर्शनले गरेको प्रहार एपिएफका गोलकिपर राजु नगरकोटीले विफल पारेका थिए। त्यसको २ मिनेटपछि एनआरटीले गोलको अर्को अवसर पाए पनि सदुपयोग गर्न सकेन। एपिएफका गोलकिपर नगरकोटी फेरि एक पटक एनआरटीका कप्तान प्रकाशका लागि बाधक बनेका थिए।

एपिएफले एनआरटीलाई २–१ ले हराउँदै अन्तिम ८ को यात्रा पक्का गरेको हो। पहिलो हाफमा १–० ले पछि परेको एपिएफले अन्तिम ३० मिनेटमा २ गोल थपेको हो।

३३औं मिनेटमा एपिएफले गोलको सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। आशिष लामाले एनआरटीका गोलकिपर अजित प्रजापति बिट भइसकेको अवस्थामा गरेको प्रहार गोललाइनमा रहेको हिलोमा रोकिएको थियो। ३५औं मिनेटमा एपिएफले काउन्टरमा गोलको अर्कोे अवसर पाएको थियो। तर एनआरटीका गोलकिपर अजितले पेनाल्टी बक्सबाहिर आउँदै बल क्लियर गर्दै टोलीको संकट टारेका थिए। प्रतियोगिताअन्तर्गत आइतबार हुने खेलमा नवजागृति क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र भारत गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App