८ वैशाख २०८१ शनिबार
खेल

उपाधि होड थप रोमाञ्चक

काठमाडौ - सन्तोष तामाङको दुई गोलमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई २–१ ले हराउँदै लिगतालिकामा शीर्षता कायम राखेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको  दिनको दोस्रो खेलमा आर्मीले जित निकाल्दा दोस्रो स्थानको मच्छिन्द्रलाई एक अंकले पछि पार्दै शीर्षता कायमै राखेको हो। लिगमा दुई चरण बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक भएको छ। शीर्ष दुई टोली आर्मी र मच्छिन्द्रबीच अन्तिम खेलमा आमनेसामने भएकाले पनि लिग थप रोमाञ्चक भएको छ। यसअघि बिहीबारै सम्पन्न खेलमा मच्छिन्द्रले रेलिगेसन क्षेत्रमा रहेको सरस्वतीलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। तीन घन्टापछि आर्मीले जित निकाल्दै शीर्ष स्थानमा फर्किंदा मच्छिन्द्र दोस्रो स्थानमा झरेको हो। आर्मीको ११ खेलबाट २६ अंक हुँदा मच्छिन्द्रको २५ अंक रहेको छ। अघिल्लो सिजनमा भएको एक अंक घटुवा मच्छिन्द्रलाई महँगो भइरहेको छ।

आर्मीले पहिलो हाफमा एपिएपविरुद्ध लिएको २–१ को अग्रतालाई कायम राख्दा लिगमा आठौं जित दर्ता गरेको हो। अघिल्लो खेलमा जित निकालेको मच्छिन्द्रको नतिजाका कारण उपाधि होडलाई रोमाञ्चक बनाउन जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको आर्मीका लागि १७औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दिलाएका थिए। कप्तान भरत खवासलाई एपिएफका रमेश दंगालले पेनाल्टी क्षेत्रमा खराब ट्याकल गर्दै लडाएपछि प्राप्त फ्रिकिक एपिएफका गोलरक्षक राजु योगीले रोकेपछि रिबाउन्डमा सन्तोषले नै गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा आर्मीविरुद्ध आक्रामक देखिएको एपिएफले त्यसको २० मिनेटपछि गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। ३७औं मिनेटमा आशिष लामाको गोलमार्फत एपिएफ खेलमा फर्किएको थियो। आशिषले रमेश दंगालको पासलाई गोलमा परिणत गरेका थिए।

बराबरीपछि प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले ४ मिनेट नबित्दै सन्तोषले फ्रिकिकमार्फत पुनः अग्रता लियो। एपिएफका गोलकिपर राजु योगीले आर्मीको काउन्टर बल रोक्ने क्रममा पेनाल्टी बक्सभन्दा बाहिर गएर हातले रोक्दा रेफ्रीले आर्मीलाई फ्रिकिकको अवसर दिएका थिए। सोही अवसरमा सन्तोषले आकर्षक गोल गर्दै आर्मीलाई २–१ अवस्थामा पु-याएका थिए। आर्मीका लागि गोल गरेका सन्तोष र एपिएफका लागि गोल गरेका आशिषको जारी लिगमा समान ६-६ गोल पूरा भएको छ। यस्तै च्यासलका सन्तोष साहुखलको पनि ६ गोल नै रहेको छ। यससँगै जारी लिगमा सर्वाधिक गोल गर्ने तीन खेलाडी  छन्।

११ खेलबाट मछिन्द्रको २५ अंक छ भने उपाधि होडमा रहेको आर्मीको समान ११ खेलबाट २६ अंक छ। समान ११ खेलबाट ५ अंक जोडेको एपिएफ रेलिगेसन जोनभन्दा एक स्थान माथि छ। दुवै टोलीले यसै लयलाई निरन्तरता दिन सके अन्तिम अर्थात् जारी लिगको १३औं चरणमा यी दुईबीचको भिडन्तले विजेताको टुङ्गो लाग्नेछ। साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब १० खेलबाट १९ अंक जोड्दै तेस्रो स्थानमा छ। च्यासलसँग २–० ले पराजित भएको मनाङलाई सो नतिजा निकै महँगो बनेको छ। मनाङले जारी खेलमा पहिलो पराजय भोगेको थियो।

उपाधि होडमा रहेको टोली  आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दुई खेल बाँकी रहेको अवस्थामा टोलीको लक्ष्य उपाधि नै रहेको बताए। पहिलो हाफमा एपिएफसँग दबाबमा खेल्यौं। यद्यपि गोल निस्कियो। पहिलो हाफमा अवसर पाए पनि स्कोरमा चुक्यौं, प्रशिक्षक न्यौपानेले भने, ‘सेट पिसमा मात्र गोल निस्कियो। पाएका अवसरलाई स्ट्राइकरले सदुपयोग गर्न अझै सकेका छैनन्। आउँदा दिनमा खेल अझै प्रतिस्पर्धात्मक बन्दै छन्। सुधार आवश्यक छ। मुख्य कुरा तीन अंक हो। लिगमा दुई चरणका खेल बाँकी रहेको अवस्थामा आर्मीले मच्छिन्द्र र ब्रिगेड ब्वाइजसँग खेल्न बाँकी छ। यस्तै रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि एक अंकले मात्र अगाडि रहेको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले अनुभवी खेलाडी नहुँदा कठिन प्रतिद्वन्द्वीसँग पराजित हुन परेको प्रतिक्रिया दिए।

अघिल्ला खेलमा भन्दा एपिएफले राम्रो खेल्यो। हेर्दा राम्रो भयो। गोल पनि निस्कियो। खेल अवधिभर गोल गर्ने मौका पनि निस्किए, प्रशिक्षक तामाङले भने, ‘कठिन प्रतिद्वन्द्वी आर्मीमाथि पहिलो हाफमा हाबी हुँदै खेल पस्कियौं। हामीले दोस्रो गोल गोलकिपर र डिफेन्डरको गल्तीमा खायौं। त्यसमा अनुभवको कमी देखियो। एपिएफको पनि १२औं चरणमा फ्रेन्ड्स र १३औं चरणमा ब्रिगेड ब्वाइजसँग खेल्न बाँकी छ। लिगअन्तर्गत बिहीबारै भएको दिनको पहिलो खेलमा मच्छिन्द्रलाई फराकिलो जित दिलाउन दीपक राईले दुई तथा सोमिडे ओलुवावुन्मी, विशाल राई ‘ए’, देवेन्द्र तामाङ र एन्ड्रेस नियाले समान एक÷एक गोल गरे। लिगमा शुक्रबार पनि दुई खेल हुनेछन्। एन्फा कम्प्लेक्समा नै हुने पहिलो खेलमा थ्री स्टारले संकटाको सामना गर्दा दिनको दोस्रो खेल नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज (बिबिसी) बीच खेल हुनेछ।

यसअघि बिहीबारै सम्पन्न खेलमा मच्छिन्द्रले रेलिगेसन क्षेत्रमा रहेको सरस्वतीलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। तीन घन्टापछि आर्मीले जित निकाल्दै शीर्ष स्थानमा फर्किंदा मच्छिन्द्र दोस्रो स्थानमा झरेको हो।

आजका खेल
थ्री स्टारविरुद्ध संकटा    ११ः३० बजे
नेपाल पुलिसविरुद्ध ब्रिगेड ब्वाइज (बिबिसी)    १५ः०० बजे

प्रकाशित: २४ माघ २०७६ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App