७ वैशाख २०८१ शुक्रबार
खेल

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

पोखरा - पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्। उनीहरूले फाइनल प्रवेशका लागि भारत र सिंगापुरका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा अन्तर्राष्ट्रिय टेनिस महासंघको समन्वयमा आयोजित प्रतियोगिताको चौथो दिन बिहीबार नेपाली खेलाडी प्रेरणा कोइरालाले नेपालकै सलोनी तामाङलाई ७–६(५), ६–४ को सेटले पराजित गर्दै सेमिफाइनल सुरक्षित गरिन्। त्यसै गरी अभिलाषा विष्टले पनि जापानकी आओका नागासावालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन्।

महिलातर्फ नै भारतीय खेलाडी गर्गी परवरले चिनियाँ खेलाडी सुहाङ लियाङलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनल पक्का गरिन्। सिंगापुरकी डिने चोले चीनकी हुवाई चाङलाई ७–५, ६–२ को सेटमा पराजित गर्दै नेपाली खेलाडीसँग फाइनल भिड्ने भइन्। पुरुषतर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी जस्मिनी सिधानाले भारतीय खेलाडी टोरस रावतलाई ६–२, ६–१ को सेटमा पन्छाए। अर्को खेलमा भारतीय खेलाडी कृष्ण होडाले जापानी खेलाडी सातोरु नाकाजिमालाई पराजित गरे। अर्को खेलमा जापानी खेलाडी शोगो सान्दाले भारतीय खेलाडी आर्यन लक्ष्मणलाई ६–७(४), ६–०, ६–४ को सेटले पराजित गरे। पहिलो सेटमा टाइब्रेकमा पराजित भए पनि दुई सेट भने सोझो रूपमा आफ्नो पक्षमा पारेका थिए। पुरुषकै प्रतिस्पर्धामा भारतीय खेलाडी अमन दहियाले जर्मनीका पउल अर्मिन एलब्रक्टलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–३, ६–३ को नतिजा आत्मसात् गरे।

 डबल्सतर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी गर्गी परवर र हृदय शाको जोडीले मलेसियन हुई इल सो र नेपाली खेलाडी सलोनी तामाङको जोडीलाई ६–४ र ६–३ को सेटले पन्छाउँदै फाइनल प्रवेश गरेको छ। अर्को खेलमा हङकङकी इरिका कान्न हगी र भारतीय खेलाडी रिया उबोभेजाको जोडीले नेपाली खेलाडी अभिलाषा विष्ट र इरा मेहेरनिसा रावतको जोडीलाई ६–३, ६–२ को सेटले पन्छायो। पुरुषतर्फको डबल्स प्रतिस्पर्धामा दुवै भारतीय टोली फाइनल प्रवेश गरेका छन्। भारतीय खेलाडी अदिय वरदान रोय चौधरी र जैस्मिन सिधानाको जोडी र भारतकै अमन दहिया र हिरक भोराको जोडीले फाइनल प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २ फाल्गुन २०७६ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App