७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाललाई पहिलो सफलता

अमेरिकी खेलाडीको विकेट लिएपछि नेपाली टोली । तस्बिर :सुमन चापागाई /नागरिक

काठमाडौं - कुशल मल्लले विश्व कीर्तिमान राखेको दिन नेपालले घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित प्राप्त गरेको छ।

नेपालले शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अमेरिकामाथि ३५ रनको जित निकाल्दै जारी त्रिकोणात्मक शृंखलामा जितको खाता खोलेको हो। १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा समेटिएपछि नेपाल घरेलु मैदानमा जारी एकदिवसीय पहिलो जित निकाल्न सफल भयो। यता, कुशलले एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउँदा घरेलु टोलीको कमजोर इनिङलाई समेत दरिलो साथ दिए।

डेब्यु खेलमै उनले यसअघि नेपालकै रोहितकुमार पौडेलको नाममा रहेको कीर्तिमानलाई सुधार गरेका हुन्। १५ वर्ष ३ सय ४ दिनका कुशलले रोहितकै स्थानमा शनिबार अमेरिकाविरुद्ध अवसर पाएका थिए। गत वर्ष युएईमा सम्पन्न एकदिवसीय क्रिकेटमा रोहितले १६ वर्ष १ सय ४६ दिनमै अर्धशतक बनाउँदा पाकिस्तानका सहिद अफ्रिदीको रेकर्ड तोडेका थिए। कुशलले ४९–५ विकेटको अवस्थाबाट नेपालको इनिङ उकासेका थिए। कुशलले छैटौं विकेटका लागि विनोद भण्डारीसँग ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै एकदिवसीयमा नेपालको सर्वाधिक ठूलो साझेदारी बनाए।

करिमा गोरको बलमा आउट हुनुअघि कुशलले ५१ बलमा ५० रनको योगदान दिए। कुशलको इनिङमा चार चौका र तीन छक्का रह्यो। नवौं विकेटका रूपमा आउट भएका विनोदले सर्वाधिक ५९ रन बनाउँदै नेपालको इनिङलाई दरिलो साथ दिए। विनोदले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका हुन्। दुई खेलाडीको अर्धशतकप्रेरित नेपाल ४९.२ ओभरमा अलआउट हुँदा १ सय ९० रन जोड्न सफल भयो। निकै खराब सुरुआत गरेको नेपालले ६ रनमै ओपनर सुवास खकुरेल(३ रन)लाई गुमायो। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का ४० रनमा साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे।

तर, ज्ञानेन्द्र २१ रन र पारस १९ रनमा पवेलियन फर्किएसँगै नेपालको इनिङ ४७–४ को अवस्थामा पुग्यो। ओमानविरुद्ध लयमा देखिएका दीपेन्द्रसिंह ऐरी खाता नखोल्दै तेस्रो विकेटका रूपमा आउट भएका थिए। आरिफ सेख ३ रनमा आउट भएपछि आएका कुशलले आक्रामक ब्याटिङ गर्दै नेपालको इनिङलाई करिब २ सयनजिक पु¥याउन मद्दत गरे। करण केसीको १२ रन र सुसन भारीको ११ रन बनाए। अमेरिकाका क्यामरुन स्टेभेनसनले ३ विकेट लिँदा रस्टी थेरेन र कप्तान सौरव नेत्राभाल्करले २/२ विकेट निकाले।इल्मोर हुचिनसन, इयान होल्यान्ड र करिमा गोरले थप १÷१ निकाल्दा नेपालको इनिङ चार बल अगावै रोकिनपुग्यो। त्यसपछि अमेरिकाका इयान होल्यान्डले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका होल्यान्डले १३–४ विकेटको अवस्थाबाट अमेरिकालाई जितको आशा जगाए। तर, करण केसीद्वारा नवौं विकेटका रूपमा होल्यान्ड ७५ रनमा पवेलियन फर्किएपछि नेपाल जितनजिक देखिएको थियो।

करणले दशौं विकेटका रूपमा थेरनलाई ९ रनमा आउट गर्दै नेपाललाई जित दिलाए। करण र सन्दीपले उत्कृष्ट बलिङ गरेपछि अमेरिका १३–४ विकेटको नाजुक अवस्थामा पुगेको थियो। शीर्ष चार ब्याट्सम्यान जेभियर मार्सल २ रन, आरोन जोन्स ५ रन, स्टेभेन टेलर शुन्य र मोनान्क पटेल ४ रनमा आउट भएपछि अमेरिका नाजुक अवस्थामा पुगेको थियो। तर, एक छेउबाट होल्यान्डले इनिङ समाले पनि करणले सफल हुन दिएनन्। कुल ७.१ ओभर बलिङ गरेका करणले एक मेडनसहित चार विकेट लिँदा १५ रन मात्र खर्चिए। उनी म्यान अफ दी म्याचसमेत भए। सुसनले पनि दरिलो साथ दिएपछि नेपालले अमेरिकालाई दबाबमा राख्न सफल भयो।

करणसँगै नेपालका स्पीनर सुसन भारी, सन्दीप लामिछाने र कुशल मल्लको बलिङमा अमेरिकाको इनिङ धरासयी बन्यो। सुसनले ३ विकेट तथा सन्दीपले २ र कुशलले १ विकेट लिए। सात राष्ट्र सम्मिलित लिग–२ मा नेपाल २ खेलबाट २ अंक जोड्दा छैटौं स्थानमा छ। कुल १० खेलबाट अमेरिका १२ अंकसहित शीर्ष छ। कुल ८ खेल खेलेको पपुवा न्युगिनीले हालसम्म जित निकाल्न सकेको छैन। नेपालले आइतबार ओमानसँग खेल्नेछ। पहिलो खेलमा भने नेपाल ओमानसँग १८ रनले स्तब्ध भएको थियो।

१ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमै समेटिएपछि नेपाल घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा पहिलो जित निकाल्न सफल भयो। शनिबार नै कुशल मल्लले एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमानसमेत बनाए।

प्रकाशित: २६ माघ २०७६ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App