coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालको खराब सुरुआत

काठमाडौं - शरद भेषावकरले अर्धशतकीय इनिङ खेले पनि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा ओमानसँग पराजित भएको छ।

निकै खराब सुरुआत गरेको नेपाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको पहिलो खेलमा ओमानसँग १८ रनले स्तब्ध भएको हो। घरेलु मैदानमा भएको पहिलो एकदिवसीय खेलमा शीर्ष क्रमका ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गर्दा नेपालले सुरुआतदेखि नै दबाब बेहो-यो। यद्यपि, शरदले ५५ रन बनाउँदै नेपालको इनिङ उकासे। अकिव इलियसको बलमा शरद बोल्ड भएपछि भने नेपाल हारको संघारमा पुगेको थियो। १ सय ८ बल खेलेका शरदले पाँच चौका हिर्काए।

ओपनरद्वय पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल सस्तैमा पवेलियन फर्किएपछि नेपालले सुरुआतमै दबाब बेहो-यो। नेपालले पहिलो दुई ओभरमा कुनै रन बनाउन नसक्दा दुई ओपनर दबाबमा परे। त्यसको फाइदा उठाउँदै ओमानका तीव्र गतिका बलर कलिमउल्लाहले ज्ञानेन्द्रलाई १ रनमै क्याच गराए। ज्ञानेन्द्र आउट हुँदा नेपालको खातामा ४ रन मात्र थियो। खातामा एक रन पनि नजोड्दै पारस पनि आउट भए। बिलाल खानले पारसलाई ३ रनमा विकेटकिपरबाट क्याच गराए। त्यसपछि एक छेउबाट शरदले इनिङ समाल्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। जुन नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि बनाएको सबभन्दा ठूलो साझेदारी हो।

यसअघि युनाइटेड अरब इमिरेट्सविरुद्ध तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा पारस र सोमपाल कामीले २८ रनको साझेदारी गरेका थिए। मोहम्मद नदिमले शरद र दीपेन्द्रको साझेदारी तोडेपछि नेपालले पुनः लय गुमायो। दीपेन्द्र ३६ रनमा आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेख र रोहितकुमार पौडेल ओमानका स्पिनर जिसन मकसुदको बलमा आउट भए। आरिफ ६ रनमा र रोहितकुमार पहिलो बलमा आउट भएपछि नेपाल ७३–५ को खराब स्थितिमा पुग्यो। त्यसपछि शरदले विनोद भण्डारीसँग छैटौं विकेटका लागि ४३ रनको साझेदारी गरे। विनोद २५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए।

१ सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा अलआउट हुँदा १ सय ७९ रन मात्र जोड्न सफल भयो।

आठौं नम्बरमा आएका करण केसीले पनि खाता खोल्न सकेनन्। त्यसपछि ब्याटिङमा आएका सन्दीप लामिछानेले केही आक्रामक सट खेल्दै जितको आशा जगाए। उनले आठौं विकेटका लागि शरदसँग ३८ रनको साझेदारी गरे। ४४औं ओभरको पहिलो बलमा शरद इलियासको बलमा फर्किएपछि घरेलु टोलीको जितको आशा लगभग समाप्त भयो। यद्यपि, तल्लो क्रमका सन्दीप, अविनाश बोहोरा र सुशान भारीले केही आक्रामक सट खेल्ने प्रयास गर्दा दर्शकलाई सान्त्वना प्रदान गरे। सन्दीप २८ रन बनाई पवेलियन फर्किएपछि सुशन र अविनाशले समान ८ रन जोडे पनि जितका लागि पर्याप्त भएन। बिलाल खानको बलमा सुशन क्याच आउट भएसँगै घरेलु मैदानमा भएको पहिलो एकदिवसीय खेलमा नेपालले हार सामना ग-यो। ओमानका मकसुदले सर्वाधिक ३ विकेट तथा बिलाल र कालीमुल्लाहले २/२ विकेट आफ्नो नाममा लेखाए। मोहम्मद नदिम, खवार अली र इलियासले १/१ विकेट लिए।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको ओमानले मोहम्मद नदिमको नटआउट ६९ रनको मद्दतमा नेपालविरुद्ध १ सय ९७ रनको योगफल जोडेको थियो। ओमानले मध्यम सुरुआत गरे पनि अन्तिम १० ओभरमा आक्रामक ब्याटिङ गर्दै स्कोर २ सय रनको छेउछाउ पु-याएको थियो। तल्लो क्रमका सन्दीप गोउदले ३३ रन र नासिम खुसीले २८ रन बनाए। त्यसअघि पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई गुमाएको ओमानले खातामा १९ रन बनाउँदा अर्का ओपनर खवारलाई गुमाएको थियो। ओमानका लागि अन्यले खासै राम्रो ब्याटिङ गर्न नसके पनि नदिमको इनिङ नेपालका लागि घातक बन्यो। बलिङतर्फ करण केसीले सर्वाधिक ४ विकेट निकाल्दा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका सुसन भारीले ३ विकेट लिए। सुसनले १० ओभरमा किफायाती बलिङ गर्दै एक मेडनसहित १४ रन खर्र्चिए। दीपेन्द्रसिंहको नाममा एक विकेट रह्यो। सन्दीप लामिछाने र अविनाश बोहोरा विकेट लिन असफल भए।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङमा खराब सुरुआत हुँदा हारको मुख्य कारण बनेको बताए। ‘बलिङ पनि सुरुआत राम्रो थियो। यद्यपि, बलिङमा अन्तमा केही बिग्रियो,’ मल्लले भने,‘ब्याटिङमा खराब सुरुआत हुँदा दबाबमा प-यौं। आगामी खेलमा राम्रो खेल्नेछौं।’ शृंखलामा बिहीबार ओमान र अमेरिकाबीच खेल हुनेछ भने नेपालले दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ। शरद र दीपेन्द्रसिंह ऐरीले बनाएको ६२ रन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले तेस्रो विकेटका लागि बनाएको सबभन्दा ठूलो साझेदारी हो। यसअघि युनाइटेड अरब इमिरेट्सविरुद्ध तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा पारस र सोमपाल कामीले २८ रनको साझेदारी गरेका थिए।

प्रकाशित: २३ माघ २०७६ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App