८ वैशाख २०८१ शनिबार
खेल

मच्छिन्द्रलाई लिगकाे पहिलाे उपाधि

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधिका साथमा मच्छिन्द्र क्लव । तस्बिर सौजन्य : एन्फा

काठमाडौ - राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको हो। पराजयसँगै आर्मी दोस्रो पटक लिग उपाधि उचाल्नबाट वञ्चित बन्यो। यसअघि २०६३ सालमा पनि पुलिससँग २–० ले पराजित हुँदै आर्मी उपविजेतामा टुङ्गिएको थियो। उपाधि छिनोफानोका लागि लिगको अन्तिम खेल निर्णायक बन्ने अवस्थामा आर्मी र मच्छिन्द्र आमनेसामने भएका थिए। बराबरी नतिजा मात्रले च्याम्पियन बन्ने अवस्थामा आर्मीलाई आत्मघाती गोल महँगो बन्यो। मच्छिन्द्रका रञ्जित धिमालले ३३औं मिनेटमा हानेको फ्रिकिक आर्मीका रक्षक विकास तामाङको टाउकोमा लागेर गोलमा परिणत भएको थियो। उक्त गोल नै मच्छिन्द्रको उपाधि जित्न पर्याप्त बनेको हो। यसअघिका खेलमा आक्रामक पेससहित खेल्दै आएको आर्मीले शनिबार मच्छिन्द्रविरुद्ध निरन्तरता दिन सकेन।

उपाधि जितेको मच्छिन्द्रले नगद ५० लाख रुपैयाँ हात पार्दा उपविजेता त्रिभुवन आर्मी क्लबले ३५ लाख प्राप्त ग-यो। यस्तै तेस्रो भएको मनाङ मर्स्याङ्दीले नगद २५ लाख रुपैयाँ, चौथो भएको थ्री स्टारले १५ लाख रुपैयाँ, पाँचौं स्थानको नेपाल पुलिसले ७ लाख र छैटौं स्थानको जावलाखेल युथ क्लबले नगद ५ लाख रुपैयाँ हात पारे। रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिए पनि खेल सोचेजस्तो हुन सकेन। दुबै टोलीले गोलका लागि अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। खेल अवधिभर आर्मीले निकै प्रयास गरे पनि फिनिसिङमा असफल रह्यो। पहिलो हाफमा सेटपिसबाट दबाब सिर्जना गरे पनि आर्मीले गोल सकेन्। १३औं मिनेटमा भरतको कर्नर बलमा विकास खवासको हेडर बल पोस्टमाथिबाट बाहिरिएको थियो भने २०औं मिनेटमा सुमन अर्यालको क्रस पासलाई अनमार्क कप्तान भरत खवासले पेनाल्टी बक्सभित्र नियन्त्रण गर्न सकेनन्।

खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको थियो । पोखरा म्याराथनले खेलाडी आउन ढिलाइ हुँदा अभिभावकले दिएको दबाबले खेलाडीलाई मानसिक तनाव सृजना भएको प्रतियोगिताका संयोजक सूर्य भुजेलले बताए।

३३औं मिनेटमा मच्छिन्द्रले लिएको अग्रतालाई जोगाउँदा आर्मी निराश भएको हो। दोस्रो हाफमा आक्रामक खेलेका आर्मीलको रणनीति पनि राम्रोसँग चल्न सकेन भने आर्मीको प्रयास दुई पटक गोललाइनबाट विफल भयो। ६८औं मिनेटमा देवेन्द्र तामाङको ज्यानमा लागेर भरतको हेडर प्रयास विफल भएको थियो भने ७८औं मिनेटमा विशाल राई ‘बी’ले गोललाइनबाट उत्कृष्ट बचाउ गर्दा आर्मीले निराश बन्नुपरेको थियो। उता मच्छिन्द्रले काउन्टर गर्दै रक्षात्मक खेल्ने रणनीति सफल भयो। पराजित टोलीका कप्तान भरत खवासले अघिल्ला खेलमा जस्तो आक्रामक पेसमा खेल्न नसकेको स्वीकार गरे। ‘अघिल्ला खेलमा जस्तो पेसमा हामीले खेल देखाउन सकेनौं,’ कप्तान भरत खवासले भने, ‘गोलले पछि परेसँगै खेलाडी दबाबमा परे। त्यसपछि खेलमा तालमेलको अभाव देखियो। फिनिसिङमा चुक्यौं।’
अग्रता लिए पनि मच्छिन्द्रले दोस्रो हाफमा गोलका लागि अनेकौं प्रयास ग-यो। ९० दिन कारबाही खेपेका विमल घर्तीमगरसहित उत्रिएको टोली मच्छिन्द्रले दोस्रो हाफमा दुई गोल गरे पनि रेफ्रीले अफसाइडको इसार दिएका थिए।

पहिलो पटक उपाधि जितेको मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले अन द फिल्ड र अफ द फिल्डमा खेलाडीको तालमेल राम्रो भएकाले उपाधि जित्न सफल भएको प्रतिक्रिया दिए। खेलमा टोलीको आपसी तालमेलले निकै अर्थ राख्छ। खेलाडीमा अन द फिल्ड र अफ द फिल्ड राम्रो छ,’ प्रशिक्षक कटुवालले भने, ‘बलिया टोलीसँग अंक खोस्दै तालिकामा अंक जोड्दा हामीलाई उपाधि जित्न सहज भयो। टिममा व्यवस्थापकीय पक्ष पनि निकै राम्रो रह्यो।’ बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मच्छिन्द्रका कप्तान विराज महर्जनले प्रशिक्षकको भनाइमा सहमति जनाउँदै उचित अवसर पाए संन्यासको मनसायमा रहेको प्रतिक्रिया दिए।

‘निरन्तर राष्ट्रिय टोलीबाट देशका लागि खेलियो। कुनै पनि खेलाडी सुखद बिदाइको खोजीमा हुन्छ,’ कप्तान विराजले भने, ‘लिगको उपाधि जित्दा खुसी छ। सबैको मिहिनेतमा उपाधि जित्न सफल भयौं। अब राष्ट्रिय टिमबाट सुखद अन्त्यको पर्खाइमा छु।’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ क्लबलाई सहभागी गराई मंसिर २८ गतेबाट सञ्चालन गरेको लिगमा न्युरोड टिम (एनआरटी) का दर्शन गुरुङ युवा खेलाडी घोषित भए। यस्तै फेयर प्लेको उपाधि थ्री स्टार क्लबले जित्यो। दुवैले नगद एक लाख रुपैयाँ हात पारे। बराबरी नतिजा मात्रले च्याम्पियन बन्ने अवस्थामा आर्मीलाई आत्मघाती गोल महँगो बन्यो। मच्छिन्द्रका रञ्जित धिमालले ३३औं मिनेटमा हानेको फ्रिकिक आर्मीका रक्षक विकास तामाङको टाउकोमा लागेर गोलमा परिणत भएको थियो। उक्त गोल नै मच्छिन्द्रको उपाधि जित्न पर्याप्त बनेको हो।

प्रकाशित: ४ फाल्गुन २०७६ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App